Saturday 12th of October 2024

पत्रकार महासंघ सर्लाहीद्वारा सदस्यलाई ७ लाखको दुर्घटना बीमा

0 Shares

मलंगवा : नेपाल पत्रकार महासंघ सर्लाहीले आफ्ना सदस्यहरुको ७ लाख बीमांकको दुर्घटना एवं एक लाख बराबरको औषधोपचार तथा एक लाख बराबरको घातक रोग बीमा गरेको छ ।

सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडको नयाँ स्किम ‘प्लान ए’ पोलिसी अन्तर्गत उक्त दुर्घटना बीमा गरिएको महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए । महासंघ सर्लाहीका सचिब सुनिल ठाकुरका अनुसार महासंघले माग गरेको कागजात उपलब्ध गराएका ६२ जना सदस्यहरुको पहिलो चरणमा बीमा गरिएको हो । पहिला नै अन्यत्र दुर्घटना लगायत बीमा गरिसकेका सदस्यहरुको भने महासंघले बीमा गराएको छैन ।

दुर्घटना बीमा अन्तर्गत सबारी दुर्घटना, अन्य पक्षकाे आक्रमण, हुलदंगा लगायत दुर्घटनामा मृत्यु वा घाईते भएमा ७ लाख रूपैंया बराबर तथा स्वास्थाेउपचार अन्तर्गत २४ घण्टा भन्दा बढी अस्पतालमा भर्ना भएकाे अवस्थामा १ लाख रुपैंयासम्म उपचार खर्च र घातक राेग अन्तर्गत क्यान्सर, किडनी, मुटु लगायत १८ वटा घातक राेग लागेर उपचार गराउँदा १ लाख रूपैंया विमितले पाउने सगरमाथा ईन्सुरेन्स कम्पनिका प्रदेश २ हेर्ने रिजनल म्यानेजर रामप्रसाद थपलियाले जानकारी दिए ।

नेपाल सरकारले सम्बद्ध संचार संस्थाले आधा प्रिमियम तिर्ने गरी ५ लाख बराबरको दुर्घटना बीमा गराउने भएपनि उक्त बीमामा सहभागि हुन पत्रकारको अनिवार्य सूचना विभागको रातो परिचय पत्र हुनुपर्ने भएकाले पत्रकार महासंघका सबै सदस्य तथा अन्य सकृय पत्रकारले लाभ पाउन सकेका छैनन् । रातो परिचय पत्र बनाउन अत्यन्त झञ्झट हुँदा बीमा गराउन नपाउने अवस्थाबाट बञ्चित हुने भएकाले पत्रकार महासंघ सर्लाहीले भने आफ्ना सदस्यहरुको बीमा गराएको हो । पहिला नै अन्यत्र बीमा नगराएका बाँकी सदस्यहरुको पनि कागजात उपलब्ध भए अनुसार निकट भविष्यमा बीमा गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिए । पत्रकार महासंघ सर्लाहीमा ७६ जना सदस्य रहेका छन् ।

त्यस्तै महासंघ सर्लाहीकाे नवनिर्वाचित नेतृत्वले सदरमुकाम मलंगवा सहित स्थानमा कार्यालय भवन, मिडिया सेन्टर, भेटघाट स्थल लगायत निर्माण गर्ने, ५० लाख रुपैंया हाराहारीको अक्षयकोष स्थापना गर्ने र सोबाट प्राप्त ब्याजले नियमित सबै सदस्यहरुको बीमा, सर्लाही पत्रकारिता पुरस्कार प्रदान लगायत योजना समेत अगाडि सारिसकेकाे अध्यक्ष क्षेत्रीले जानकारी दिए । त्यसैगरि पत्रकार महासंघका सदस्य एवं सदस्य हुन नपाएका सकृय पत्रकारहरुलाई क्षमता अभिवृद्धि एवं वृत्ति विकासका लागि विभिन्न तालिम सहितका कार्यक्रमहरु समेत गरिने अध्यक्ष क्षेत्रीको भनाई छ ।

प्रतिक्रिया