जनकपुरमा बन्द कोठामा लास फेला

जनकपुरधाम ः जनकपुरधाम उपमहानगरपालिमा – ७ बसहियामा एक बन्द घरमा सडेगलेको अवस्थामा एक युवकको लास फेला परेको छ ।

बसहिया बस्ने बैद्यनाथ झाको घरमा सिरकले छोपेको अवस्थामा अन्दाजी २५–३० वर्षका युवकको शव ७० प्रतिशत भाग सडेगलेर किराले खाएको अवस्थामा बुधबार दिउँसो फेला परेको लय धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

मृतक युवकको सनाखत हुन सकेको छैन । लास भेटेको घरको बाहिरी मूलगेट र कोठाको ढोकामा समेत ताल्चा लागेको थियो ।

कोहि नबस्ने सो घरमा शव गन्हाएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर घरको बाहिरी र भित्रि ताल्चा फुटाएपछि कोठामा लास भेटिएको डीएसपी मिश्रले बताए ।

उनका अनुसार दुईधुर जग्गामा रहेको उक्त घरमा लामोसमयदेखि कोहि बसिरहेका छैनन् । घरधनी बैद्यनाथ झासहित उनका परिवार उदयपुरको गाइघाट बस्दै आएका छन् । कहिले काही आउँदा उनको परिवार जनकपुरकै पेठिया बजारमा रहेको अर्को घरमा बस्ने गर्दछन् ।

बसहियाको घरमा भने कोहि बस्ने गरेका छैनन् । सोहि घरमा बाहिर र भित्र बन्द रहेको अवस्थामा शव भेटिनु घटना शंकास्पद रहेको डीएसपी मिश्रको भनाइ छ ।

कसैले हत्या गरेर लास लुकाएको हुन सक्ने उनले बताए । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

प्रतिक्रिया