सर्लाही / सर्लाहीमा विषाक्त जाँडरक्सी खाँदा आठ जनाको ज्यान गएको आशङ्का गरिएको छ । पछिल्लो चार दिनको अवधिमा पाँच जना नेपाली र तीन जना भारतीय नागरिकको ज्यान गएको हो । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-५ पडरियामा जाँडरक्सी खाएर बिरामी परेका उनीहरुको ज्यान गएको ब्रह्मपुरी गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताउनुभयो ।
ज्यान गुमाउनेमा ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् । कैलु दास, जुगेश्वर माझी र बलिन्द्र दासको हिजो बिहान गाउँमा नै ज्यान गएको हो भने रामईश्वर पासवान र दिनकर दासको गएको २९ गते भारतको आग्रामा ज्यान गएको थियो ।
रामईश्वर पासवान र दिनकर दास कामका लागि आग्रामा पुगेका थिए । त्यसैगरी गएको २८ गते जिल्ला अस्पताल सर्लाहीमा उपचारको क्रममा भारतीय तीन नागरिकको ज्यान गएको स्वास्थ्य संयोजक उपेन्द्र राउतले जानकारी दिनुभयो । ब्रम्हपुरी गाउँ नेपाल-भारत सीमा दशगजाबाट झण्डै तीन किलोमिटर उत्तरतर्फ पर्छ ।
भारतीय बजारमा घरेलु जाँडरक्सी बिक्रीमा रोक लगाएपछि भारतीय नागरिकहरु नेपालका सीमावर्ती गाउँमा आएर जाँडरक्सी खाने गर्दछन् । घटनाको अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ । -उज्यालो