सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा

महोत्तरी /  “हे भोलेबाबा बुझायत अछि जे आववाला दिनमे अहाक् दर्शन भेटत नई भेटत ?” (हे महादेव, लाग्दछ, अबका आउने दिनमा तपाईँको दर्शन पाइन्छ, पाइन्न ?), जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित प्राचीन शिवालय सिद्धनाथ मन्दिरलाई बडहरी नदीको बाढीले ढालेको डिलमै उभिएर नजिकको पलार बस्तीकी श्रद्धालु सियानकीदेवी बाँतरले दुःख पुकारा गर्नुभयो ।

‘किछेसाल पहिने बड्का प्लटके बीचमे मन्दिर छल, आब मन्दिरक क्षेत्र बाइढ स ढहल जारहल अई, बुझायत अछि जे ऐगला सालधैर मन्दिर गिर जाइत’ (केही वर्ष पहिले ठूलो चौरको माझमा मन्दिर थियो, अब त मन्दिर क्षेत्र बाढीले ढाल्दै गएको छ, लाग्दछ, आउने दिनमा मन्दिर ढलिसक्ला), बाँतरले मन्दिरबारे थप चिन्ता व्यक्त गर्नुभयो ।

सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा Nepalpatraबाँतरमात्र नभएर भङ्गाहा नगरका सिद्धपुर, पलार, बखरी र हतिसर्वा बस्तीको माझमा रहेको यो प्राचीन शिवालयबारे यस भेगका आम सर्वसाधारण बर्सेनिको बाढीले मन्दिर क्षेत्रमा मच्चाएको ताण्डवले विह्वल बनेका छन् । असार लाग्नासाथ अहिले दिनहुँ पानी परिरहेपछि मन्दिर यसपालिकै बर्खाले ढाल्ने हो कि भन्ने आम चिन्ता छ ।

महोत्तरीको अति प्राचीन धार्मिकस्थल भङ्गाहा–५ को सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिरको बाढीकै कारण अस्तित्वको सङ्कट परेपछि यसबारे अहिले आम चिन्ता बढेको छ । रातु र बडहरी नदीको सङ्गम (दोभान)स्थित यो मन्दिर पछिल्ला केही वर्षयता बर्सेनि बाढीले कटान गर्दै लगेपछि अब मन्दिर नै ढल्ने चिन्ताले यहाँका सर्वसाधारण विह्वल बनेका हुन् ।

दुवै नदी (रातु र बडहरी) किनारको करिब ३० बिघाभन्दा बढीको चौरमाझमा रहेको यो मन्दिर अहिले बर्सेनिको नदी कटानले नदीको डिलमा पुगेको छ । मन्दिर परिसरमै नदीको पानी बग्न थालेपछि अब जुनसुकै बेला मन्दिर ढल्ने वा बग्ने स्थिति बनेको सिद्धपुर बस्तीका सामाजिक कार्यकर्ता शङ्कर साह चिन्ता व्यक्त गर्नुहुन्छ ।

रातु र बडहरी नदीमा आउने बर्खे भेलले मन्दिरको उत्तर र पश्चिम डिल ढालिसकेको छ । पूर्व र दक्षिणतर्फको मन्दिर परिसरको चौर अतिक्रमण गरिएपछि अब मन्दिर सानो कोप्चोमा ठिङ्ग उभिएको देखिन्छ । नदी नियन्त्रणका लागि तटबन्ध नबन्दा र अतिक्रमण हटाउन कतैबाट पहल नहुँदा मन्दिरको बिजोग भएको नजिकैको अर्को बस्ती पलारका ७५ वर्षीय चौठी बाँतरले गुनासो गर्नुभयो ।

करिब ३०० वर्षअघि एक दुधारीबाबा नामका साधुले सपनामा पाएको सन्देशअनुसार खोजी गर्दै जाँदा घना जङ्गलबीच शिवलिङ्ग फेला पारेर त्यसको प्रतिष्ठा गरेर सिद्धनाथ महादेव नामकरण गरेका यहाँका बूढापाका आफ्ना पूर्वजले भन्दै आएका सम्झन्छन् । “दुधारीबाबाले पत्ता लगाएर प्रतिष्ठा गरेपछि यो मन्दिरमा सर्वसाधारणले पूजाआराधना शुरु गरेका हाम्रा बाजेले बताउनुभएको हो”, आपूm सानो छँदा बाजेले मन्दिरबारे बताएका कुरा सम्झँदै पूर्वप्रशासक भङ्गाहा–३ का ८० वर्षीय तेजनारायण सिंह थारूले भन्नुभयो, “यो प्राचीन धार्मिक धरोहरको अहिलेको बिजोग हेर्दा मन अड्याउने ठाउँ देखिन्न ।”

जिल्लाकै अति प्राचीन यो मन्दिरका लागि विगतमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष), तत्कालीन जिल्ला विकास समिति र भङ्गाहा गाविस (नगरपालिका बन्नुपूर्व)ले बेलाबेलामा योजना बनाएको बताए पनि ठाउँठाउँमा बालुवा थुपार्नबाहेक केही नगरेका सिद्धपुरका बासिन्दाको गुनासो छ । हुँदाहुँदा अब त सबैतिरको बेवास्ताले मन्दिर रहने नरहने स्थितिमा पुगेको सिद्धपुरका ३५ वर्षीय युवा विनोद मण्डल चिन्ता व्यक्त गर्नुहुन्छ ।

महाशिवरात्रि र साउन महिनाभरि यहाँ लाग्ने धार्मिक मेलाको ठेक्का लगाएर नगरपालिकाले आम्दानी लिने गरेपनि टाढाटाढाबाट आउने श्रद्धालु दर्शनार्थीका लागि खानेपानी, बासस्थान (धर्मशाला) र प्राथमिक उपचारसम्मको पनि कुनै व्यवस्था नभएको सिद्धपुरका बासिन्दाको रोष छ । “अब त मन्दिरसँगसँगै बडहरी नदीले सीतापुर धतियाटोल र सिद्धपुर बस्तीनै लाने डर छ, घरकै छेउमा नदी बग्न थाल्यो”, भङ्गाहा–५ कै सामाजिक, राजनीतिक कार्यकर्ता किशोरीसिंह राजपूतले भन्नुभयो, “बचाउका उपाय भने केही चालिएका छैनन्, आकाशमा बादल मडारिएको देखेपछि हामी जागेरै रात कटाउँछाँै ।” अहिले लाग्दो असारकै वर्षाले हावाकावा बनाएको बताउँदै सिंहले साउन÷भदौको मुख्य बर्खाकालमा के होला ? भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यसैबीच भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले मन्दिर परिसर, सीतापुर धतियाटोल र सिद्धपुर बस्ती बचाउका लागि छड्के बाँध्ने (ढुङ्गा जालीमा बाँधेर कटान रोक्न गरिएको काम) गरिँदै आइए पनि यो त्यति उपलब्धिमूलक नभएको स्वीकार गर्नुभयो । “पहिले पनि त्यतिखेरका निकायले धार्मिकस्थल बचाउन ठाउँठाउँमा छड्के त बाँधेका हुन्”, साहले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि पनि स्रोत साधनको सीमितताभित्र केही कामका प्रयत्न विभिन्न निकायको समन्वयमा गरिएको हो, तर बर्खे भेलले यी प्रयत्नलाई उपलब्धिविहीन बनाउँदैछ ।” यहाँ मन्दिर र बस्ती बचाउन छड्केले मात्र सम्भव नहुने देखिएको हुँदा अब दुईतर्फी तटबन्ध निर्माण नै स्थायी समाधान हुने साहको भनाइ छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको समान चासो आवश्यक रहेको साहले बताउनुभयो । नगरपालिकाको सीमित बजेट रकमले मात्र यस ठाउँमा उपलब्धिमूलक काम हुने अवस्था नरहेको साह बताउनुहुन्छ ।

मन्दिर परिसरको संरक्षणका नाममा बर्सेनि रकम विनियोजन भए पनि ठोस काम नहुँदा अब केही होला भन्ने विश्वास लाग्न छाडेको वरपरका सर्वसाधारण बताउँछन् । “सधैँजसो बर्सेनि बर्खा लाग्न थालेपछि केही थान जाली र ढुङ्गा झारिन्छन्, बाँध्न थालेजस्तो भनक पाइन्छ, तर उस्ताको उस्तै” मन्दिर नजिकको रामनगर बस्तीकी हीरादेवी दाहाल भन्नुहुन्छ, “टालटुले कनिका छर्काइले यहाँ केही हुने देखिन्न ।” यो प्राचीन धार्मिकस्थल र नजिकका बस्ती जोगाउन अब तटबन्धबाहेकका विकल्प नदेखिएको दाहालको थप भनाइ छ ।

यसअघि पनि मन्दिर संरक्षणका नाउँमा कैयन पटक योजना बनेको बताइए पनि काम भने नहुँदा अब कुरामा विश्वास लाग्न छाडेको सिद्धपुरका बासिन्दाको भनाइ छ । “कुरा त सुनेकौ हौँ नि, काम भएपो भयो भन्ने बुझ्नु”, सिद्धपुरका ७० वर्षीय सोगारथ साहले भन्नुभयो, “हामीलाई त कुरामा विश्वास लाग्नै छाड्यो ।” यस भेगका बासिन्दाले अब मन्दिर र नजिकका बस्ती जोगाउन स्थानीय तहले प्रदेश र केन्द्र सरकारसहितका अन्य सम्बद्ध निकाय घचघच्याउनुपर्ने आवश्यकता देखिएको औँल्याएका छन् । नगरपालिका नेतृत्वले तत्काल यसको पहलकदमी लिनुपर्ने आम सर्वसाधारणको सुझाव छ । –रासस

प्रतिक्रिया