Saturday 13th of July 2024

प्रदेश २ मा कोरोना संक्रमित नै विवाहमा जान थालेपछि… (भिडियो सहित)

0 Shares

सर्लाही ः दोस्रो भेरियन्टको कोरोना भाइरस प्रदेश २ को सर्लाही जिल्लाभरी फैलिसकेको छ । २० वटा स्थानीय तहहरु रहेको यस जिल्लाका प्रत्येक पालिकाका सयौं मानिसहरुमा कोरोना संक्रमण पुष्टि भइसकेका छन् । प्रदेश २ अन्तर्गत पर्ने सर्लाही जिल्ला अहिले कोरोनाको “हट स्पट” बनिसकेको छ । तर पनि यहाँ बासिन्दाहरु यसप्रति लापरबाही बनेका छन् ।

संक्रमण तीव्र रुपमा फैलिरहँदा पनि यसको नियन्त्रणका लागि स्थानीय तहहरुको तयारी सुस्त देखिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC)ले कोरोना महामारी विरुद्ध लड्न आ–आफ्नो स्तरबाट तयारी गर्न आग्रह गरे पनि यहाँका पालिकाहरुले कुनै तयारी गरेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले DCCMC को बैठक मार्फत सबै पालिकाहरुलाई कोरोना संक्रमित तथा शंकास्पद ब्यक्तिहरुलाई राख्न आइसोलेशन र क्वारेन्टाइन तयार गर्न निर्देशन दिइसकेको भएपनि आइसोलेशन र क्वारेन्टाइन राख्न त परै जावोस् ? यसकोलागि कुनै किसिमको तयारी समेत सुरु गरेको देखिदैन ।

स्थानीय प्रशासनले स्वास्थ्य सतर्कता अपनाएर कोरोना सक्रमितलाई घरमै बस्न भनेको छ । यसको रेखदेख र निगरानी सम्बन्धित पालिकाको सम्बन्धित वडाले गर्नुपर्छ । तर, संक्रमितहरु भने होमआइसोलेसन बस्नुपर्नेमा गाउँ गाउँ डुल्न थालेका छन् । संक्रमितको अनुगमन नहुँदा अन्यलाई सर्ने जोखिम बढेको छ । मलंगवा स्थित सर्लाही अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा जाँच गराएर कोरोना लागिसकेको पुष्टि भइसकेका संक्रमित बिरामीहरुलाई आइसोलेसनमा राख्न भनिएपनि सम्बन्धित पालिकाले आइसोलेसन कक्षको निर्माण नगरेकाले संक्रमितहरु आ–आफ्नै घरमा आइसोलेट भएर बसेका छन् । यसरी घरमै आइसोलेट भएर बसेका संक्रमितहरु खुलेआम रुपमा बजारभरी डुल्ने गरेको पाइएको छ ।

प्रदेश नम्बर २ सरकारले पनि प्रत्येक स्थानीय निकायलाई क्वारेन्टिन र आइसोेलेशन व्यवस्थापन गर्न निर्देशन दिएको छ तर त्यसको पनि कार्यान्वयन भएको छैन । गत वर्ष कोरोनाको पहिलो लहरमा राम्रो तयारी गरेका यहाँका स्थानीय तहहरु अहिले भने काममा लाग्न सकेका छैनन् ।

यस वर्ष विपद व्यवस्थापनमा खर्च गर्न बजेट नरहेको भन्दै यहाँका स्थानीय तहहरु जिम्मेवारीबाट पन्छिन खोजेका छन् । अघिल्लो वर्ष सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु बन्दाबन्दी प्रभावितलाई राहत वितरणसँगै भारतसहित अन्य मुलुकबाट आएकाहरुलाई सिमाबाटै क्वारेन्टिनमा लैजाने, सङक्रमितलाई आइसोलेशन तथा अस्पताल पुर्याउने, कन्ट्याक्ट ट्रेसिङ गरेर वडा वडामा संक्रमितहरु खोज्ने कार्यमा सक्रियताका साथ लागेका थिए । तर यसपालि भने उनीहरू यस विषयमा कुरा गर्न समेत चाहेका छैनन् । दिनदिनै अवस्था जटिल बन्दै गइरहेको भएपनि स्थानीय तहहरुले यसलाई गम्भीर रुपमा लिएका छैनन् ।

सदरमुकाम मलंगवामै सयौंको संख्यामा संक्रमितहरु छन् । उनीहरूमध्ये अधिकांशले मास्क लगाउँदैनन् । घर बाहिर, चौक, बजार, पसल पुग्छन् । सार्वजनिक सभा, समारोह, विवाह, भोजभतेर ,पुजा तथा मलामीमा सहभागी हुन्छन् । कतिपय संक्रमित साँझ रक्सी सेवन गर्न होटल तथा भट्टी पसल जाने गर्छन् । उनीहरू संक्रमित भएपनि आफुलाई संक्रमण नभएको जस्तो देखाउन खोज्छन ।यसरी संक्रमितहरु खुलेआम रुपमा सार्वजनिक स्थलमा डुल्न थालेपछि निरोगी मानिसमा समेत कोरोना सर्ने जोखिम बढेको छ ।

सर्लाहीमा स्थानीय प्रशासनले निषेधाज्ञा सम्बन्धि अध्यादेश जारी गरेर उलंघन गर्नेलाई कडा कार्यवाही गर्ने भन्दै म्ऋऋःऋ को बैठकमा पटकपटक निर्णय हुँदै आएपनि एकपटक पनि निर्णय अनुसारको काम गरिएको छैन । ग्रामीण भेगका पालिकाहरुले पनि यसलाई प्रभावकारी रुपमा कार्वान्वयन गराउन सकेका छैनन् ।नियम बनाएर कार्यान्वयन नगरै कारण यहाँका नागरिकहरु द्वारा निषेधाज्ञाको खुलेआम उलंघन हुँदै आएको छ । जसका कारण कम समयमै जिल्लाभरी संक्रमण फैलिएको हो । जिल्लाका एकाध स्थानीय तह बाहेक अरुले क्वारेन्टिन र आइसोलेशन बनाएर संक्रमितहरुको उचित व्यावस्थापन नगर्दा गाउँघरमा यसको त्रास बढेको छ । कोरोना संक्रमितहरुलाई संस्थागत या घरमै निगरानीका साथ आइसोलेशनमा नराखेका कारण तिनीहरू खुलेआम गाउँघरमा घुमफिर गर्ने गरेका छन् । यसबाट गाउँका धेरै मानिसहरुमा कोरोना भाइरस फैलिन पुगेको बताइएको छ ।

जिल्लामै सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको सदरमुकाम मलंगवा नगरपालिकामा क्वारेन्टिन र आइसोलेशन नहुँदा संक्रमितहरु घरमै बस्दै आएका छन् । तर घरमै आइसोलेट भएर बस्छु भनेर गएका संक्रमितहरु घरमा नबसी टोल तथा बजारमा घुम्दै गरेको पाइएको छ । उनीहरू घरायसी कामको लागि देखि लिएर विभिन्न समारोहहरुमा सहभागी हुनका लागि घर बाहिर निस्कने गरेका छन् । कतिपय कोभिड अस्पतालमा उपचार गराइरहेका बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तहरु कोरोना परिक्षण नगराइ खुलेआम रुपमा बजार भरी हिंडडुल गर्ने गरेको समेत पाइएको छ ।

यस्तो अवस्था मलंगवा नगरपालिकाको मात्र नभई जिल्लाका सबै पालिकाको रहेको छ । यस्तो गम्भीर परिस्थितिलाई हल्कामा नलिई सम्बन्धित पालिकाहरुले यसलाई रोक्न आ–आफ्नो वडाको जनप्रतिनिधिलाई होम आइसोलेसनमा बसेका संक्रमितको निगरानीमा लगाउन जानकारहरुले सुझाव दिएका छन् ।अब आफै सचेत भएर बस्नुपर्ने अवस्था आएओ उहाँहरु भनाइ छ ।

पछिल्लो समय संक्रमण पुष्टि भएर स्वास्थ्य अवस्था सामान्य भएकाहरूलाई होम आइसोलेसनमा बस्न दिइएको छ । संस्थागत आइसोलेसनमा बस्ने न्यून छन् । जिल्ला प्रशासन कार्यालय मलंगवाका अनुसार अहिलेसम्म पुष्टि भएका संक्रमितमध्ये केही मात्र कोभिड अस्पताल वा संस्थागत आइसोलेसनमा छन् । बाँकी सबै घरमा छन् ।

सर्लाहीमा हालसम्म १५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६१ जनाले ज्यान गुमाइ सकेका छन् । सर्लाही जिल्ला निको हुनेको संख्या एकदमै न्यून रहेको छ ।हालसम्म ४०५ जनामात्र निको भएका छन् । जिल्लामा हाल १ हजार १७ जना सक्रिय संक्रमितहरु रहेको प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । संक्रमण दरमा कमि नआएकोले पुनः चौथोपटक जेठ २५ गतेसम्मको लागि सर्लाहीमा निषेधाज्ञा थपिएको छ ।

प्रतिक्रिया