
काठमाडौं / सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९/७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।
शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् ।
अहिले दुई छिमेकी देशसँग जोडिने प्रस्तावित अन्तरदेशीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम उनीहरुकै जिम्मामा छाडेको छ । पूर्वपश्चिम रेलमार्गको मध्य खण्डमा भने सरकार आफैंले निर्माण गरिरहेको छ ।
चालु आर्थिक वर्षमा सरकारले रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो ।
विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ ।
विभागले डीपीआर सकिएका सबै खण्डका लागि जग्गा अधिग्रहण गरेर निर्माणको काम थाल्न सरकारलाई गत वर्षदेखि नै प्रस्ताव गर्दै आएको छ । हाल विभागले पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डमा रेल्वे ट्रयाक निर्माण गरिरहेको छ । यो करिब ७० किलोमिटरको खण्ड हो ।
विभागले आगामी वर्षबाट काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निर्माणको काम सुरु गर्ने लक्ष्य राखेको छ । काँकडभिट्टा–इनरुवा–विराटनगर खण्ड करिब १०६ किलोमिटर लामो छ ।
पश्चिमतर्फ बुटवलदेखि गड्डाचौकीसम्म चार सय २१ किलोमिटरको डीपीआर तयार भइसकेको छ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने पूर्वमा इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर पनि तयार छ ।
निजगढबाट हेटौंडा हुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रूटलाई नौ खण्डमा विभाजन गरेको छ ।
मूल खण्डहरू नौ सय ४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार तीन सय ७६ किलोमिटर हुनेछ ।
हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड बजेट
सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि यो बजेट विनियोजन भएको हो ।
उनले एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा गरेका छन् । ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेसकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजमार्ग निर्माण गर्ने घोषणा गरेका थिए । त्यसको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच निर्माणको लागि औपचारिक सम्झौता भयो ।
तर, ‘भारतले बनाइदिन्छ’ भनेर बस्दाबस्दै वर्षाैं बितेपछि सरकार आफैंले काम थालेको यो हुलाकी राजमार्गमा अझै पनि खासै प्रगति छैन ।
हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छ
यो १७ सय ९२.२५ किलोमिटर लामो राजमार्ग हो । यसको पूर्व–पश्चिम खण्ड ९७५ किलोमिटरको छ भने महेन्द्र राजमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किलोमिटरका छन् । यो राजमार्गको प्रथम चरण अन्तरगतका १७ सडकमध्ये १० वटा खण्डमा भारत सरकारले काम गरिरहेको छ, जसको लम्बाइ २१८ किलोमिटर छ ।
यो राजमार्गको धेरै खण्डहरु वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्य हुने गरेका छन् । जसका कारण अलपत्र सडक आसपासका जनतालाई सास्ती त भएको छ नै, राजमार्ग भएर आवत–जावत गर्दा ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यता छ । भारत सरकारले जिम्मा लिएका खण्डमा अझै पनि काम सुस्त नै छ ।
प्रतिक्रिया