सर्लाही : सर्लाहीमा जनप्रतिनिधि र प्रहरीको सेटिङमा अन्धाधुन्ध नदी दोहन भइरहेको छ । सरकारले असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा सर्लाहीमा ब्यापक नदी दोहन भइरहेको स्थानीयको आरोप छ ।
सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमतीलगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको सेटिङमा दैनिक सयौं टयाक्टर र टायरगाडा प्रयोगगरी ढुंगा,गिटी बालुवा उत्खनन भइरहेको हो ।
स्थानीयका अनुसार जिल्लाकै सबैभन्दा ठूलो बागमती नदीमा दोहन भइरहेको छ । बामगती नगरपालिकाअन्तर्गत कर्मैया, जिरायत टेकानीघाट, रामपुरघाट, लालबहादुरटोल दुम्जालीटोल र बरहथवा नगरपालिकाको खर्सालघाट, हजरियाबाट दिनदहाडै ट्याक्टरमार्फत ढुंगा, गिटी बालुवाजस्ता नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयले बताएका छन् ।
हरिवन र लालबन्दी नगरपालिकाको सिमाना भएर बग्ने लखन्देही खोलाको गणेशचोक नवलपुर, मोहनपुर, हिरापुर, डाब्कालीटोल हरिपुर नगरपालिकाको जगतपुर, ईश्वरपुर नगरपालिकाको बाँके, श्रीनगर,फूलजोरबाट र लालबन्दीको कलिन्जोरबाट दैनिक सयौं सवारी साधनको प्रयोग गरी नदी दोहन भइरहँदा पनि सम्बन्धित निकाय बेखबर बनेका छन् ।
अवैध रुपमा उत्खनन गरी निकालिएका नदीजन्य सामग्री बिक्री गर्ने र बिक्री नभएको खोलाकै बगरमा भण्डारण गर्ने गरिएको छ । प्रतिबन्ध हटेपछि व्यापारीले महँगोमा बिक्री गर्ने हजरियाका स्थानीय गोविन्द क्षेत्री बताउँछन् ।
उनका अनुसार प्रहरी कार्यालयको परिसरको बाटो हुँदै टयाक्टरले दैनिक गिट्टी, बालुवा, ढुंगा बोकेर दौडिरहेको हुन्छ । क्षेत्रीले भने, ‘उनीहरुलाई रोकटोक छैन, हामीले घरायसी कामका लागि एक गाडा बालुवा ल्याउँदा प्रहरीले अनावश्यक दुःख दिने गरेको छ ।’ शुरुमा प्रहरीले डर देखाउने र पछि प्रतिटयाक्टर दुई सय र गाडाको एक सय लिएर छाड्ने गरेको गुनासो गरे।
जनप्रतिनिधिकै पार्टीका कार्यकर्ता र आफन्तसहित प्रहरीको मिलेमतोमा नदी दोहन भइरहेको स्थानीयले आरोप लगाइरहेका छन् । यतिखेर नदी नजिकै रहेका गाउँका स्थानीय र ठेकेदारहरुले दादागिरी शैलीमा नदीजन्य सामग्री उत्खनन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन बसेको लालबन्दी नगरपालिका-१ का प्रेमध्वज लामाले आरोप लगाए ।
यता जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले असार १ गतेबाट सर्लाही हुँदै बग्ने खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको सबै स्थानीय तहमा जानकारी भइसकेको छ। कसैले नियमविपरीत गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गरे कानुनी कारबाही हुने बताए ।
अवैध रुपमा तस्करहरुले खोलाबाट विभिन्न साधन प्रयोग गरी नदीजन्य वस्तु निकाल्नाले बागमती, बाँके, लखन्देही, फूलजोर कालिन्जोर खोला किनार आसपासका सयौं बिगाहा जमिन कटानको चपेटामा परेका छन् ।
जथाभावी नदीजन्य पदार्थको उत्खननले तटीय क्षेत्रमा रहेका दर्जनौं बस्ती नै डुबानमा पर्ने जोखिम रहेको स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।