Thursday 10th of October 2024

चन्दा उठाएर समाजसेवा : दिनेको चर्चा छैन, बाँड्नेको चुरी-फुरी

0 Shares

२०७२ सालमा विनाशकारी भूकम्पपछि हाँस्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली भूकम्पपीडितलाई सहयोगका लागि जुटे।

यसै क्रममा उनीहरुले भूकम्पबाट घरबारविहीन बनेका काभ्रेको पाँचखालका पहरी समुदायका लागि बस्ती बनाउने निर्णय गरे। बस्ती बनाउने क्रममा उनीहरुलाई आर्थिक अभाव भएको कुरा बाहिर आयो। उनीहरुले ललितपुरमा रहेको आफ्नो घर बेचेर पनि बस्ती निर्माणको काम पूरा गर्न लागेका छन् भन्ने चर्चा भयो। त्यसपछि उनीहरुलाई स्वदेश तथा विदेशबाट सहयोग ओइरियो।

निरन्तर सहयोग भइरहेपछि उनीहरुले धुर्मुस–सुन्तली सिन्धुपाल्चोकमा बस्ती बनाए। सिन्धुपाल्चोकपछि महोत्तरीमा मुसहर बस्ती  बनाएर निकै चर्चा कमाए धुर्मुस सुन्तलीले। बाढीपीडितका लागि रौतहटको सन्तपुरमा पनि उनीहरुले एकीकृत नमूना बस्ती बनाए।

४ वटा बस्ती निर्माणको काममा सफल भएका धुर्मस–सुन्तली अहिले चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन जुटिरहेका छन्। सहयोग मागेकै भरमा ठूलो योजनामा हात हालेका कारण अहिले धुर्मुस आर्थिक समस्यामा परेका छन्।

हास्य कलाकारिता क्षेत्रमा जमिरहेकै बेला त्यसलाई चटक्कै छाडेर धुर्मुस–सुन्तली बस्ती त्यसपछि रंगशाला निर्माणतिरै भुलिरहेका छन्। सबै तहका सरकार, विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले रंगशाला निर्माणका लागि धुर्मुसलाई सहयोग गरिरहेका छन्।

भूकम्पका बेला धुर्मुस–सुन्तली जस्तै धेरैले यस खालका सहयोगका काम गरेका थिए।

अहिले नेपालमा देश-विदेशबाट चन्दा लिएर सहयोग गर्नेको लहर नै चलेको  छ। सामाजिक अभियन्ताका नाममा अहिले धेरै व्यक्ति तथा समूह सक्रिय छन्। अरुबाट सहयोग उठाएर बाँडेकै आधारमा चर्चा कमाइरहेका थुप्रै व्यक्तिहरु  अहिले देख्न सकिन्छ।

देश तथा विदेशमा रहेको नेपालीबाट पैसा उठाएर राहत बाँड्ने, समस्यामा परेकालाई सहयोग गर्ने, अस्पताल, विद्यालय, स्कूल घर निर्माण गरिदिने क्रम जारी छ।  केहीले संघ संस्था नै दर्ता गरेर सहयोग गर्दै आइरहेका छन्।

केहीलाई भने सामाजिक सञ्जाल तथा युट्युब च्यानलमा भाइरल भएकै आधारमा देश विदेशबाट चन्दा आइरहेको हुन्छ। यसरी चन्दा संकलन गर्दै सहयोग गरेको प्रचार गर्ने थुप्रै व्यक्तिहरु समय–समयमा विवादमा पनि आइरहने गरेका छन्।

त्यसरी आफूलाई सामाजिक अभियन्ता तथा समाजसेवीका रुपमा चिनाउँदै आएका अनि चर्चा र विवादमा आइरहने व्यक्तिहरुमा ज्ञानेन्द्र शाही, ज्वाला संग्रौला, हेमराज थापा, जेरी ताम्राकार, हिमाल उपाध्याय, पुण्य गौतम लगायतका देखिन्छन्।

माथि उल्लेखित व्यक्तिहरुले समस्यामा परेका धेरैलाई सहयोग पनि गरेका छन्। उनीहरुले त्यसरी सहयोग गर्दा युट्युबरको जमात उनीहरुको पछिपछि हुन्छ। उनीहरु आफैँले पनि भिडियो खिचेर त्यसलाई प्रचार गरेका हुन्छ। त्यही भिडियोहरू देखेर उनीहरुलाई धेरैले विश्वास गरिरहेका हुन्छन्। अनि आउँछन् देश, विदेशबाट सहयोग।

उनीहरूले आफूलाई एक महान समाजसेवीका रुपमा प्रचार गर्ने र गराउने गरेको देखिन्छ।  तर, नेपालमा समाज कल्याण ऐन, २०४९ ले समाज कल्याण कार्य भन्नाले समाजका कमजोर, असहाय र असक्त व्यक्तिको लागि सेवा पुर्‍याउने र समाजका पिछडिएका वर्गलाई आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउन गरिने सामाजिक कार्य सम्झनुपर्छ

ऐनको दफा ४ (ख) मा समाज सेवा भन्नाले नाफाको उद्देश्य नराखी व्यक्तिगत वा सामूहिक रुपमा गरिने समाज कल्याण कार्य सम्झनुपर्छ भनी व्याख्या गरिएको छ।

उल्लेखित परिभाषालाई हेर्दा समाज सेवामा कुनै कुण्ठित भावना र लक्षित स्वार्थ नहुने कुरा उल्लेख गरिएको देखिन्छ। समाजसेवा एक पवित्र कार्य हो।

तर पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय रहने, युट्युब च्यानलतिर अन्तवार्ता दिँदै हिँड्ने थुप्रै व्यक्तिहरुले आफूलाई सामाजिक अभियन्ता र समाजसेवी घोषणा गर्दै हिँडिरहेको देखिन्छ।
एक किसिमले सामाजिक अभियन्ता भन्ने शब्द नै बदनाम भएको देखिन्छ।

पछिल्लो समय सक्रिय देखिएका केही स्वघोषित सामाजिक अभियन्ता तथा समाजसेवीबारे चर्चा गरौँ।

ज्वाला संग्रौला

लामो समय जापान बसेर करिब १ वर्ष अगाडि नेपाल फकिर्एकी व्यक्ति हुन् ज्वाला संग्रौला।  फेसबुकमा उनी दिनमै दर्जनौ स्टाटस लेखिरहेकी हुन्छिन्। आफूलाई मन नपरेका, व्यक्ति, आफ्ना आलोचकमाथि छुद्र टिप्पणी  गर्न उनी माहिर छिन्। फेसबुकमै गरेको गाली गलौजको विषयमा उनी र विभिन्न व्यक्तिबीच विवाद परिरहन्छ। यस्ता थुप्रै विवाद प्रहरी समक्ष समेत पुग्ने गरेका छन्।

५ वर्षअघि जापानमै रहँदा उनले  राष्ट्रपतिमाथि गरेको टिप्पणी चर्चामा थियो। राष्ट्रपतिमाथि अपमानजनक टिप्पणी गरेको भन्दै उनीविरुद्ध साइबर अपराध अन्तर्गत उजुरी पनि परेको छ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग मिलेर उनले समाज सेवाको काम गर्दै आएकी छिन्।

कोरोनाको दोस्रो लहर सुरु भएपछि उनी राहत वितरण का साथै संक्रमितको उपचार तथा अक्सिजनको व्यवस्था मिलाउने काममा खटिएकी छिन्। उनी रवि लामिछानेको अगुवाइमा जनमैत्री अस्पतालमा कोरोना उपचारको व्यवस्था मिलाउन खटिएको भन्दै प्रचार गरिरहेकी छिन्।

ट्राफिक प्रहरीका असई मणिकान्त झासँगको विवादका क्रममा उनको टोलीले मधेसी मुलका प्रहरीमाथि रंगभेदी टिप्पणी गरेपछि ज्वाला अहिले विवादमा छिन्। त्यो अभिव्यक्तिविरुद्ध मधेसी आयोगमा उजुरी परेको छ।

ज्ञानेन्द्र शाही

कर्णालीको जुम्लाका ज्ञानबहादुर शाहीले आफूलाई ज्ञानेन्द्र शाहीका रुपमा चिनाउने गरेका छन्।  उनी आफूलाई पूर्व राजपरिवार खलक भएको दावी गर्ने गर्छन्।

उग्र स्वभावका उनी युट्युब च्यानलहरूमा अन्तवार्ता दिएर चर्चामा आएका हुन्।

भारतमा चार्टर्ड एकाउन्टेन पढ्दा पढ्दै नेपाल आएका उनी केही समय व्यवसायमा संलग्न थिए। पछि आफूलाई भ्रष्टाचार विरोधी अभियानको अगुवा भन्दै हिँड्ने गरेका थिए।

विशेषगरी उनी अहिलेका राजनीतिक दलका नेताहरुलाई तुच्छ र छुद्र शब्द प्रयोग गरी अन्तवार्ता दिँदै हिँडेका हुन्छन्। यसै कारणले राजनीतिप्रति वितृष्णा भएको जमातले उनलाई उचाल्ने गरेको देखिन्छ।
आफू राज खानदानको व्यक्ति भएको भन्दै उनले अहिलेका नेपाल आफ्नो पुर्खा अर्थात पहिलेका राजाहरुले बनाएको दावी शाही गर्ने गर्छन्।

गणतन्त्रलाई समेत नरुचाउने शाहीले राजावादी जमातको पनि सहानुभूति पाएको देखिन्छ। अहिलेको व्यवस्था खत्तम भएको, राज्य निकम्मा भइसकेको भन्ने खालका अभिव्यक्ति उनी राख्ने गर्छन्। उनी  सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई थर्काउनेदेखि विमान ढिला भएको भन्दै मन्त्रीलाई झमेला गर्ने सम्म उनका काण्डहरू चर्चामा आए।

युट्युबरहरु अघिपछि लगाएर हिँड्ने उनी अन्य मिडियाका  पत्रकारहरुलाई भने गाली गरिरहेका हुन्छन्। आफूलाई कसैले केही गर्न सक्दैन भन्ने खालको दम्भ उनमा देखिन्छ। केहीदिन अघिको उनको सुर्खेत काण्ड सेलाएकै छैन।

हेमराज थापा

एकताका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका हेमराज अर्का स्वघोषित सामाजिक अभियन्ता हुन्। उनी युट्युब च्यानलहरूमा चर्का–चर्का स्वरमा अन्तवार्ता दिँदै हिँडिरहेको हुन्छन्।

अब एक दुई दिनमै युवाले सत्ता चलाउँछन्, भन्ने खालको अभिव्यक्ति उनको हुन्छ।

सरकारी कार्यालयमा गएर हाकिमलाई थर्काउने मात्र नभएर कुर्सीबाटै गलहत्याएर बाहिर निकालिदिने सम्मका उनका गतिविधिहरु युट्युब च्यानलहरूमा देखिन्छ।

पुण्य गौतम

कम्युनिस्ट राजनीतिको पृष्ठभूमि भएका बारा निजगढका पुण्य गौतम पछिल्ला दिनमा युट्युबरहरुले सबैभन्दा पछ्याउने व्यक्ति हुन्। चन्दा उठाएर अरुलाई बाँडेर भन्दा पनि उनी चाँही युट्युब च्यानलमा अन्तवार्ता दिएर चर्चामा छन्। उनी आफू सामाजिक अभियन्ता वा समाजसेवी केही नभएको भन्छन्।

तर म्यानपावरले ठगेका, उपचार खर्च नभएर समस्यामा परेका, श्रीमानले छाडेर पीडित भएकाहरुलाई सहयोग गर्ने, उनीहरुको पक्षमा वकालत गर्ने  जस्ता काममा उनी हिडिरहेका देखिन्छ।

पीडितलाई दिन भन्दै उनलाई पनि केही आर्थिक सहयोग आउने गरेको देखिन्छ। आफूलाई पढेलेखेको पिएचडी स्कलर बताउने उनी राजनीतिक विषयमा राम्रो टिप्पणी गर्नसक्ने, सैद्धान्तिक वहस गर्नसक्ने व्यक्तिको रुपमा आफूलाई चिनाउँछन् ।

युट्युबरहरु हरेका विषयमा उनका धारणा लिइरहेका हुन्छन्। उनी जानी नजानी ती विषयमा टिप्पणी पनि गरिरहेका हुन्छन्। दशैँमा मामाघरमा टीका लगाउँन जाँदा देखि कपाल काट्न सैलुनमा जाँदा समेत उनलाई युट्युबरहरुले छाड्दैनन्।

एक पटक अरुलाई भनेर पठाएको सहयोग रकम अर्कालाई दिएको भनेर युट्युबर र उनको बीचमा घम्साघम्सी नै परेको थियो।  सडकमा भएका विभिन्न प्रदर्शनदेखि खुल्लामञ्चमा भात बाँड्न सम्म उनी पुगेको हुन्छन् ।

अरु पनि छन्

यस्ता थुप्रै सामाजिक अभियन्ताहरु छन्। जसले अरुबाट पैसा उठाएर बाँड्ने अनि, सामाजिक सञ्जालमा २/४ तस्बिर, भिडियो हालेर भाइरल हुने।

अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकको इन्द्रावती नदी किनारका ५६ माझी परिवारका लागि एकीकृत वस्ती निर्माण गरिरहेकी छिन्। उनले २०७४ सालमा वस्ती निर्माण गर्ने घोषणा गरेकी थिइन्। तर, अहिलेसम्म सम्पन्न हुन सकेको छैन्।

गत वर्ष दोस्रो विवाह गरेकी श्वेताले विवाहमा गरेको लाखौं खर्च बस्ती निर्माणमा सहयोग गरेको भए हुन्थ्यो भन्दै उनको आलोचना पनि भयो।

कोरोनाले जन्मायो थरी थरीका समाजसेवी

कोरोना महामारीका कारण धेरै नेपाली समस्यामा परेका छन्। थुप्रैको रोजगारी गुम्यो। महामारीको चपेटामा परेर खानै नपाउने समस्या समेत छ। यस्तो अवस्थामा अरुबाट पैसा उठाएर राहत वितरण गर्ने खालका समाजसेवी छ्याप्छ्याप्ती देखिन्छन्।

कोहीले संस्था स्थापना गरेर सहयोग गर्दै आएका छन्। उनीहरूले भने सम्पूर्ण हिसाब प्रशासनमा बुझाउने गरेको बताइरहेका छन्। कोही अरूबाट पैसा उठाएर दुई–चार जना मिलेर सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा प्रचार पनि गरिरहेका छन्।

आफूले सहयोग गरेका फोटो भिडियो देखाएर थप सहयोग उठाइरहेका हुन्छन्। फलानाले यति दियो, उसले उति दियो भन्दै सामाजिक सञ्जालमा गरेका पोस्ट धेरै देखिन्छ।

छैन हिसाब-किताब 

जापानमा पैसा उठाउँदै नेपाल पठाउँदै गरेकी ज्वालाले अहिलेसम्म करोडौं बराबरको रकम उठाइसकेकी छिन्। उनले अहिलेसम्म कति पैसा चन्दा उठाइन र त्यो कहाँ कहाँ वितरण गरियो भन्ने हिसाब उनीसँग छैन।

जिल्ला प्रशासन कार्यालयले सामाजिक सेवामा सक्रिय रहेका सामाजिक संस्थालाई प्रत्येक महिनाको सम्पूर्ण गतिविधिको रिपोर्ट लिँदै आएको छ। तर, स्वघोषित सामाजिक अभियन्ताले गर्ने गरेको खर्च र उनीहरूले उठाउने गरेको चन्दाबारे न उनीहरुसँग हिसाब छ, न त प्रशासनले माग्न सकेको छ।

पछिल्लो समय उनीहरूले सामाजिक सञ्जालमार्फत कति सहयोग आयो भन्ने जानकारी दिने गरेका छन्। तर, सामाजिक सञ्जाल आधिकारिक नभएर स्थानीय प्रशासनमा जानकारी गराउनुपर्छ।

सामाजिक कार्यका लागि कुनैपनि कानून तथा नियमको पालना गर्नैपर्ने आवश्यकता नरहेको ज्वालाको भनाइ छ। आफूहरूले उठाएको रकम र सहयोग गरेको सबै विवरण सामाजिक सञ्जालमाथि राखिएको उनीहरुको दावी छ।

प्रश्न गर्नेमाथि आपत्तिजनक टिप्पणी 

उनीहरूले गरेका सामाजिक कार्यको प्रशंसाका साथै आलोचना पनि उत्तिकै हुन्छ। तर उनीहरुलाई प्रश्न गर्ने तुच्छ खालका अभिव्यक्तिसहित प्रतिवादमा उत्रिएको देखिन्छ।

आफूलाई कसैले केही गर्न नपाउने  भन्ने खालको आशय उनीहरुको देखिन्छ। काम गरेपछि प्रश्न उठ्नु, राम्रा नराम्रा टिप्पणी आउनु स्वभाविक हो। तर उनीहरु आफूलाई कसैले आलोचना गर्नै नहुने गर्यो भने त्यसले ठूलै अपराध गरेको भने जसरी प्रस्तुत भइरहेका हुन्छन्।

कानुन अनुसार पाइँदैन पैसा उठाउन

मुलुकी अपराध संहिता, २०७४ ले कसैले पनि कुनै व्यक्तिको लागि सहयोग, चन्दा भन्दै पैसा उठाउन प्रतिबन्ध गरेको छ।

अपराध संहिता, २०७४ को दफा १२६ (क) मा उल्लेख छ, ‘कसैले कुनै व्यक्ति कसुर पीडित भएको कारण देखाई निजको तस्बिर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमार्फत आह्वान गरी वा नगरी निजलाई औषधी उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन।’

कसैले त्यसरी सहयोग उठाएको पाइएमा उक्त व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। उक्त व्यक्तिले सहयोग वा चन्दाको नाममा प्राप्त गरेको नगद वा जिन्सी जफत हुनेछ।

अपराध संहिता, २०७४ को दफा १२६(क) को २ मा उल्लेख गरिएको छ, ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ।’

किन हुन्छ यस्तो ? 

गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता, भ्रष्टाचार जस्ता कारणले राज्यप्रति नागरिकहरु विश्वस्त छैनन्। असन्तुष्टि उत्तिकै छ।

समाजमा निराशा र असन्तुष्टिका बीचमा कसैले उनीहरुको ती कुरालाई आफ्नो एजेण्डा बनाउँदा पनि मान्छेहरु त्यो प्रति आकर्षित भइहाल्छन्।

बेथितीले आक्रान्त समाजमा कसैले थोरै राम्रो काम गर्दा पनि त्यो व्यक्तिलाई समाजले रोल मोडल ठान्ने गर्छ ।  अहिलेको देशको परिस्थितिले नै यस खालका समाजसेवी तथा अभियन्ताहरु जन्माएको त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख डा. टिकाराम ढकालको ठहर छ।

‘यो समय भनेको पहिचान निर्माणको समय हो’ ढकाल भन्छन्,  ‘अहिले सबैजना आफ्नो पहिचान र हैसियत बनाउन खोजिरहेका छन्। यो त्यसैको लहर हो,’

अहिले सामाजिक संरचना नै परिवर्तनको मोडमा रहेकोले सामाजिक रुपान्तरणसँगै मानिसहरु आफ्नो पहिचान निर्माणमा लागेको उनले बताए।

समाजशास्त्री ढकालका बुझाइमा यो राज्य र यसका संयन्त्र कमजोर हुनुको परिणाम पनि हो यो।
‘राज्यको निकाय कमजोर हुन्छन्। जनताको आवश्यकतामा राज्यको ध्यान जादैंन। उपेक्षित वर्ग र जनताको दुःख सुन्ने कोही हुँदैनन् त्यसपछि जनताहरु साथ खोज्न अन्यत्र पुग्न बाध्य हुन्छन्’ ढकालले भने।

यस कारण यस्ता खालका व्यक्ति समाजमा देखा पर्ने उनी बताउँछन्। ‘राज्य आफैँ निरीह हुँदा यस्ता खालका तत्वको जन्म हुन्छ र उनीहरुले आफूलाई सर्वेसर्वा ठान्ने गर्छन्’ समाजशास्त्री ढकाल भन्छन्।

यस खालका गतिविधि रोक्न राज्य र यसका संयन्त्र हरुलाई बलियो बनाउनु आवश्यक रहेको उनको ठहर छ।

 

प्रतिक्रिया