फूलजोर : सर्लाहीको फूलजोरबाबा साझेदार वन उपभोक्ता समितिले आफ्नो उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको गोलिया तस्करी हुँदै गरेको अवस्थामा बरामद् भएको छ ।
सर्लाहीको फूलजोरदेखि पूर्व बाँके जंगलखण्ड क्षेत्र समेटिएको फूलजोरबाबा साझेदार वन उपभोक्ता समितिले आफ्नो उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको काठ विहिबार दिउँसो महोत्तरी जिल्लामा बरामद् भएको हो । समितिले सर्लाहीको दक्षिणी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–९ स्थित ५ जना उपभोक्तालाई बिक्री गरेको सालको गोलिया महोत्तरीको माईस्थान स्थित सब डिभिजन वन कार्यलयले बरामद् भएको हो ।
समितिबाट आ–आफ्नो घर लैजान छुटपूर्जी लिएपछि काठ लोड गरेर बाँके मोडहुँदै संग्रामपुर रोडबाट हरिपूर्वातर्फ जानु पर्नेमा महोत्तरीतर्फ गईरहेको अवस्थामा उक्त काठ सहित ट्याक्टर सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव देवले जानकारी दिए । ‘समितिले आफ्नो उपभोक्तालाई घरायसी प्रयोगका लागि दिएको काठ अन्यत्र लैजानै पाईदैन, तर उक्त काठ हरिपूर्वातर्फ नलगी महोत्तरीतर्फ लैंजादै गरेको अवस्थामा बरामद् भएको छ’, डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख देवले उज्यालो अभियानसँग भने, ‘फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिले हरिपूर्वा स्थित आफ्नो उपभोक्तालाइ घरायसी प्रयोगका लागि टाँचा लगाएर बिक्री गरेको काठ महोत्तरी जिल्लामा पक्राउ परेको हुँदा घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख देवले जानकारी दिए । बरामद् सालका गोलिया १५० क्युविक फिट हाराहारीमा रहेको उनले बताए ।
उक्त काठ बरामद् भएलगतै डिभिजन वन कार्यालय लालबन्दीले फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिलाई तत्काल काठ बिक्री वितरण रोक्न भन्दै पत्राचार समेत गरिसकेको छ । समितिले उपभोक्तालाई घरायसी बाहेक अन्यत्र प्रयोग नगर्ने लिखित कागज गराएर काठ बिक्री वितरण गर्ने गरेपनि सर्लाहीको दक्षिणी क्षेत्र स्थित हरिपूर्वा नगरपालिकाका ५ जना उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको काठ महोत्तरीमा बरामद् हुनुले साझेदारी वन उपभोक्ता समितिबाट अवैध रुपमा काठ तस्करी हुने गरेको तथ्य फेला परेको छ ।
यसबारे थप बुझ्नका लागि फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र महतोलाई विहिबार राती ८ बजे फोन गर्दा स्वीच अफ रहेको पाईयो । शुक्रबार समितिका अध्यक्ष सहित पदाधिकारी र घरायसी प्रयोगका लागि काठ किनेका उपभोक्ताहरुलाई बोलाएर अनुसन्धान गरिने डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख देवले जानकारी दिए । -उज्यालो अभियान