
‘जव जव हँसुली मगौलियौ रे जटा, हँसुली काहे न लौले रे
हरिवारी समैया रे जटवा हँसुली काहे न लौने रे,
हँसुुली जव जव मगौलियौ गे जटिन हसँुली काहे न पहिरले गे
हरिवारी समैया गे जटिन नईहर काहे गमौले गे ।।’
यस्तै व्यङ्गात्मक भावपूर्ण शब्दले रचित रहेको जटजटिन लोकनृत्य मैथिली समाजबाट लोप हुँदै गएको छ । बर्षौ पहिले गाँउघरमा रातिको समयमा सामुहिक रुपमा नृत्य गरिदै एक आपसमा गाईने यो सांगितीक खेल अब लोप हुने स्थितीमा पुगेका छन । प्रत्येक बर्ष वैशाख, जेठ महिनामा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त रहेको समयमा आकाशे पानी पर्नका लागि यो नृत्य खेल्ने गरेका छन् । अब ग्रामिण भेगमा सामुहिक रुपमा खेलिने यो खेल पूर्ण रुपमा सगितमा अधारित रहेको स्थानीयहरुले बताएका छन् । एक आफनै विशेषता रहेको यो गीत एवम नृत्य पूर्ण रुपमा परिहासको झझल्को देखाउने किसिमको रहेको थियो । पछिल्लो एक दशक यता देखि क्रमिक रुपमा लोपोन्मुख अवस्थामा यो नृत्य आधुनिक पुस्ताका युवायुवतीहरु विर्सन थालेका छन ।
भनिन्छ पहिले पहिले वैशाख जेष्ठ महिनामा जव पानी पर्दैन्थ्यो तव मिथिलानीहरु दुई समुहमा विभाजन भई यो नृत्य राती खाना खाएर खेल्ने गरिन्थ्यो । नृत्यमा एक समुह जटा, जुन पुरुषको भेषमा सजिएको हुन्थ्यो भने अर्को समूहले जटिन महिलाको भेषमा रहि संवादात्मक रुपमा यो नृत्य मुखले नै गीत गाएर रमाईलो गर्दथ्यो ।
रोचक कुरा के हो भने यो नृत्य गरेपछि निश्चिय रुपमा पानी पर्ने गरिन्थ्यो । रातिको सममा यो नृत्य गर्ने क्रममा एउटा भ्यागुतोलाई समातेर सो भ्यागुतोलाई सबै सिंगार गरि सजाएर घैटोमा राखेर । गाँउमा झगडालु एवम वदमास महिलाको घरमा फालेर आउथ्यो । पछि ती महिलाले नृत्य गर्ने महिलालाई खुव गाली गर्ने गर्दथ्यो । ती महिलाले जति गाली गर्ने गर्दथ्यो त्यति नै पानी पर्ने जनविश्वास रहदै आएको थियो ।
पछिल्लो समयमा आएर देशको राजनितीक माहौल विग्रिएको र समाजमा नै महिलाहरु असुरक्षित भएपछि यो नृत्य क्रमिक रुपमा लोप हुँदै गएको गौशाला ११ की गृहणी कौशिल्या देवी महतोको भनाई रहेको छ । उनले भनिन पहिले पहिले त आफुहरु रातभरि नै मुखले नै विभिन्न किसिमको गीत गाएर एक अर्कालाई प्रहासन गर्दै मनोरन्जन लिन्थ्यो तर अब समय सुरक्षित नभएपछि समाजबाट लोप हुन लागेको उनले बताईन् ।
अब दिउँसो घरमै महिलाहरु असुरक्षित रहेको समयमा रातिको समयमा त महिलाहरु मात्रै रहेको नृत्य गर्नका लागि असहज परिस्थित रहेको छ जसको कारण आफुहरु चाहेर पनि मनोरन्जन लिन नसकेको राधापरि देवीले बताईन । राधापरिले भनिन यसरी समाजबाट लोपोन्मुख अवस्थामा रहेको गीतसंगीतहरु अहिले रेडियोहरुमा गीतहरु सुनेपछि अतितका सम्झनाहरु याद आउने गरेको छ ।
अब त यो जटजटिन नृत्य कसैले पनि खेलिरहेका छैनन् । पहिला त हामीहरु बैशाख ,जेठ महिनामा जब पानी पर्देनथ्यो त्यो बेला शुक्ल पक्षका रातीमा १०÷१२ जना महिला मिलेर खेल्ने गर्थियौं अनि खेलिसकेपछि पानी पनि पर्ने गरेको गौशाला नगरपालिका ११ कालीपुरकी रामकला देवीले बताईन् । “उनले अगााडी भनिन् जब माओवादीको गाँउघरमा हल्ला उठ्न थालेपछि हामीहरुलाई असुरक्षित महशुस भयो र त्यहिँबेला देखि नै रातीमा यो नित्य खेल्न छोडिन् ।”
देशको स्थिती क्रमिक रुपमा परिवर्तन भई अशान्त भएको समयमा यस्ता गीतसंगीतहरु लोप हुन थालेको छ । करिब दुई दशक अगाडि माओबादीको कारण देश अशान्त भएपछि ग्रामिण भेगका महिलाहरु राति घरबाट निस्कन डराउन थाले । जसको कारण जटजटिनजस्तो समाजिक एवम सांगितीक नृत्य लोप भएको जनता समाजवादी पार्टीका नेता राजकिशोर महतोले बताए ।
अहिले पनि देशको परिस्थिती अशान्त नै रहेको छ, जसको प्रत्यक्ष असर गृहणीहरुले परम्परागत रुपमा मनाउदै आएको नृत्य, गीत संगितमा पनि परेको छ । देशमा २० बर्षपछि अनेकौ परिवर्तन भईयो तर अवस्था अझ उस्तै नै रहेको छ जसको कारण गृहणीहरु अझ स्वतन्त्र हुन नसकेको नेता सिंहको बुझाई रहेको छ ।
विगत १५ बर्षदेखि पत्रकारिता गर्दै आउनुभएकी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रिन्कु गायत्री मिश्रले लोप भईरहेको यस्ता समाजिक धरोहरलाई बचाई राख्नुपर्ने तर्क राख्नुभयो ।
हामीहरुले आफना लोपोन्मुख पुरानो रितीरिवाज एवम संस्कृतिको धरोहरको सम्बन्धमा नयाँ पिढीलाई हस्तान्तरण गर्न नसकेको मिश्रले बताउनुभयो । नयाँ पुस्ताले यस्ता धरोहरलाई अंगिकार गर्न नसकेको समयमा समाजका सरोकारवाला निकायले पनि यस्ता धार्मिक एवम् समाजिक धरोहरलाई संरक्षण गर्ने किसिमले वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता उपर जोड दिनुभएको छ । पुराना समयमा पानी नपरेको भन्दै महिलाहरुले बर्षेणी रुपमा जटजटिनलाई मनोरन्जनको रुपमा भएपनि संरक्षण गर्दै आएको थियो तर पछिल्लो नवपुस्ताले पश्चिमी संस्कृतिलाई अंगालेकै कारण हाम्रा समाजका यस्ता धरोहरहरु लोप हुन गएको पत्रकार मिश्रले बताउनुभयो । यस्ता धरोहरलाई संरक्षण गर्नका निम्ति सवैले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता उपर मिश्रले जोड दिनुभयो ।
यता मैथिली कलाकारहरुले अरुको नक्कल नगरि आफनै माटोपानीले जोडिएको वास्तविक गतिविधीलाई समेटेर गीत संगीतको सिर्जना गरिनुपर्ने मैथिली भाषाका युवा कलाकार प्रदीप कुमार महतोले बताउनुभयो ।
कलाकार महतो भन्नुहुन्छ—‘आजकालको अधिकांश कलाकार, गीतकार, संगीतकारहरु रेडिमेड भएका हुन । उनीहरु अर्काको कला चोर्नमा व्यस्त रहेका हुन्छन् । कलाकार भनेको आफैले सिर्जना गर्ने हो, जव हाम्रा मैथिली वातावरण नै कला, संस्कृतिले भरिपुर्ण रहेको छ । हामीले ईतिहास नियाल्ने हो भने प्राचीनकालदेखि नै हाम्रा पुर्वजहरु संस्कृतिका सृजना गरेका छन ।’
हामीले हाम्रा माटोपानीसँग प्रत्यक्ष रुपमा नाता जोडेको सांस्कृतिक धरोहरहरु समाचकेवा, जितिया, झिझिया, जटजटिनलाई भुल्दै गएका छौ । भर्खरै गठन भएका प्रदेश संचार प्राधिकरणले सुक्ष्म रुपमा पहलकदमी नगरेकै कारण समाजमा प्रत्यक्ष रुपमा पश्चिमी संस्कृति प्रवेश पाएका महतोले बताउनुभयो ।
त्यस्तै स्थानियतहले हरेक समुदायको भाषा, धर्म, संस्कृति, पर्व, पहिचानको गतिविधीलाई समेटेर ऐच्छिक विषयवस्तुको रुपमा विद्यालयमा लागु गरिनुपर्नेमा नेपाल शिक्षक महासंघ गौशालाका नगरअध्यक्ष नकुल उप्रेतीले जोड दिनुभयो ।
स्थानिय समुदायले वोलिने भाषा, धर्म संस्कृति जोगाउनुपर्नेमा पनि स्थानियतहलाई ठोस रुपमा कदम उठाउनुपर्ने आवश्यक रहेको नगरअध्यक्ष उप्रेतीले धारणा राख्नुभयो ।
स्थानिय भाषा, संस्कृति, गतिविधीलाई समेटर सामुदायिक विद्यालयको पाठ्यपुस्तकमा समावेश गर्दै सकारात्मक कदममा आउनुपर्ने आवश्यक रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश नं. २ का महासचिव राजवीर महतोले बताउनुहुन्छ ।
विद्यालय विद्यार्थीहरुको सिकाईको थलो भएकोले पाठयपुस्तक लागु भएपछि स साना वालवालिकाहरुलाई कम उमेरमा स्थानिय सांस्कृति धरोहरप्रति आस्था बढने भएकोले यस्ता गतिविधीले उनीहरुको मानसिकतामा सकारात्मक विचारको सृजना हुनेमा महासचिव महतोकोे विश्वास रहेको छ ।
नयाँ युवा पुस्तालाई यस्ता लोकसंस्कृतिको धरोहर हस्तान्तरण गरिनुपर्ने आवश्यक रहेको गौशाला नगरपालिकाका उपमेयर आशा लामाले बताउनुभयो ।
आधुनिक पश्चिमी प्रवृतितर्फ लम्किदै गएको हाम्रा समाजमा ती पुराना रितिरिवाज एवम संस्कृतिलाई संरक्षण गर्नका निम्ति पुराना पिढीले नयाँ पिढीलाई मनोरन्जनको नाममा भएपनि संस्कृति संरक्षण गर्ने किसिमको भुमिकामा आउनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो पुस्ताका स्थानिय कलाकारहरुले यस नृत्यलाई जीवन्त राख्नका लागि आधुनिक तवरले ती पौराणिक गीतलाई यथार्थ रुपमा चित्रण गर्ने प्रयास गरेका छन । नवयुगका कलाकारले चित्रण गरि युटुुव लगायत विभिन्न च्यानलहरुमा रिलिज गरेको गीतसंगीतहरु स्रोता एवम दर्शकहरुको रोजाईको विषय वन्न पुगेको छ । अहिले स्थानियतहका सरकारले यस प्रकारका संस्कृतिलाई संरक्षण गर्नुपर्ने किसिमको भुमिकामा प्रस्तुत हुनु आवश्यक रहेको छ ।