Saturday 5th of October 2024

असई मणिकान्त महाराजगञ्ज फिर्ता

0 Shares

काठमाडौं : आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहबाट प्रहरी कार्यालयभित्रै रंगभेदको व्यवहार खेपेका र लगत्तै सरुवा गरिएका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई पुनः पुरानै कार्यालय (महाराजगञ्ज) फिर्ता गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा कार्यरत उनलाई त्यहाँको जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखाना तानिएको थियो।

गत जेठ ११ गते संग्रौला र उनको समूहले महाराजगञ्जको प्रहरी कार्यालयमै झालाई दुर्व्यवहार गरेको थियो। त्यसलगत्तै उनलाई त्यहाँबाट काज सरुवा गरिएको थियो।

काज फिर्ता भएपछि झा बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन्।

प्रहरी स्रोतका अनुसार जेठ ११ को घटना भएको एक सातापछि उनलाई महाशाखा प्रमुख, एसएसपी जनक भट्टराईले बोलाएर अब बग्गीखानामै काज सरुवा हुन आग्रह गरेका थिए।

बुधबार भट्टराईले नै उनलाई फेरि महाराजगञ्ज फिर्ता हुनेगरी रमाना बुझ्न लगाएका थिए।

संग्रौलासहितको टोलीले गत जेठ ११ गते ड्युटीमा खटिएका झासँग महाराजगञ्ज क्षेत्रमा वादविवाद गरेको थियो। निषेधाज्ञाको बेला सवारी पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई झासहितको ट्राफिक प्रहरीको टोलीले रोकेको थियो। पास र चालक अनुमतिपत्र दुवै उनीहरुसँग नरहेको भेटिएपछि झाले उनीहरुको सवारी होल्ड गरेका थिए। त्यसपछि विवाद भएपछि उनीहरुले असई झाले आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

त्यसपछि वृत्तको कार्यालयम आइपुगेका उनीहरुले झामाथि तथानाम भनेको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा देखिएअनुसार प्रहरी कार्यालयमा संग्रौलाको टोलीले असईको नाम सोधेपछि उनले आफ्नो नाम मणिकान्त झा भएको बताएका थिए। त्यसपछि संग्रौलासहितको टोलीले ‘झा… मधेशी… अब मधेशतिरै गएर खेतीकिसानी गर्नु….ट्राफिकको जागिर खाएर काम छैन…’ जस्ता रंगभेदी शब्दसहित दुर्व्यवहार गरेका थिए।

सामाजिक अभियन्ताको रंगभेदी हर्कत : मधेशी प्रहरीलाई ‘मधेशतिर जाउ’ भनेपछि… (भिडियो)

प्रतिक्रिया