सिरहा । प्रदेश २ को सिरहामा तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो ।
ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट रक्सी (भोड्का) लिएर गएको खुलेपछि आजैबाट लागू हुने गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जनाएकारी दिए । निलम्बनमा पर्नेमा ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुलाई प्रहरी नियमावली २०७१ अन्तर्गत निलम्बन गरेको हो ।
असई ठाकुरसहितको टोली जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका वडा नम्वर २३ गढिया चोकमा खटिएको थियो । निषेधाज्ञाको कार्यान्वयन गराउन खटिएको उक्त टोलीले आसपासका पसल बन्द गराएको थियो ।
सोही क्रममा पुजा मदिरा होटल (एस के मदिरा)मा केही व्यक्तिहरू होहल्ला गरिरहेका थिए । प्रहरीले होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो भने पसलका सञ्चालक भने फरार भएका थिए ।
पसल सञ्चालक भागेपछि पसलमा कोही नभएको मौका छोपेर असई ठाकुरलगायतले पसलबाट केही भोड्का रक्सी लिएर गएका थिए । प्रहरीहरूले रक्सी लिइरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर भएको थियो ।
भिडिओ सेयर भएपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो । अहिले उनीहरूलाई निलम्बन गरेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रदेश २ ः जब प्रहरी नै चोरी गर्ने थाल्छ…