Saturday 12th of October 2024

जसपाका मन्त्रीको जीवनी : पूर्वप्रधानपञ्चदेखि बद्री मण्डल र विजय गच्छदारका कार्यकर्तासम्म !

0 Shares

काठमाडौं / केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहबाट शुक्रबार १० जना सामेल भएका छन् । तीमध्ये आठ मन्त्री र दुई राज्यमन्त्री छन् । सरकारमा सामेल भएकामध्ये कतिपयसँग विगतमा पटक–पटक विभिन्न मन्त्रालय सम्हालेको अनुभव छ भने केही नयाँ अनुहार, जसलाई आम मानिसहरुले खासै चिनेका छैनन् ।

ओली सरकारमा सहभागीमध्ये राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । विदेश सम्बन्धमा महत्वपूर्ण मानिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी चाहिँ रघुवीर महासेठले पाएका छन् । प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई परराष्ट्रमन्त्री बनाइएको हो ।

त्यसैगरी शरतसिंह भण्डारी उर्जामन्त्री बनेका छन् । अनिल झाले खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् । प्रम आलेलाई वम मन्त्रीबाट हटाएर उमाशंकर अरगरियालाई ल्याइएको छ । डा. शविमाया तुम्बाहाम्फेलाई हटाएर भूमि व्यवस्था मन्त्रीमा लक्ष्मणलाल कर्णलाई ल्याइएको छ ।

चन्दा चौधरीलाई महिला मन्त्री बनाइएको छ भने विमल श्रीवास्तवलाई श्रम तथा रोजगार मन्त्री र एकवाल मियाँलाई युवा तथा खेलकूदमन्त्री बनाइएको छ । चन्द्रकान्त चौधरी र रेनुका गुरुङ जसपाका तर्फबाट राज्यमन्त्री बनेका छन् ।

प्रस्तुत छ, जसपाका मन्त्रीहरुको राजनीतिक पृष्ठभूमि

राजेन्द्र महतो / उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री

२०६८ सालमा डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका राजेन्द्र महतो त्यसयता सरकारमा सहभागी भएका थिएनन् । निरन्तर मधेस आन्दोलनमा लागेका उनी सद्भावना पार्टीमार्फत नेपालको राजनीतिमा स्थापित भएका हुन् ।

स्व.गजेन्द्रनाराय सिंह संस्थापक रहेको नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका उनले सो पार्टी विभाजन गरेर सद्भावना पार्टी बनाएका थिए । सद्भावना पार्टीसहित ६ दल मिलेर राष्ट्रिय जनता पार्टी गठन भयो । एक वर्षअघि राजपा र समाजवादी पार्टीबीच एकीकरण भई जसपा नेपाल गठन भएपछि उनी सो पार्टीका वरिष्ठ नेता बने । जसपाका अध्यक्ष उपेन्द्र यादवले हाल उनलाई पार्टीबाट निष्काशन गरेका छन् । तर, सो सम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

सर्लाहीको बबरगंजमा २०१५ मंसिर ४ गते जन्मिएका महतोले मानविकी संकाय र कानुन विषयबाट स्नातकोत्तर गरेका छन् । काठमाडौंमा रहेर व्यापार गरिरहेकै अवस्थामा गजेन्द्रनारायण सिंहसँगको सम्पर्कपछि उनले राजनीतिमा पाइला टेके । नेपाल सद्भावना पार्टीमा सक्रिय भएपछि उनी दुईपटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र एकपटक स्वास्थ्य मन्त्री बने ।

२०४८ र २०५१ सालको निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवारी दिएका महतो दुवै पटक पराजित भए । २०५६ सालमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गर्दै सोही निर्वाचन क्षेत्रबाट उनी प्रतिनिधिसभा सदस्य बने । त्यसपछि पहिलो संविधानसभा चुनाव जितेका राजेन्द्र महतो दोस्रो संविधानसभा चुनावमा भने पराजित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पराजित गर्दै धनुषाबाट विजयी भए ।

ओली नेतृत्वको सरकारमा महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका छन् । विगतमा केपी ओलीको खरो आलोचक रहेका उनी यतिबेला केपी ओलीको सारथी बन्न पुगेका छन् ।

शरतसिंह भण्डारी / मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाई

पहिलो संविधानसभाको कार्यकालमा रक्षामन्त्री बनेका शरतसिंह भण्डारी नेपाली सेनामा मधेसी समुदायलाई समूहगत प्रवेश नगराए देश विखण्डन हुने अभिव्यक्ति दिएका कारण विवादमा आएपछि राजीनामा दिन बाध्य भएका थिए । त्यतिबेला उनी विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए ।

मन्त्री पदबाट राजीनामा दिएसँगै भण्डारीले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । राष्ट्रिय मधेस समाजवादी पार्टीसहित ६ दल मिलेर राजपा नेपाल बनेपछि भण्डारी सो पार्टीका अध्यक्ष मण्डलका सदस्य भए । राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जसपा बनेपछि उनी सो पार्टीका कार्यकारिणी सदस्य भए ।

२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय भएर लागेका भण्डारीको राजनीतिक पृष्ठभूमि नेपाली काँग्रेससँग जोडिएको छ । जनआन्दोलन–२ पछि बनेको अन्तरिम संसदमा नेपाली काँग्रेसबाट सांसद रहेकै बेला उनी सो पार्टी त्यागेर मधेसवादी राजनीतिमा केन्द्रित भए ।

मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका उनी विजयकुमार गच्छदारसँगै फोरमबाट बाहिरिएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा सामेल भए । पछि गच्छदारलाई छाडेर उनले आफ्नै नेतृत्वमा पार्टी गठन गरे । दोस्रो संविधानसभा निर्वाचनमा उनी दुईवटा निर्वाचन क्षेत्रबाट पराजित हुनुप¥यो ।

पञ्चायतकालदेखि नै पटक–पटक मन्त्री बन्दै आएका भण्डारी मधेस केन्द्रित राजनीतिमा आएपछि भने दोस्रोपटक मन्त्री बनेका हुन् । वर्तमान सरकारमा उनले ऊर्जा, जलस्रोत तथा सिँचार्ई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

अनिल झा / मन्त्री, खानेपानी

स्वर्गीय गजेन्द्रनाराण सिंहका अनुयायी अनिलकुमार झा नेपाल सद्भावना पार्टी गठन भएदेखि नै विद्यार्थीकालबाटै राजनीतिक यात्रामा सक्रिय थिए । २०४७ साउन २७ गते नेपाल सद्भावना विद्यार्थी मञ्च, काठमाडौं उपत्यका समितिको संयोजक भएर राजनीतिक यात्रा सुरु गरेका उनी २०५२ सालमा नेपाल सद्भावना पार्टी नेपालको केन्द्रीय सदस्य बने । त्यसपछि विभिन्न जिम्मेवारी सम्हाल्दै उनी पार्टीको महासचिवसम्म भए । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा पनि उनी महासचिव नै थिए । तर, महतोसँगको सम्बन्ध बिग्रिएपछि उनले आफ्नै नेतृत्वमा संघीय सद्भावना पार्टी गठन गरेका थिए । लगत्तै उनी उद्योग मन्त्री पनि बने ।

उनले सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टी र आफ्नो पार्टीबीच एकीकरण गराए । एकीकृत पार्टीको नाम नेपाल सद्भावना पार्टी नै रह्यो । गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीको चुनाव चिह्न पञ्जा छाप उनले नै हासिल गर्दै आएका थिए ।

मधेसवादी ६ दल मिलेर राजपा नेपाल गठन भएपछि झा सो पार्टीको अध्यक्ष मण्डलका सदस्य भए । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भए पनि उनी त्यो एकीकरणको पक्षमा थिएनन् तर बहुमतको निर्णयलाई स्वीकार गर्दै उनी जसपा नेपालमा सामेल भए ।

उनी जसपा नेपालको कार्यकारिणी सदस्यका रुपमा क्रियाशील रहेकै अवस्थामा अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेका छन् । यद्यपि कारवाहीसम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

बिमल श्रीवास्तव / मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

विमल श्रीवास्तव पञ्चायतकालदेखि बहुदलसम्म साविकको वीरगन्ज नगरपालिकामा तीन पटक मेयर बन्न सफल भएका थिए । दुईपटक पञ्चायतकालमा र एकपटक बहुदलमा उनी मेयर बनेका थिए । उनी २०७३ सालको स्थानीय तहको चुनावमा पनि मेयरमै चुनाव लडेका थिए तर पराजित भए ।

त्यसपछि उनी संघीय समाजवादी फोम नेपालमा प्रवेश गरेर पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका सदस्यमा विजयी भए । राजनीतिक यात्राका क्रममा उनी विभिन्न कालखण्डमा विभिन्न दलमा आवद्ध रहे ।

उनको राजनीतिक यात्रा राप्रपाबाट सुरु भएको थियो । त्यसपछि उनी काँग्रेसमा प्रवेश गरे । काँग्रेसबाट एमालेमा प्रवेश गरेका उनी एमाले पनि छाडेर केही समय स्वतन्त्र समूहमा रहे । सो समूह पनि छाडेर उनी महन्थ ठाकुर नेतृत्वको तमलोपामा प्रवेश गरेका थिए । तमलोपा छाडेर उनी विजयकुमार गच्छदार नेतृतवको फोरम लोकतान्त्रिकमा प्रवेश गरे । सोही पार्टीबाट पछिल्लो स्थानीय तहमा उनी चुनावमा भाग थिए पनि पराजित भएका थिए । त्यसपछि उनी उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीमा प्रवेश गरेर प्रतिनिधिसभा चुनावमा विजयी भए ।

उनी पछिल्लो समय उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरको पक्षमा लागेका थिए । ठाकुर पक्षमै लागेका कारण उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न सफल भएका हुन् ।

उमाशंकर अरगरिया / पर्यटनमन्त्री 

नेपाली काँग्रेसको राजनीतिक पृष्ठभूमि भएका उमाशंकर अरगरिया पहिलो मधेस आन्दोलन हुँदा काँग्रेस छाडेर मधेसी जनअधिकार फोरम नेपालका प्रवेश गरेका थिए । विजयकुमार गच्छदारले फोरम नेपाल विभाजन गर्दा अरगरिया गच्छदारको साथमा थिए ।

गच्छदारको पार्टीबाट प्रदेश अध्यक्ष तथा विदेश विभाग प्रमुख भइसकेका अरगरिया गच्छदारले काँग्रेससँग पार्टी एकीकरण गरेपछि पुनः संघीय समाजवादी पार्टी नेपालमै फर्केका थिए । सोही पार्टीबाट धनुषा–२ बाट प्रतिनिधिसभा चुनाव जितेका अरगरिया उपेन्द्र यादवको पक्ष छाडेर महन्थ ठाकुरको पक्षमा लागेका हुन् । महन्थ ठाकुरको पक्षमा लागेकै कारण उनले सरकारमा सहभागी हुने मौका पाएका हुन् । वर्तमान सरकारमा उनले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

लक्ष्मणलाल कर्ण / मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

निवर्तमान सांसद लक्ष्मणलाल कर्ण पेसाले कानुन व्यवसायी हुन् । राजनीतिमा आउनुअघिसम्म उनी वीरगञ्जमा ल फर्म सञ्चालन गरेर बसेका थिए ।

उनको राजनीतिक पृष्ठभूमि काँग्रेससँग जोडिए पनि कहिल्यै कुनै पदमा रहेनन् । २०४२ सालमा रामजनम तिवारीले हर्क गुरुङको प्रतिवेदनप्रति संगठित रुपमा विरोध जनाउन सद्भावना परिषद् गठन गर्दा उनी सचिव भएका थिए । त्यसपछि उनले निरन्तर नेपाल सद्भावना पार्टीमा आवद्ध भएर काम गर्न थालेका थिए । नेपाल सद्भावना पार्टी गठन भएपछि कर्ण बुद्धिजीवी मञ्चका सदस्य भए । त्यसको एक वर्षपछि उनी नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य भए । २०५२ सालमा उनी पार्टीको उपाध्यक्ष भए ।

गजेन्द्रनारायण सिंहको निधनपछि पार्टीको कार्यवाहक अध्यक्ष बद्री मण्डल भए । मण्डल राजाको सक्रिय शासनमा सरकारमा समेत सामेल भए । जनआन्दोलन सुरु भएपछि बद्री मण्डलले अध्यक्ष पदबाट आफै राजीनामा दिएका थिए । बद्री मण्डलको राजीनामापछि सर्वसम्मतिबाट कर्ण कार्यवाहक अध्यक्ष भएका थिए । कर्णले नेपाल सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बीच एकीकरण गराए । उनी पार्टीका वरिष्ठ उपाध्यक्ष भए ।

त्यसपछि नेपाल सद्भावना पार्टी विभाजन गरेर राजेन्द्र महतोले सद्भावना पार्टी बनाउँदा कर्णले साथ दिएका थिए । सद्भावना पार्टीमा रहेका बेला उनी पहिलो संविधानसभा कार्यकालमा एकपटक विनाविभागीय मन्त्री भए । त्यसपछि उनी कहिल्यै सरकारमा सामेल भएनन् । वौद्धिक नेताका रुपमा चिनिएका कर्ण जसपा नेपालका कार्यकारिणी सदस्य हुन् ।

चन्दा चौधरी/ मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

चन्दा चौधरी एक रुपैयाँ शुल्क तिरेर २०६३ सालमा नेपाल सद्भावना पार्टीको सदस्य भएकी थिइन् । उनी राजनीतिका साथसाथ समाजसेवामा पनि सक्रिय छिन् । नेपाल सद्भावना पार्टीमा हुँदा सामाजिक कार्यक्रममा बढी समय दिन थालेपछि पार्टीमा उनको सक्रियता कम भएको थियो ।

महन्थ ठाकुरको नेतृत्वमा तमलोपा गठन भएपछि उनी सोही पार्टीमा सामेल भइन् । तमलोपाका १७ जना संस्थापकमध्ये चन्दा चौधरी पनि एक हुन् । तमलोपाको केन्द्रीय सदस्य हुँदै उनी २०६५ साउन २२ गते पार्टीको महिला संघको अध्यक्ष बनिन् ।

तमलोपाको तर्फबाट मधेस आन्दोलनमा सक्रिय रहेकी उनी पहिलो सविधानसभा चुनावपछि माधव नेपालको नेतृत्वमा बनेको सरकारमा युवा तथा खेलकुद सहायक मन्त्री बनिन् ।

जसपा नेपालकी कार्यकारिणी सदस्य समेत रहेकी उनले वर्तमान सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

एकबाल मियाँ / मन्त्री, युवा तथा खेलकुद

बारा घर भएका एकवाल मियाँको पारिवारिक राजनीतिक पृष्ठभूमि कम्युनिस्ट हो । अर्थात् उनी र उनका परिवारका सदस्य कम्युनिस्ट पार्टीका मतदाता थिए । यद्यपि सक्रिय राजनीतिमा भने थिएनन् ।

एकवाल मियाँ सामाजिक संस्थामा समय दिन्थे । उनलाई राजनीतिसँग खासै सरोकार थिएन । स्थानीय तहको पछिल्लो निर्वाचनको समय क्षेत्र निर्धारणका लागि आन्दोलन हुँदा विस्तारै विस्तारै उनी सडकमा देखिन थालेका थिए । २०७४ सालमा उनलाई महन्थ ठाकुरले तमलोपामा प्रवेश गराएका थिए ।

यद्यपि उनी राजनीतिमा सक्रिय थिएनन् । तर, प्रतिनिधिसभा चुनावमा बारा क्षेत्र नम्बर २ का उम्मेदवार जितेन्द्र सोनल प्रवेशसभाका लागि उम्मेदवार हुने भएपछि प्रतिनिधिसभातर्फ पार्टीको उम्मेदवारको अभाव खट्कियो । जितेन्द्र सोनलले नै उनलाई जवर्जस्ती उम्मेदवार बनाएर चुनाव लड्न लगाएका थिए र, उनी विजयीसमेत भए ।

एमएसम्म अध्ययन गरेका मियाँ अहिले जसपा नेपालका केन्द्रीय सदस्य हुन् । उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनी पहिलोपटक सरकारमा सामेल भएका हुन् ।

चन्द्रकान्त चौधरी / राज्यमन्त्री, जलस्रोत तथा सिँचाई

७५ वर्षीय चन्द्रकान्त चौधरी २०१८ सालदेखि २०४० सालसम्म लगातार गाउँ पञ्चायतमा प्रधानपञ्च रहे । २०४६ को आन्दोलनपछि उनी काँग्रेसमा प्रवेश गरे । काँग्रेसबाट पनि उनी स्थानीय तहमै राजनीतिमा सक्रिय रहे र निर्वाचनमा विजयी हुँदै आए । पछिल्लो स्थानीय चुनावमा काँग्रेसले मेयरको टिकट नदिएपछि उनी राजपा नेपालमा प्रवेश गरेका थिए ।

उनी सप्तरी–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनी अहिले जसपा नेपालका कार्यकारिणी सदस्य हुन् । उनले जलस्रोत तथा सिँचाई मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

रेणुका गुरुङ / राज्य मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

रेणुका गुरुङ पेशाले शिक्षिका तथा समाजसेवी हुन् । उनको जन्मथलो खोटाङ भए पनि कर्मक्षेत्र विराटनगर हो । विराटनगरमा सामाजिक क्षेत्रमा सक्रिय उनी सेनामा कार्यरत श्रीमानसँगै काठमाडौं आएपछि भने शिक्षिका भएर काम गर्न थालिन् । साथमा सामाजिक कामलाई पनि उनले निरन्तरता दिइन् ।

विस्तारै उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग नजिकिइन् । पार्टीको काठमाडौ जिल्ला सदस्य हुँदै उनी केन्द्रसम्म पुगिन् । पछिल्लो प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फबाट विजयी भएकी उनले सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन् । राज्यमन्त्री गुरुङ यसअघि स्थानीय तहको उपमेयरमा पराजित उम्मेद्वार समेत हुन् । – रातोपाटी

प्रतिक्रिया