
गौशाला ः सामाजिक संजाल फेसबुकमा स्वास्थ्यकर्मीको चरित्र हत्या गर्ने एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको वीरगंज महानगरपालिका १० घडिअर्वाका २४ वर्षीय सौरभ साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा कारबाही हुने पर्सा प्रहरीले जनाएको छ ।
वीरगंज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका क्रियाकलाप गरेको आरोप छ ।
स्वास्थ्यकर्मीको जाहेरीको आधारमा पर्सा प्रहरीले उनीमाथि कारबाही अगाडि बढाएको जनाएको छ । उनलाई ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया