Monday 9th of December 2024

एसईई परीक्षा वैकल्पिक मुल्यांकनबाट गर्ने बोर्डको निर्णय

0 Shares

काठमाडौँ :  राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मुल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ ।

बोर्डमा शनिबार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मुल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए ।

उनले भने, ‘हामीले एसईई परीक्षा वैकल्पिक मुल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारीस गरेका छौँ । अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा हुन्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले गत बिहीबार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्पसहितको प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदन प्राप्त गरेपछि बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटिको विषयमा छलफल अगाडि बढाएको थियो ।

कार्यदलले बोर्डलाई कोरोना संक्रमण दर र परिवेशको आँकलन गरी परीक्षा सञ्चालन गर्न सुझाब दिएको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मुल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारीस गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

उनले भने,‘परीक्षाको वैकल्पिक मुल्यांकन गर्ने विधि बनाउन सरकारबाट स्वीकृत आवश्यक परेकोले विधि बनाउने स्वीकृति लिनको लागि सिफारिस गरेका हौँ ।’

कोरोना संक्रमणको जोखिम बढेदै गएपछि बार्डले गत वैशाख २७ गते १२ कक्षा र एसईई परीक्षाको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो ।

बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसईई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

१२ कक्षाको परीक्षा पर्खने

कक्षा १२ को वार्षीक परीक्षा बारे तत्काल केही निर्णय नभएको पौडेलले बताए ।

उनले भने,‘कोरोना महामारीको संक्रमण दरपनि केही दिनदेखि कम भइरहेकाले १२ कक्षाको परीक्षाको लागि केही समय पर्खन्छौँ ।’

१२ कक्षाको परीक्षा कुन विधिबाट गर्ने भन्ने विषयमा छलफल चलिरहे पनि अहिले निर्णय भने नभइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया