काठमाडौं ः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाने तेलको मूल्य वृद्धिको कारण माग गरेको छ ।
व्यवसायीहरूले तेलको मूल्य वृद्धिको कारण विभागलाई पेस गरेपछि मूल्य वृद्धिबारे विज्ञप्ति जारी गरेका छन् ।
खाने तेल उत्पादकहरूको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले तेलको मूल्य वृद्धिमा नेपालका व्यवसायीहरूको कुनै भूमिका नरहेको दाबी गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय रूपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो भएको दाबी गरेको छ ।
‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको हो,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतमा बढ्दो पेट्रोलियम पदार्थको मूल्यका कारण ढुवानी महँगो भएको तथा तेलका प्रशोधन र प्याकिङलगायतका कच्चा पदार्थको मूल्य पनि महँगो भएकाले तेलमा मूल्यमा वृद्धि भएको संघले जनाएको छ ।
संघमा आबद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरूले नियमित रूपमा आफ्ना उत्पादनहरू सोयाविन तेल, सन फ्लावर तेललगायत उत्पादन गरी स्थानीय बजारमा निकासी समेत गर्दै आइरहेको संघले जनाएको छ ।
संघका अनुसार क्रूड सोयाविन तेल अन्तर्राष्ट्रिय बजारमा ८ अप्रिल २०२१ मा ११ सय ९० डलर टन रहेकोमा अप्रिल २२ मा १२ सय ७९ पुगेको जनाएको छ ।
कोरोना महामारी, ढुवानी लागत र करका कारण पनि नेपालमा खाने तेलको मूल्य बढी भएको उनीहरूको दाबी छ ।