सपनाको कथा : १९ वर्षसम्म मजदुर, २५ वर्षमा विश्वविजेता

(२०१५ डिसेम्बरमा सक्रिय खेलजीवनबाट गिल्वर्टो सिल्भाले सन्यास लिए । यी डिफेन्डरले २००१ देखि २०१० सम्म ब्राजिलबाट ९३ खेल खेल्दै ३ गोल गरेका छन् । यसक्रममा उनले विश्वकप, कोपा अमेरिका र दुई पटक फिफा कन्फेडेरेसन कप जिते । ६ वर्ष आर्सनल र तीन वर्ष पानाथिनाइकोसबाट खेलेका यी डिफेन्डरको सङ्घर्षको कथाप्लेयर्सट्रिब्युनमाछापिएको छ । सोही कथाकोअन्वेषण अधिकारीद्वारा गरिएको भावानुवाद ।)

तपाईं जब सपना पछ्याउनुहुन्छ, गन्तव्यमा पुग्ने धेरै बाटाहरु हुन्छन् । मलाई थाहा छ, विश्वास गर्नुस् ।


म बालखै थिएँ । मेरो चाहना केवल एथलेटिको मिनिरोबाट खेल्ने मात्र थियो । त्यो नभए पनि कुनै क्लबबाट व्यावसायिक रूपमा खेल्ने र परिवारलाई सहयोग गर्ने इच्छा थियो ।

तर म यो सबै सम्भव बनाउने ‘सुपर ट्यालेन्ट’ थिइनँ । म १९ वर्षको हुँदा पनि कम मात्र फुटबल खेलिरहेको थिएँ ।

म के गरिरहेको थिएँ ? चिनी कारखानामा काम !

मैले ठट्टा गरेको हैन । यो मेरो यथार्थ हो । यस उमेरमा धेरै खेलाडी ब्राजिलको राष्ट्रिय टिमबाट खेल्न थालिसकेका हुन्छन्, होइन र ? मैले भने सन् १९९६ सम्म कारखानामा साढे २ वर्ष काम गरँे । यस अवधिमा मैले कम्पनीको टिमबाट मात्रै खेलेँ ।

तपाईं के सोच्दै हुनुहुन्छ भन्ने मलाई थाहा छ । कारखानामा काम गरिहेको मानिस कसरी ६ वर्षभित्रै विश्वविजेता बन्नसक्छ ।

यस्तो हुन्न । होइन र ? तर मलाई विश्वास गर्नुस्, यो नसुनिएको कथा हो ।

कसरी यस्तो भयो, अब म भन्छु ।

७ वर्षको हुँदा मलाई जागिर खानुपर्छ भन्ने महसुस भयो । त्यो दिन म कहिल्यै बिर्सन्नँ ।

यसका लागि म कहाँबाट हुँ भनेर पनि तपार्इंले बुझ्नुपर्ने हुन्छ । लुसियानिया नामक गाउँमा म हुर्किएँ । त्यहाँ धेरै मानिस मजदुर छन् । त्यहाँ मेरा बाबु उखु काट्ने काम गर्थे । एक दिन उहाँले मलाई आफूसँगै लिएर जानुभयो । त्यहाँ सिजनको अन्त्य मनाउनका लागि कार्यक्रम राखिएको थियो र उनी मलाई त्यो देखाउन चाहन्थेँ ।

यो खुसीको दिन हुनुपर्ने थियो । तर मेरा बाबुले कति धेरै दुःख गर्नुहुन्छ भन्ने मैले देखेँ । मलाई अझै सम्झना छ । चर्को घाममा पसिना निकालेर उहाँ घण्टौँ काम गरिरहनु भएको थियो । म उहाँका लागि दुःखमनाउ गरिहेको थिएँ ।

अनि मेरो दिमागमा के आयो भने अब मेरो बुबालाई यस्तो दुःख गर्न दिन्नँ । उहाँलाई यस्तो जीवन बाँच्न दिनेछैन, त्यो जीवन अरू म बाँच्नेछु ।

हाम्रो परिवारमा चार छोराछोरीमध्ये म एक्लो छोरा हुँ । यसको अर्थ एक दिन मैले परिवारको जिम्मेवारी काँधमा लिनुपर्छ भन्ने हो । म यदि गाउँमै बसिरहेको भए मेरो भविष्य कस्तो हुन्थ्यो होला ? तपाईं अनुमान लगाउन सक्नुहुन्छ । गाउँमै बसेर चर्को घाममा उखु काटिरहेको हुन्थेँ ।

स्पष्ट रूपमा मैले त्यो देखेँ, मेरो निधारमा मेरो भविष्य खेलिरहेजस्तो थियो । अनि मलाई थाहा थियो, मैले परिवर्तन गर्नैपर्छ ।

तर कहाँ ? मैले चिनेको त मेरो गाउँ मात्रै थियो ।

बाहिरी दुनियाँसँग थोरै सम्पर्क हुन्थ्यो रेडियोमार्फत । मेरा बाबु एथलेटिको मिनिरोका ठूलो फ्यान हुनुहुन्थ्यो । त्यसैले उहाँका एक भाइसँग बसेर म उक्त टोलीको खेलको कमेन्ट्री घण्टौँसम्म सुन्थेँ । उनी पनि फ्यान थिए । कहिलेकाहीँ सिग्नल कमजोर हुँदा कमेन्ट्री सुन्नका लागि मैले कानलाई नै रेडियोमा लगेर जोड्नुपर्थ्यो ।

यो पनि
रङ्गशालाबाहिर कवाडी उठाउने ती कान्टे, विश्वविजेता यी कान्टे !
टोनिन्हो केरेजो, जोआ लेटी, निलिन्हो, रेइनाल्डो…

वाह्… !

एथलेटिको मिनिरोको समर्थकका रूपमा यी नामहरू मेरो कल्पनामा आउँथे । म मिनिरोले खेलेको हेर्न जानका लागि मर्न तयार थिएँ ।

त्यो ठूलो भीड

सेरेजो…

से–रे–जो

मेरा ठूला आदर्श ।

यी खेलाडीहरू मेरा लागि सुपर हिरो समान थिए । कल्पना गरौँ, उनीहरूजस्तै खेल्न पाउँदा कस्तो होला ? कल्पना गरौँ, उनीहरूजस्तै बन्न पाउँदा कस्तो होला ?

अवश्य नै यो असम्भवजस्तो थियो । उनीहरू सायद अर्कै ग्रहमा खेलिरहेका पनि हुनसक्थेँ । मेरो भर्सनको मिनिरो चाहिँ मेरो विद्यालयको धुले मैदान थियो । यो ट्रेन लाइन नजिकै थियो । ट्रेनबाट फालिएका प्लास्टिक वा कपडाबाट हामी फुटबल बनाउँथ्यौँ ।

रमाइलो थियो किनभने जुक्विन्हा नामक मेरो साथीले एक दिन मलाई भन्यो, ‘साथी, तिमी कुनै दिन एथलेटिकोका लागि खेल्नेछौँ ।’

मैले उनलाई विश्वास गरिनँ । मलाई लाग्थ्यो, ऊ केवल पागल भएको छ ।

इमानदारसाथ भन्नुपर्दा यो समय मैले फुटबलर बन्ने लक्ष्य राखेको थिइनँ । त्यो दुनियाँ निकै टाढा थियो । म केवल राम्रो अङ्क ल्याउन चाहन्थेँ र आफू रमाउने जागिर खोज्न चाहन्थेँ । मेरो सपना काठ काट्ने मेसिन चलाउने अपरेटर बन्ने थियो ।

तर यसपछि केही नाटकीय परिवर्तन भयो । १९८९ मा म १२–१३ वर्षको हुँदा मेरा बाबु र अन्य मजदुरहरू युनियनको दबाबले हडतालमा गर्न बाध्य भए । यही कारण उनीहरूमध्ये अधिकांशको जागिर गयो । अनि मेरो परिवार नजिकैको सहर लागोआ डा प्राटामा स¥यो । मलाई फुटबल खेल्ने अरू धेरै अवसर मिले । म ठूलो हुँदै गएपछि स्थानीय एम्योच्योर प्रतियोगिताहरू खेलेँ ।

१५ वर्षको भएपछि एक दिन म पहिलोपटक मिनास गेराइस (दक्षिणपूर्वी ब्राजिली राज्य) बाट बाहिर निस्किएँ । म एथलेटिको मिनिरोमा ट्रायलका लागि जाँदै थिएँ ।

म मेरो सपनाको बाटोतर्फ छु भन्ने महसुस भयो । सबै कुरा उत्साहप्रद थिए । जब मैले बेलो हेरिजोन्टे देखेँ तब आश्चर्यचकित भएर हेरेँ । अन्य हजारौँ युवासँगै म पनि यहाँको ओलम्पिक भिलेजमा बसेको थिएँ ।

मैले पहिलो चरणको ट्रायल पास गरेँ । यसपछि अर्को चरण पनि पास गरेँ । म अन्तिम दिनसम्म पनि यहाँ बसेँ । त्यसपछि उनीहरूले मलाई बाहिर निकाले ।

यो क्षण निकै कठोर थियो वा ठीक छ… कम्तीमा यस्तो हुनुपर्ने थियो । इमानदार भएर भन्नुपर्दा यसबारे त्यति धेरै सोच्ने मौका पाइनँ ।

किनभने छोटो समयमै मैले अमेरिका एमजीको युथ एकेडेमीबाट खेल्न पाएँ । त्यसपछि मिनिरोमा अस्वीकृत हुँदाका सबै कुरा अचानक बिर्सिएँ । म धन्य थिएँ । म आफ्नो करियरको बाटोमा थिएँ र मेरो पूरै परिवार यसको खुसी मनाइरहेको थियो । अन्ततः मैले ती व्यक्तिहरूलाई सहयोग गर्ने मौका पाउँदै थिए जसको मलाई सबैभन्दा धेरै ख्याल थियो ।

 

खेतीको काम अब गर्नु परेन । तातो घाममा मजदुरी अब गर्न परेन । म अब कोन्टाजेमस्थित अमेरिका युथ एकेडेमीमा बस्न थालेँ । केही समयका लागि यो परिस्थिति ठूलो थियो । तर विस्तारै मलाई घरको यादले सताउन थाल्यो । म घरबाट तीन घण्टाको ड्राइभिङ दूरीमा बसिरहेको थिएँ । हामीसँग कार थिए, बस भाडा तिर्ने क्षमता मेरा बाबुको थिएन । त्यसकारण म उनीहरूलाई भेट्न असमर्थ थिएँ ।

यसपछि मेरी आमाको स्वास्थ दिनप्रतिदिन बिग्रँदै गयो । मेरी हजुरआमाको मृत्यु अन्तिम बिन्दु थियो ।

मैले के सोचिरेहेको थिएँ भने यदि म परिवारको सहयोगका लागि घर फर्कन सकिनँ र केही खराब भइहाल्यो भने मैले आफूलाई जीवनभर माफी दिन सक्नेछैन ।

केवल ५ महिनामै म घर फर्किएँ । खाली हात घर फर्किएँ ।

त्यसपछि कारखानामा काम थालेँ । मैले मेरा प्रियजनहरूलाई सहयोग गर्नुपर्ने थियो, होइन र ?

त्यहाँ दुई वर्षभन्दा लामो समय काम गरेपछि अर्को एउटा अवसरको खाँचो मैले महसुस गरेँ । अमेरिकामा आबद्ध हुनका लागि मैले अर्को प्रयास गरेँ । आखिर, उनीहरूले मलाई निकालेका थिएनन्, मैले नै छाडेको थिएँ ।

यता कारखानामा मेरा मालिकहरूले मलाई बढुवा गर्ने वाचा गरेका थिए, जो कहिल्यै पूरा गरेनन् । यसले पनि मलाई जागिर छाड्न प्रेरित ग¥यो ।

त्यसैले मैले अमेरिकामा अवसरको अर्को ढोका ढक्ढ्क्याएँ, म निकै प्रेरित थिएँ ।

यतिबेला म १९ वर्षको थिएँ । मलाई थाहा थियो, यो अन्तिम मौका हो ।

चार महिनापछि म अमेरिकाको व्यावसायिक खेलाडी भइसकेको थिएँ ।

साथी, सपना पूरा भएको थियो । भित्री रूपमा मलाई यो विश्वास गर्न गाह्रो परिरहेको थियो ।

तर यसपछि पनि म अँध्यारोबाट गुज्रिएँ, झन्डै फेरि फुटबल छाड्नुपर्ने अवस्था निम्तिएको थियो ।

१९९९ मा जब अमेरिकासँगको मेरो सम्झौता सकिनै लागेको थियो । क्रुजिइरोले मलाई सम्झौता गर्ने प्रयास गर्यो ।

 

उनीहरूसँग निकै राम्रो टोली थियो । उक्त टोलीले ब्राजिलियन च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो । यति ठूलो क्लबले एजेन्टमार्फत मलाई प्रस्ताव गर्यो, उनीहरूले भनेको तलबले मेरो जीवन नै परिवर्तन हुने थियो ।

त्यसैले मैले क्रुजिइरोसँग प्रि–कन्ट्याक्ट (केही समयपछि आउनेगरी) सम्झौता गरेँ । तर यो कथा पत्रिकामा लिक भयो । अमेरिकाले पत्तो पायो र मेरो जीवन नरकीय बन्यो । उनीहरू मलाई क्रुजिइरो जाओस् भन्ने चाहँदैन थिए, उनीहरूले ठूलो समस्या सिर्जना गरिदिए । त्यसले मलाई खल्बल्याइदियो ।

म लुक्नका लागि बाबु बस्ने घरमा गएँ । मैले उहाँलाई भने, ‘म फेरि कहिल्यै खेल्नेछैन । म यस्तो चाहन्न, शान्ति चाहन्छु ।’

यो निकै खराब समय थियो । जब धुलो हट्यो, तब अमेरिकाका अध्यक्ष मार्कस् सलुमले मलाई भेट्न बोलाए । त्यहाँ एथलेटिको मिनिरोका निर्देशक अलेक्स्यान्द्रे कालिल पनि प्रत्यक्ष उपस्थित थिए । कस्तो लाग्थ्यो भने उनीहरू मेरो स्थानान्तरणबारे छलफल गरिरहेका छन् ।

त्यसपछि मलाई तर्साउनेगरी कालिल बोल्न थाले । एथलेटिकोसँग मैले सम्झौता नगर्दा भने के–के हुनसक्छ भनेर सम्झाए ।

हाहाहाहा…

थाहा छ, यो कालिलको स्वभावै थियो ।

फर्किएर हेर्दा यो रमाइलो लाग्छ किनभने मलाई एथलेटिकोसँग सम्झौता गर्नका लागि केही उत्प्रेरणा आवश्यक थिएन ।

अवश्य पनि क्रुजिइरोसँग राम्रो टोली थियो । तर एथलेटिको मेरो जीवनको क्लब थियो । धेरै उतार–चढावपछि सन् २००० मा आएर मैले एथलेटिकोसँग सम्झौता गरेँ ।

र अहिले थोरै गोप्य कुरा खोल्ने समय आएको छ ।

जहिले पनि मिनिरोस्थित रङ्गशालामा खेल्दा मैले एउटा कर्मकाण्ड पालना गर्ने गरेको थिएँ । जब म रङ्गशाला पुग्थेँ, तब गेटमा जम्मा भइरहेका समर्थकहरूको महासागर देख्थेँ ।

रंगशाला पुनर्निर्माण हुनअघिको ड्रेसिङ रुममा मैले समर्थकहरू चिच्याएको सुन्थेँ । स्ट्यान्डबाट यो रुम नजिकै थियो र हात हल्लाउँदै चिच्याउँदै समर्थकहरू कुर्सीतर्फ लागेका हुन्थे, म उनीहरूले गाएको मीठो गीत सुन्न झ्याल खोल्थेँ ।

इमानदार भएर भन्नुपर्दा म भावुक हुन्थेँ र यो निकै सुन्दर थियो ।

तर एथलेटिको मिनिरोका लागि खेल्दा यस्तो थियो भनेको होइन । यो एथलेटिकोविरुद्ध अमेरिकाका लागि खेल्दाको रुटिन थियो ।

अब तपाईं आफैँ कल्पना गर्नुस्, एथलेटिकोबाट खेल्न पाउनु मेरा लागि कति महत्त्वपूर्ण थियो होला ? मिनिरो मेरो गृहमैदान बन्दा कस्तो हुन्थ्यो ?

मानिसहरूको त्यो सागरले जब मेरा लागि गाउँछ तब कस्तो हुन्छ ?

यी कुरा सम्झँदा त म अहिले पनि खुसी हुन्छु ।

यसलाई व्याख्या गर्ने एउटै तरिका यो सपना थियो भन्ने हो । मेरा लागि मात्र होइन, मेरो परिवारका लागि पनि, जो एथलेटिकोको समर्थक थियो ।

एथलेटिकोबाट खेल्दाका साढे २ वर्ष मेरो जीवन अति सुखमय थियो ।

तर योभन्दा ठूला ठूला सपना मेरा आसपास थिए ।

सुन्नुस्, ब्राजिलियन एयरफोर्सका पाँचवटा मिरेज फाइटरले स्कर्टिङ गरेर मलाई कुनै दिन ब्रासिलिया लगिनेछ भन्ने कहिल्यै अपेक्षा थिएन ।

त्यसो त म विश्व च्याम्पियन बन्नेछु भन्ने पनि कहिल्यै विश्वास थिएन ।

मैले सम्झिएको पहिलो विश्वकप १९८६ को थियो । हामीसँग घरमा टिभी थियो तर ब्ल्याक एन्ड ह्वाइट । त्यही कारण कुन जर्सी लगाएको टिम कुन थियो भनेर भन्न सक्दिनँ । मेक्सिको कहाँ पर्छ भन्ने पनि मलाई थाहा थिएन ।

तर कमेन्टेटरले जब ‘ब्राजिल…’ भनेर चिच्याउँथे अनि म भावुक हुन्थेँ । पहिलो पटक यस्तो सुन्दा मेरो मुटुको धड्कन भिन्दै लयमा चलिरहेजस्तो महसुस हुन्थ्यो ।

यदि कसैले त्यतिबेला तिमी १६ वर्षपछि विश्व च्याम्पियन हुन्छौँ भनिदिएको भए सायद मैले तिमीहरू जुक्विन्हाका साथी हौ भनेर सोध्ने थिएँ ।

सन् २००२ को विश्वकप जापान र कोरियामा थियो । स्मार्टफोनको पप अप सुरु भइसकेको थिएन, यतिबेला हाम्रो खेलको अर्थ ब्राजिली जनताका लागि के हुन्छ भनेर ठ्याक्कै कल्पना गर्न हामीलाई गाह्रो थियो ।

फिलिपो (प्रशिक्षक फिलिपो स्कोलारी) सँग उपाय थियो । जर्मनविरुद्धको फाइनलअघि उनले हामीलाई ब्राजिलको आदिवासी गाउँको भिडियो देखाए, जहाँ हाम्रो एउटा खेल हेर्दै उनीहरू गोलको खुसीयाली मनाइरहेका थिए ।

उनीहरू पागल हुँदै थिए, यो अद्भूत दृश्य थियो ।

यसले हामीमा ऊर्जा भर्यो । हामी विश्वको अर्को कुनामा ५० दिनसम्म भिडिरहेका थियौँ । हामीले परिवार र साथीभाइलाई मिस गरिरहेका थियौँ र अब हामी विश्वकप जित्नका लागि केही घण्टाले मात्रै टाढा थियौँ ।

त्यो बैठक सकिएपछि हामी आफूसँग ट्रफी लिएर ब्राजिल फर्कंदैछौ भन्ने महसुस भयो ।

यही भयो र म यसलाई कहिल्यै बिर्सन्नँ । अन्तिम सिट्ठी जब बज्यो, हामी पागलजसरी वरपर दौडियौँ । मलाई खिच्नका लागि क्यामेरा आइरहेको सम्झना मसँग छ । म निकै भावुक थिएँ, मेरो परिवारले कसरी खुसी मनाउँछ भनेर सोचिरहेको थिएँ ।

‘आमा म घर फर्कंदैछु, विश्वविजेता बनेर !,’ यस्तै ।

 

रातभर पार्टी जम्यो । अनि छिट्टै हामी घर जानका लागि प्लेन चढ्यौँ ।

हाम्रो प्लेन ब्रासिलियातर्फ लाग्यो । आकाशमा मैले हामी आसपास उडिरहेका फाइटर जेटहरू देखेँ । यो क्षण मैले ब्राजिली हुुनमा निकै गर्व गरेँ । यस विश्वकपअघि मैले राष्ट्रवाद सुनेको थिएँ, अहिले मैले विश्वसामु ब्राजिलको प्रतिनिधित्व गरेँ । र, मैले आफ्ना आदर्श व्यक्तिहरूसँगै रहेर यो गरेको थिएँ ।

रोनाल्डो, रिभाल्डो, काफु, रोनाल्डिन्हो, डिडा, मार्कोस, रोक्यु जुनियर, इडमिल्सन… अचम्म भएन त !

त्यसपछि हामी ब्रासिलिया ल्यान्ड भयौँ, थकान के हो भनेर मैले बिर्सिएको थिएँ । हामी चर्को साउन्ड सिस्टसहितको एउटा ठूलो बसको छतमा चढ्यौँ र ठूलो भिडले हामीलाई घेरेको थियो ।

साथी, मैले आफ्नो जीवनमा यति धेरै मानिस कहिल्यै देखेको थिइनँ, झन्डै म तर्सिएँ !

पाँच पटकको विश्व च्याम्पियनलाई स्वागत गर्न सडकमा ५ लाख मानिसहरू थिए । मानिसहरू ट्राफिक साइन र रुखमा चढेर हेरिरहेका थिए । त्यस्तो पागलपन थियो ।

यतिबेला मैले देशको सपनाको हिस्सा बनेको छु भन्ने महसुस गरेँ ।

त्यसपछि मैले आफू काम गरेको कारखाना अगाडि बस रोक्न इसारा गरेँ । त्यहाँका कर्मचारीहरूले मलाई हेर्नका लागि सकेको गरेँ, कोही साइकलमा, कोही ट्रक त कोही घोडामा थिए ।

 

हाहाहाहा… !

अझै, ठूलो खुसीयाली म बेलो होरिजोन्टे फर्किएपछि भयो । एथलेटिको मिनिरोले मलाई लिनका लागि एयरपोर्टमा फायर ट्रक पठाएको थियो । म क्लबमा फर्किपछि अध्यक्ष रिकार्डो गुइमरेसले स्वात गरे । अनि, म ट्रेनिङ सेन्टरमा प्रवेश गरेँ, त्यहाँ कर्मचारीहरूले मेरो नाम लेखेर तयार गरेको विशेष ब्यानर देखेँ ।

यस्तो न्यानोपनको अर्थ मेरा लागि के थियो भनेर व्याख्या गर्न सक्छु कि सक्दिनँ तर प्रयास गर्नेछु ।

अवश्य पनि उपाधिले इतिहास बनाउँछ र समर्थकहरूलाई प्रेरित गर्छ । तर व्यावसायिक फुटबलरको जीवन त्योभन्दा ज्यादा हुन्छ । बाटोमा तपाईंले को भेट्नुहुन्छ भन्नेमा निर्भर गर्छ, मैले एथलेटिको मिनिरोमा केही अद्भूत मानिसहरू भेटेँ ।

समर्थकहरूले टिमलाई नयाँ उचाइमा धकेल्न सक्छन् तर पर्दाबाहिरका मानिस पनि क्लबका लागि उत्तिकै आवश्यक हुन्छन् । धेरै अर्थमा हामीले उनीहरूसँगै खेल खेल्छौँ ।

उनीहरूबिना म अर्को ट्याकल गर्न वा निर्णायक पास दिन तयार हुदिनँ । म हाम्रा किन म्यान स्वर्गीय सियु वाल्टरजस्ता व्यक्तिबारे कुरा गर्दैछु । बेल र डु बारे कुरा गर्दैछु र यस्ता धेरै धेरै मानिसको कुरा गर्दैछु ।

ती व्यक्तिहरू सायद टोनिन्हो सेरेजो, पाउलो इसिडोरो र रेइनाल्डोजस्तो प्रसिद्ध छैनन् होला तर उनीहरूले पनि एथलेटिको मिनिरोको इतिहासमा आफ्नो स्थान बनाएका छन् ।

त्यसैले मेरो हृदयबाट तपाईंहरू सबैलाई धन्यवाद भन्न चाहन्छु ।

त्यस वर्ष एथलेटिको मिनिरो छाड्न मलाई कति गाह्रो भयो भनेर तपाईंले कल्पना मात्र गर्न सक्नुहुन्छ । मैले ९ वर्षसम्म युरोपको यात्रा गर्दै थिएँ, धेरैजसो समय आर्सनलमा । यो पनि अद्भूत रह्यो ।

४९ खेलसम्म हामी अपराजित रह्यौँ ।

त्यो हाइबरी (आर्सनलको रङ्गशाला भएको ठाउँ ।)

 

द इन्भिन्सिबल्स (अजेय : २००३–०४ को सिजन अपराजित रहेको इङ्लिस प्रिमियर लिग जित्ने आर्सनलको टोलीलाई दिइएको उपनाम)

४९ खेलको अपराजित यात्रा । त्यसपछि ग्रिसमा पानाथिनाइकोसबाट लिग उपाधि ।

ग्रेमियो अनि फेरि २०१३ मा एथलेटिको मिनिरोमा फिर्ती ।

अन्तिम अध्यायबारे जब सम्झन्छु तब मेरा आँखा डरले भरिन्छन् ।

म आफ्ना सबै पानाहरू यहाँ खोल्न चाहन्छु । कोपा लिबर्टाडोरेसविरुद्धको फाइनलपछि क्रुजिइरोविरुद्ध खेल्दा मेरा खुट्टामा चोट लाग्यो । यसपछि एथलेटिको क्लब र मबीच मुद्दा चलिरहेको छ । मैले अवकाश लिने अनुमान लगाइएको थियो किनभने म आजसम्म ठीक हुन सकिनँ ।

तर यी कुनै पनि कुराले क्लबप्रतिको मेरो ठूलो भावनालाई पर लैजान सक्दैनन्, विगत वर्षहरूमा मैले सामना गर्नुपरेका बेइज्जतीपूर्ण आलोचनाले पनि । माथिका सबै असहमति हुँदाहुँदै मेरो जीवन र परिवारमा क्लबको जे महत्त्व छ त्यसका लागि भित्रैबाट धन्य छु । र, कुनै पनि कुराले कहिल्यै यस क्लबसँगको मेरो स्नेहलाई हटाउने छैन ।

मलाई अझै याद छ, जतिबेला म ग्रेमियोमा थिएँ र एथलेटिकोले क्लब फर्कन प्रस्ताव गरेको थियो । मैले मेरी श्रीमती जनैनासँग सल्लाह मागेको थिएँ । ‘तिम्रो हृदयले जे भन्छ, त्यही सुन,’ उनले भनिन् ।

केही दिन मैले यसबारे सोचेँ । र, मेरो स्मरणले मलाई त्यही समयमा फर्कायो ।

उखु काट्दै गरेका मेरा बाबु ।

एथलेटिको मिनिरोको समर्थक मेरो परिवार ।

जुक्विन्हा ।

से–रे–जो !

र, मैले अन्त्यमा जनैनालाई भने, ‘हामी बेला होरीजोन्ट फर्किएर जाँदैछौँ । हामी कोपा लिबर्टाडोरेस जित्दैछौँ ।’

हामी फर्किएपछि के भयो भन्ने तपार्इंलाई सायद थाहा छ । पाराग्वेमा हामी पराजित भए पनि (फाइनलको पहिलो लेगमा ओलम्पियासँग अवे मैदानमा २–० ले भएको एथलेटिको होम ग्राउन्डमा दोस्रो लेगमा २–० ले विजयी) फाइनलमा पेनाल्टी सुटआउटमा हामीले जित्यौँ, एथलेटिको मिनिरो दक्षिण अमेरिकाको च्याम्पियन बन्यो ।

मेरो परिवार पागल बन्यो । मिनिरो खुसीले उन्मुक्त भयो । ब्राजिलभर हाम्रा समर्थकहरू टिभी अगाडि खुसी मनाइरहेका थिए ।

लागोआ डा प्राटामा, कम्तीमा एक बालक, रेडियोमा खेल सुनेपछि हावामा आफ्नो हात हल्लाएर कुदिरहेको होस् भनेर मैले सोचेको थिएँ ।

-रातोपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार