एमालेमा फेरि युद्धविराम ! एक भइरहने सम्भावना कति छ?

पटक-पटकको वार्ता सफल हुन नसकेपछि फुटको घोषणा हुन बाँकी एमालेलाई बचाउने प्रयास अझै जारी छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्रोह घोषणा गरेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको अन्तिम तयारी गरिरहेका छन्। राजनीतिक र सांगठनिक रुपमा दुई ध्रुवमा गइसकेको एमाले कानुनी रुपमा मात्रै फुट्न बाँकी छ।

पार्टी कानुनी रुपमा फुटिनसकेको अवस्थामा दुवै पक्षले अर्को पक्षका नेता-कार्यकर्ता तान्ने अभियान चलाइरहेका छन्। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसदबाट विश्वासको मत लिनुअघि नै पार्टीबाट राजीनामाको तयारी गरेको नेपाल-खनाल समूहलाई अन्तिममा रोक्न सफल भएका थिए।

त्यसपछि पार्टी एकता बचाउन भन्दै सिंहदरबारमा जेठ २ मा भएको वार्तापछि १० सदस्यीय कार्यदल गठन भयो। ओलीले नेपालसहित भीम रावललाई पार्टीबाटै निष्कासित गरेपछि कार्यदल निष्क्रिय भइसकेको छ।

कार्यदलका सदस्यसमेत रहेका नेपाल समूहका ‘हार्डलाइनर’ नेता रावललाई पार्टीको सदस्यता समेत नरहने गरी १० जेठमा बसेको एमाले बैठकले कारबाही गरेपछि कार्यदल भंग जस्तै अवस्थामा छ।

दोस्रो पुस्ता सक्रिय

एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरुले पार्टी फुट्न नहुने सन्देश बारम्बार शीर्ष नेतासम्म राखिरहेका छन्। योगेश भट्टराई, गोकर्ण विष्ट, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेताहरुको प्रयासपछि लामो समयको संवादहीनतालाई तोड्दै गत वैशाख ८ र १० गते ओली-नेपाल भेटवार्ता भएको थियो।

८ र १० वैशाखमा होटल मेरियटमा भएको घण्टौँ लामो वार्ताले दिन नसकेको निकास ३० वैशाखमा चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा भएको वार्ताले निकाल्यो। त्यसपछि जेठ २ मा सिंहदरबारमा बसेका ओली-नेपालले कार्यदल बनाएर पार्टी विवाद समाधान गर्ने सहमति जुटाए।

एकताको वार्ता भइरहेका बेलामा ओलीले जेठ ८ मा प्रतिनिधिसभा विघटन गरिदिए। त्यसपछि उनी एमाले एकताको पक्षमै नरहेको आरोप लगाउँदै खनाल-नेपाल समूहले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई सघाउन पुग्यो। ओली पक्ष बागमती प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेपाल पक्ष पार्टीका उम्मेदवारविरुद्ध लागेकाले वार्ताको वातावरण बिथोलिएको बताइरहेको छ।

यी दुई घटनाले एकतामा ‘ब्रेक’ लाग्यो

जेठ २ मा गठित कार्यदलले एकताका लागि संवाद गरिरहेको थियो। यसबीचमा भएका दुईवटा घटनाले फेरि एमाले एकतामा ‘ब्रेक’ लाग्यो। जसमध्येको एक हो, बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचन । अर्को, प्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको संसद विघटन ।

यी दुवै घटना एकैदिन भएका थिए। ६ जेठ साँझ ५ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार दाबी गर्न मौका दिएकी थिइन्। त्यही अनुरुप कांग्रेस सभापति शेरबहादुर देउवा विपक्षी गठबन्धनका सांसदहरुको हस्ताक्षर संकलनमा जुटे।

बागमतीको राजधानी हेटौंडामा उपनिर्वाचन चलिरहेको थियो। नेपाल पक्षसहित विपक्षीको गठबन्धनबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले निर्वाचन जिते। बागमती नेपाल पक्षले लिने कदमपछि थप कारबाहीका कदम अघि बढाउने पक्षमा प्रधानमन्त्री ओली थिए।

माओवादी केन्द्र छाडेर ओलीलाई साथ दिएका रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचन हारे। नेपाल पक्षसमेत लागेर बादललाई हराइएपछि ओली रुष्ट थिए। यता, विपक्षी गठबन्धनको बैठक देउवा निवास बूढानीलकण्ठमा बसिरहेको थियो।

एकताबारे कार्यदलमा छलफल भइरहेको अवस्थामा नेपालले आफूलाई सहज नहुने गरी गरेका यी दुई निर्णयपछि ओली राष्ट्रपति निवास पुगेर १५३ जनाको दाबी प्रस्तुत गरेका थिए।

तर माधवले सघाएका देउवा र ओलीको दाबी खारेज गर्दै राष्ट्रपति भण्डारीले जेठ ८ बिहान प्रतिनिधिसभा विघटनको निर्णय गरेकी थिइन्। त्यसपछि ओली-नेपाल दुवैले एक अर्कालाई थर्काउनेदेखि अहिलेसम्मको सहयात्रा टुंग्याउने तयारी गरिरहेका छन्।

नेपालले नयाँ पार्टी दर्तादेखि संगठन विस्तारलाई तीव्रता दिँदा ओलीले भने कारबाहीको डण्डा चलाइरहेका छन्। दोस्रो तहका नेताहरुबीच जेठ ९ गते राति सहमति भएको भनिएको थियो। तर, १० गते फेरि नेपाल समूहका नेता देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै अदालतमा गएपछि वार्ता भाँडिएको थियो।

सम्भव छ एकता ?

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटविरुद्ध सर्वोच्च अदालतमा न्यायाधीशहरु आ-आफ्नो पक्षबाट पक्ष विपक्षमा बहस गरिरहेका छन्। यता, एमालेका ‘सफ्टलाइनर’ दोस्रो तहका नेताहरु भने पार्टी एकता जोगाउनुपर्ने सन्देशसहित निरन्तर प्रयासमा लागिरहेका छन्।

देउवालाई प्रधानमन्त्री बन्न सहयोग गरेको आरोपहरुसहित पार्टीबाट नेपाल-खनाल सहित ११ जना निष्कासित भएपछि एमालेले जेठ १५ र १६ गतेका लागि बैठक तोकेको थियो। तर, तोकिएको समयमा बैठक बस्न सकेन्।

दुई पटकसम्म सरेको बैठक हिजो (मंगलबार) बालुवाटारमा बस्यो। बालुवाटारमा बसेको बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले सकेसम्म एकतालाई जोगाउन सकियोस् भनेर छलफल भइरहेको बताए।

यसअघि पनि पटकपटक भएका वार्ता सकारात्मक नभएको भन्दै नेपाल समूहका एकजना हार्डलाइनर नेता ओलीलाई पार्टी एकताको ‘भोक’ नै नभएको तर्क गर्छन्। ‘ओलीलाई कम्युनिस्ट आन्दोलन र एमाले एकताको भोक नै छैन। उनी एकता गरौं र सर्वोच्चको निर्णय मानौं भन्ने पक्षमा छैनन्,’ती नेताले भने।

बालुवाटारबाट ज्ञवालीको  सन्देश

हिजो बसेको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता ज्ञवालीले केही सन्देश नेपाल समूहलाई छाडेका छन्। माधव नेपालसहितका नेताहरुलाई पार्टीबाट निष्कासित गरेका ओलीले अन्य १२ जना नेपाल समूहका नेताहरुलाई पनि स्पष्टीकरण सोधेका थिए।

उनीहरुले कसैले पनि ओलीलाई स्पष्टिकरण दिएका छैनन्। त्यही विषयमा संचारकर्मीले गरेको प्रश्नमा प्रवक्ता ज्ञवालीले भने, ‘सकेसम्म एकतालाई जोगाउन सकियोस्, धेरैभन्दा धेरै साथीहरु मूलधारमा अडिनुस् भन्ने नै प्रयास छ ।’

उनको यो भनाइलाई नेपाल समूहले भने ‘ओली समूहमा मिसिन जाने भन्ने’ भन्ने गरी बुझेका छन् । ‘हुन्छ थोरै तर बाहिर बजारमा आउँछ धेरै। एकता मिलनबिन्दुको केही भएको छैन,’ स्पष्टीकरण सोधिएकामध्ये एक नेताले फरकधारसँग भने, ‘प्रदीप ज्ञवालीले हिजो हामी धेरैभन्दा धेरै साथीहरु ल्याउने प्रयासमा छौं भनेर घोषणा नै गर्नुभएको छ, त्यसबाटै बुझ्नु न कुरा के हो भन्ने कुरा।’

नेपालबाहेक तान्ने प्रयास 

हिजोको बैठकपछि नेपाल समूहका नेताहरुको बुझाई फेरिएको छ। नेपाल समूहका ती नेता भन्छन्, ‘धेरैभन्दा धेरै साथीहरुलाई एमालेमा राख्न कोसिस गर्दैछौं भनेपछि सकिएन र ? अब एकता भन्ने त भएन ?’

उता, ओली पक्षका अर्का नेता भने त्यस्तो खासै प्रगति केही नभएको तर्क गर्छन्। ‘कहिलेकाहीँ नेताहरु जुटेको देख्दा मिल्ला मिल्ला जस्तो पनि हुन्छ । तर, सम्भावना देखिन्न,’ ती नेता भन्छन्।

माधव नेपाललाई छाडेर एक हुने भन्ने सम्भावना पनि नभएको उनको तर्क छ। उनले भने, ‘समाधान नभइ अरु नेताहरु पनि नमान्लान्, समाधान भएपछि माधव कमरेडले पनि मान्नुहोला झैँ लाग्छ । तर, समाधान चाहिँ के हो खै कुन्नि !’

प्रतिक्रिया