काठमाडौँ : सप्तरी राजविराज–६ मुसहरीका चिन्तादेवी दासलाई कोरोनाका कारण गरिएको निषेधाज्ञाले चिन्ता थपिएको थियो । निषेधाज्ञासँग स्थानीय वजारमा टोकरीमा राखेर तरकारी बेचेर गुजारा गर्दै आएकी चिन्तादेवीका व्यपार बन्द भयो । त्यसले उनलाई दैनिक रुपमा हातमुख जोड्न समस्या भयो । कोरोनाका कारण यो समस्या चिन्तादेवी दासलाई मात्र होइन, सोही ठाउँका दर्मा सदायलाई पनि थियो ।
दैनिक मजदुरी गरेर साँझ विहान छाक टार्ने दर्मा सदायको गाँस पनि कोरोनाले खोस्यो । त्यस्तै, अवस्था थियो, तेतरी सदाय, पवन साह, रेखा साहलगायत दर्जनौं घरपरिवारको । अहिले उनीहरुको सामु उभिएको छ, राष्ट्रिय एकता अभियान ।
निषेधाज्ञाका कारण एक छाक खान समस्या भएकाहरुका लागि राष्ट्रिय एकता अभियानले एकछाक राहत वितरण कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमले एक छाक खान समस्या हुनेका लागि धेरै नै राहत भएको अभियानकी उपाध्यक्ष सुनिता साहले बताइन् । ‘एकछाक राहत वितरण अभियान चलाउँदा समस्यामा परेको मात्र सहभागी भएको छन् । राहतमा बोरा मात्र वितरण गर्दा समस्या नहुनेले पनि बोराका बोरा राहत लिएर जान्थे । तर यो एकछाक राहत वितरण कार्यक्रम गर्दा हुनेखानेहरुले लिन आएका छैनन्,’ उनले भनिन् ।
वास्तवमा एकछाक खान समस्या हुने व्यक्तिहरु मात्र सम्पर्कमा आउन थालेको उनको भनाइ । उनले भनिन्, ‘हामीले एक जनालाई दुई केजी चामल र सो अनुसार दाल, आलु र नुन दिने गरेको छु, त्यो खाएर सकाएपछि फेरि दिने गरेको छु ।’ एक दिनमा सयदेखि डेढ सय परिवारलाई दुई केजीको दरले चामल दिने गरेको साहले बताइन् ।
उनका अनुसार घरमा चामल सकिएपछि कतिपय आफै सम्पर्कमा आउँछन् भने कतिपयको घरघरमा आफै जानुपर्छ । यता चिन्तदेवी दासले पनि राष्ट्रिय एकता अभियानले गर्दा हामीलाई ठूलो राहत भएको बताइन् ।
‘बजारमा गएर सडक छेउछाउ बसेर तरकारी बेचेर गुजारा गर्थे तर यो निषेधाज्ञा भएपछि प्रहरीले वजारबाट धपाउन थाले र घर बस्न बाध्य भएँ । आठ वर्षकी एउटी छोरी छिन्, श्रीमान्को मृत्यु भइसकेको छ, काम गरेपछि मात्र चुल्हो बल्थ्यो । अहिले काम गर्न नदिएपछि निकै गाह्रो भइरहेको थियो,’ चिन्तदेवीले भनिन् ।
सुनिताहरु आएर एकछाक खानका लागि दुई किलो चामल, आलु, दाल दिएपछि निकै सजिलो भएको उनले बताइन् । चारजना छोराछोरी आमा रेखाका श्रीमानले ठेला गाडी चलाएपछि मात्र घरको चुल्हो बल्थ्यो । निषेधाज्ञाका कारण ठेला चलाउन बन्द भएपछि एकछाक खान पनि समस्या भयो । पहिलाको लकडाउनमा स्थानीय तहले पनि अलिअलि राहत दिइएको थियो तर यसपाली कसैले सोध्न पनि नआएको रेखाको गुनासो छ । रेखा साहले राष्ट्रिय एकता अभियानले गर्दा आफूहरुको गुजारा चलेको बताइन् ।
‘बोरामा चामल वितरण गर्दा ठूलाबडाहरुले मात्र उठाएर लैजान्थ्यो अहिले दुई–दुई केजी चामल वितरण गर्दा उनीहरु लिन आउँदैनन् त्यसले गर्दा हामीलाई सजिलो भएको हो,’ उनले भनिन्, एकछाकका लागि दुई केजी चामल, दल, नुन, आलु दिन्छन्, त्यो सकेपछि फेरि लिन जान्छौं, कहिले काहिँ आफै दिन आउँछन् ।’
यो एकछाक अभियानले अब आफूहरु भोकै मर्ने अवस्था नरहेको राजविराजकी तेतरी सदाले बताइन् । उनले भनिन्, ‘यो लकडाउन कति दिनसम्म जान्छ थाह छैन, तर जति दिन लकडाउन रहन्छ त्यति दिन एकछाक खाने गरि राहत दिने भनेको छ ।’
अभियानका अध्यक्ष विनय यादवले एकछाक राहत वितरण अभियानको अर्थ नै समस्या परेकालाई मात्र समेट्ने रहेको बताए । उनले भने, ‘बोरामा चामल वितरण गर्दा अधिकांश हुनेखाने र टाठा बाँठाले मात्र लग्थे, यो अभियान चलाउँदा साँच्चै जसलाई समस्या छ त्यो मात्रै यसमा सहभागी भएका छन् त्यसले मलाई निकै सन्तुष्टि मिलेको छ ।’
उनले कार्यक्रम दाताहरुको सहयोगमा चलाएको बताए । ‘कसैले चामल, कसैले रकम सहयोग गर्छन्, त्यसले गर्दा या अभियान चलेको हा,’ यादवले भने । कुनै दिन कसैका सहयोग नआउँदा आफूहरु आफ्नै कोषबाट भएपनि वितरण गर्दै आएको उनले बताए ।
उनका अनुसार अहिलेसम्म यो कार्यक्रम सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीसम्म पुगेको छ । विस्तारै तराई मधेशका अन्य जिल्लामा पनि लैजाने सोच बनाएको यादवले बताए ।
‘कोरोनाका कारण सबैभन्दा ठूलो समस्या साना मजदुरहरुको भएको छ, जसले दिनमा कमाएपछि राति उसको चुल्हो बल्थ्यो । ठूला व्यापारी तथा उद्योगीहरुको लागि छ महिना वर्ष दिन बन्द भए कहि फरक पर्दैन तर साना मजदुरहरु निकै समस्यामा परेको छ,’ उनले भने ।
जहाँ सरकारको ध्यान नपुगेको अध्यक्ष यादवले बताए । राज्यले हुने खानेतिर नै ध्यान दिएको भन्दै मुसहर, चमार, दुसाध, खप्वे, डोम, हल्खोरलगायतका जातितिर ध्यान नदिएको गुनासो गरे । उनले भने, ‘अहिले पनि दलितको वस्तीमा जाँदा अवस्था विकराल छ तर त्यहाँसम्म राज्यको पहुँच छैन, राज्यको ढुकुटीमा ठूला भनाउँदाहरुको मात्र पहुँच छ ।’
आफूहरुले माग अनुसार पुरा गर्न नसकिरहेको पनि बताए । यद्यपी आफूहरुले सके जति पुर्याउने प्रयास गरिरहेको उनले बताए ।