चुरे दोहनले गाउँ नै उठीबास

बर्दिबास : ‘खोलाले कटान गर्दै गयो, हाम्रो घर बगाउँदै लग्यो, हामीले घर सार्दै गयौँ,’ झवसी राम भन्छन्, ‘हुँदा हुँदै हामी सडकमै आइसक्यौँ । सडकको बास पनि बाढीले कति खेर खोस्ने पत्तो छैन’ चुरेबाट बग्ने रातु खोलाको दोहोनले बौलाएर आउने बाढीले उठिबास लगाउँदै आएको उनले व्यथा पोखे ।

खोलाबाट यसपालि व्यापक दोहन भएको छ । घटना ०७१ सालको तिरको हो । जब झवसी रामको परिवार घरभित्र निद्रामै थियो, अचानक ठूलो बाढी आयो । घरका समान उठाउन त परैजाओस्, ज्यान जोगाउनै हम्मेहम्मे पर्‍यो ।

त्यस रातको बाढीले उनी मात्रै होइन्, महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित गुमस्ता टोलाका एक दर्जन परिवारलाई उठिबास लगायो । उनी त्यो विपत्ति सम्झिँदै भन्छन्,‘घर–घडेरी सबै खोलाले निल्यो । हामी भागेर ज्यान बचायौँ । अन्नपानी पनि घरसँगै बग्यो ।’

मनसुन भित्रिनै लाग्दा खोला किनारका नागरिकहरु त्रसित बनेका छन् । यसपालि विगतका वर्षहरु भन्दा बढी पानी पर्ने आंकलन गरिएको छ । झवसी रामका अनुसार, दुःखजीलो गरेर जेठा छोरा रामअशिषले बनाएको घर पनि त्यो सालकै बाढीले लग्यो । छोरो विस्थापित भएर अहिले ससूराली गाउँ मजरा जान बाध्य भए । रातु खोला पारि पश्चिमको गाउँमा उनी बस्दैआएका छन् । उनको पनि सडकमै बास छ । सडक विस्तार भइरहेकोले उनको छाप्रो भत्किने पक्का छ तर, उनी त्यसपछि कहाँ बस्ने टुङ्गो छैन ।

बाढीसँग थाकेकी सीता

रामशिषकी आमा सीता देवी भन्छिन्,‘खोला उर्लिएर आउँछ, किनारमै बसेका छौँ, अब रातु महरानीले जे गर्छिन्, गर्छिन्, उहाँकै मर्जी छ, हामीलाई बचाउने कि बगाएर मार्ने ।’

झवसीको एक कठ्ठा ४ धुर गाउँ ब्लक जग्गा थियो । त्यसमै दुई छोरा सहित ८ जनाको परिवार बस्दैआएका थिए । बाढीले उनको परिवार छिनभिन्न मात्रै बनाएको छैन, उनको सारा सम्पत्ति खोसेर सुकुम्बासी बनाइदिएको छ ।

सडक किनारमा दुई कोठे पक्की भवन बनाउन जग मात्रै उठाएका झवसीलाई अझै पनि बाढीले बगाएर लैजाला भन्ने पिर छ । उनी भन्छन्,‘हारगुहार गर्दा बल्लतल्ल सरकारले घर बनाइदिन थालेको छ । यो पनि खोलैको तिरमा ।’

अहिले झवसी रामका परिवारका सदस्य कोही पनि जागिरे छैनन् । बिहान बेलुकाको गर्जो टार्न नै हम्मे छ ।‘गरिब भएर बाँच्न पनि धेरै पीडा हुदो रहेछ,’ उनले भने,‘महामारीले सबै तिर बन्द छ । काम पाइँदैन, खाने उपाय छैन, खोलामा बाढी आउन थाल्यो । राती सुत्नै दिँदैन, बगाउने पिरले आँखा बन्दै हुँदैन, भोक प्यास सबै बाढी आएपछि हराउँछ । ’

बाढीले निद्रा बिथोल्छ

झवसीकै छिमेकी मञ्जुर अनसारीको पनि बाढीले निन्द्रा भंग गरिदिने गरेको छ । आरामले सुत्न दिएको छैन । मञ्जुरकै जस्तै व्यथाले उनी थलिएका छन् । आफ्नै जग्गामा उनको घर थियो, घर पछाडी तीन बाली हुने ४ कठ्ठा ३ धुर खेत थियो । आँखै अगाडी घरखेत बाढीमा बिलायो । छिमेकीले इसारा नगरेको भए मञ्जुरका परिवारलाई नै बाढीले निल्थ्यो ।

‘राति ठूलो बाढी आयो । खोला सुसाएपछि भक्क निद्रा खुल्यो, छिमेकीहरु चिच्याइरहेका थिए,’त्यो संकट वर्णन गर्दै भने,‘चामल र पेटी(बाकस) छिमेकीको घरमा लगेर राख्यौँ । फर्केर हेर्दा घरखेत खोलामा मिसिसकेको थियो । हेरेर बस्नु वाहेक केही गर्न सकेनौँ ।’

बर्सेनी धार पर्दै खोला

गरिबीले थलिएका गुमस्ता टोलबासीलाई बर्सेनी खोलाको बाढीले तर्साउँदै आएको छ । रातु खोला १०३ वटा खहरे खोल्सी मिलेर बग्छ । वर्षातमा उर्लिएर आउने रातु खोलाले बर्दिबासको किसाननगर, पशुपतिनगर, भंगहाको हत्तिसर्वा, सिंग्याही, सग्रामपुर लगायत महोत्तरीको चालिस बढी गाउँमा बर्सेनी क्षति पुर्‍याउँछ ।

रातु खोलाको शिर चुरेमा पर्छ । हिउँदमा कमिलाको ताँती भेटिने रातुले वर्षामा ठूलो धनजनको क्षति गर्छ । यही नदीले घेरीको पशुपतिनगर । अनियन्त्रित रुपमा गरिने उत्खन्नले प्रत्येक वर्ष खोलाले पीडा दिन्छ यहाँका गाउँलेलाई । व्यापारीहरुको स्वार्थका लागि अवैध रुपमा खोलाबाट बालुवा, गिट्टी, ढुङ्गा निकाल्दा त्यसको मुल्य आम नागरिकले चुकाउँदै आएका छन् ।

०७१ साल अघि चुरेको शिरबाट बगेर आउने रातु खोला बर्दिबासको रातु पुलबाट दुई खोलामा विभाजित भएर बग्थ्यो । तल आएपछि स–साना खोलामा बहाव बदलिन्थ्यो । क्रसर व्यवसायीले अवैध उत्खन्न गर्दै खोलाको स्वरुप नै परिवर्तन गरिदिए । सरोकारवला निकायको कयौँ पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गर्दैआएको स्थानीयको गुनासो छ ।

स्थानीय शत्रुधन यादव भन्छन्,‘२०२०साल तिर जंगलबाट काठ ढुवानी गर्न बनाएको बाटोमा बिस्तारै खोल्सी हुँदै खोला बन्यो ।’ रातु खोला विभाजित भएर बग्दा खोलामा पानीको बहाव र बेग दुवै कम थियो । ठूलो रातु सानो रातुमा मिसिएपछि पशुपतिनगरको गुमस्ता टोलको उठिबास भएको उनले सुनाए ।

गुमस्ता टोलकी सोलम देवी राम भन्छिन्,‘बस्ती भएको ठाउँमा खोलाले कटान गरेको गरैछ, ठूलाबडाको खेत जोगाउन तटबन्ध हुन्छ, हाम्रो बस्ती बगाउँदा केही छैन ।’

बर्सेनी कटान, डुवान हुन्छ । ‘बाढीले मधेशमा अत्यास लाग्दो धनजनको क्षति हुन्छ । सरकारको दिर्घकालीन योजना केही छैन । भएको योजना पनि समयमा पुरा हुदैंन र पारदर्शी छैन,’ नेकपा प्रदेश २ का सदस्य शंकर महतोले भने ।

खोलाले डुवाउँछ प्रदेश–२

महोत्तरीको रातु खोला, धनुषा र सिरहाको साँधमा बग्ने कमला नदी, सिरहाको खाँडो खोला रौतहटको लालबकैया र बागमती नदीमा आउने बाढीले प्रत्येक वर्ष ठूलो धनजनाको क्षति गर्छ । यी सबै खोलामा अत्याधिक दोहन हुँदैआएको छ । सयौं गाउँ डुबानमा पर्छन्, दर्जनौँ सरकारी कार्यालयमा पानी पसेर कागजात नष्ट हुन्छ ।

बाढीले सडक बगाउँदा महिनौँसम्म सम्पर्क–बिच्छेद हुन्छ। सरकारी अकर्मण्यताले प्रदेश २ का खोला स्वतन्त्र बग्न पाउँदैनन् । बर्सेनी यसले आफ्नो बहाव स्वरुप फेर्छ । यसको प्रमुख कारण–चुरे दोहोन हो । नदीको अवैध उत्खनन नियन्त्रणमा प्रदेश सरकार चुक्दै आएको छ ।

२५ पौष, २०७६ मा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको श्रीपुरका २५ वर्षीय दिलिप महतोलाई क्रसर गुण्डाले टिपरले किचेर हत्या गरे । गैरकानुनी नदी दोहनका घटना बारे सरकार जानकार हुँदाहुँदै पनि नियन्त्रणमा आउन नसक्नु गैरजिम्मेवारीको पराकाष्ठा रहेको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोम प्रसाद शर्मा बताउँछन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासन प्रदेश मातहत नभएकोले अवैध उत्खन्न रोक्न नसकेको बताउँदै आएका छन् । अवैध धन्धा चलाउने क्रसर व्यवसायीलाई कारवाही गर्न उनी भने चुकेका छन् ।

मधेशमा बाढीको वितण्डा

विगत १० वर्षयता बाढीको प्रकोपामा परी प्रदेश २ का ८ जिल्लामा १ सय ५६ जनाले ज्यान गुमाए । बाढीमा परेर ३० जना अझै वेपत्ता छन् । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस प्रदेशमा ०६७–०७७ असार २५ गतेसम्ममा बाढीबाट ४ हजार ५ सय २१ परिवार विस्थापित हुन पुगेका छन् ।

यसैगरी ४ हजार ७ सय १० घरमा पूर्ण र आंशिक क्षति पुर्‍याएको बाढीले करिब ५५ करोड ४५ लाख १० हजार बराबरको धनमाल क्षति हुन पुगेको तथ्यांक छ ।  अन्नपूर्ण पोस्ट्

प्रतिक्रिया

सम्बन्धित समाचार