महोत्तरी / हरेकको भावनालाई समेटी कार्यसम्पादन गरेकै कारण नगरभरिमा सुशासन कायम राख्न सफल भएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।
रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा नगरप्रमुख मण्डलले दक्षिणमा सिमावर्ती भारतको विहार राज्य, पुर्वमा जनकपुरधाम उपमहानगरपालिका, उत्तरमा पिपरा गाँउपालिका र पश्चिममा जलेश्वर नगरपालिकाको सिमा रहेको यस पालिकालाई आफुसँग कायम रहेको जनशक्तिकै भरमा सवैको ईच्छाअनुसारको कार्यसम्पादन गर्दै आएको बताउनुभयो ।
नगरप्रमुख मण्डलले भन्नुभयो–‘नगरपालिकामा दरवन्दी अनुसारको कर्मचारीको अभाव छ, जसोतसो कार्यालयको कार्यसम्पादन गर्दै आएको छु । संघीय सरकारसँग आवश्यक मात्राको कर्मचारी व्यवस्थापनको लागि अनुरोध गरेका छौ तर सो कुरा सफल हुन सकेको छैन ।
नगरप्रमुख मण्डलले सवैको सहयोग पाएर नै सुसशासन कायम गर्न सफल भएको र जसको परिमाणस्वरुप नेपालका राष्टपति विद्यादेवी भण्डारीले आफुलाई गोर्खा दक्षिण वाहु चौथौबाट सम्मानित गरिएको जनाएको छ ।
एक अर्को प्रसंगमा नगरप्रमुख मण्डलले अगामी आर्थिक बर्षको लागि विनियोजन गर्ने बजेट जनमैत्री सरोकार राख्ने किसिमको रहने धारणा राख्नुभयो ।