
जनकपुरधाम ः केही दिन अगागडी मात्रै धनुषाको मुखियापट्टी मुसहरनियामा निर्माणाधिन पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भयो ।
बाख्रा चराउन गएकी ती बालिकाहरु गर्मी छल्नका लागि निर्माणाधिन सो पोखरीमा हाम त फाले तर पोखरीबाट बाहिर निस्कन सकेनन् ।
डुबेर मृत्यु हुने सबै बालिकाको उमेर १० देखि १३ वर्षको थियो ।
हुलास यादव र दिनेश यादवको खेतको बिचमा खन्न लागिएको सो पोखरीमा डील समेत बनाइएको थिएन ।
यति मात्र नभई १२ फिटसम्म गहिरो रहेको सो निर्माणाधिन पोखरीमा छेकवारसम्म लगाइएको थिएन ।
यी सावधानी नअपनाइएकै कारण यति ठूलो दुर्घटना निम्तिएको बताइन्छ ।
यता यस घटनाको विषयमा धनुषा प्रहरीले छानविन समेत गरिरहेको छ ।
प्रहरी उपरीक्षक प्रकाश रानाभाटले त्यो घटनामा पिडित परिवारबाट अहिलेसम्म कुनै निवेदन नआएकाले पोखरी मालिकलाई अहिलेसम्म पक्राउ नगरिएको बताए ।
उनले भने, ‘पोखरीमा डुबेर पाँच जनाको मृत्यु भएको घटनामा पिडित परिवारबाट कुनै निवेदन परेको छनन्, यद्यपि अनुसन्धान गरिरहेका छौँ, तर अहिलेसम्म पोखरी मालिक हाम्रो सम्पर्कमा आएका छैनन् । खोज तलाश भइरहेको छ ।’
त्यस्तै गत फागुन १६ गते सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर १८ महिने शिशुको मृत्यु भएको थियो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं। ५ फुलजोरका रमेश मोक्तानको १८ महिने छोरी अनिषा मोक्तानको घर नजिकै रहेको पानी फ्याक्ट्रीको छेउमा रहेको पानी जमेको खाल्डोको डिलमा खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।
पछिल्लो समय धनुषामा मात्र नभई प्रदेश २को सबै जिल्लामा पोखरी, तलाउ, खाल्डोमा जमेको पानीमा डुबेर बालबालिका सहित कयौँले आफ्नो ज्यान गुमाएका छन् ।
अबैध रुपमा भइरहेको उत्खनन्, इटा भट्टाका कारण बनेको खाल्डो तथा नदी नालामा डुबेर सयौँजनाले आफ्नो ज्यान गुमाएको प्रदेश २ प्रहरी कार्यालयको तथ्यांक छ ।
चालु आर्थिक वर्षको ११ महिनामा मात्र १ सय ८६ जनाको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।
प्रदेश प्रहरीका प्रवक्ता प्रसाईँले साउन देखि जेठ महिनासम्ममा पोखरी, तलाउ, नदी, नाला, खोला र खाल्डोमा डुबेर मृत्यु भएकाहरुमा १ सय ९ जना बालबालिका मात्र रहेका छन् ।
प्रदेश प्रहरीको तथ्यांक अनुसार पोखरीमा डुबेर सबैभन्दा बढी ६६ जनाको मृत्यु भएको छ । त्यस्तै खाल्डोमा डुबेर ६४ जनाको मृत्यु भएको छ ।
खोलामा डुबेर ३०, नदीमा १६ र नालामा डुबेर १० जनाको मृत्यु भएको प्रदेश प्रहरीको तथ्यांक छ ।
पानीमा डुबेर सबैभन्दा बढी धनुषामा ३५ जनाको मृत्यु भएको छ ।
त्यस्तै रौतहटमा ३३, बारामा ३०, सिरहामा २२, सप्तरीमा १९, महोत्तरीमा १७, सर्लाहीमा १५ र पर्सामा १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता प्रसाईँले जानकारी दिए ।