Friday 20th of September 2024

सर्लाहीमा जेसिबीले ठक्कर दिई वडाध्यक्षको हत्या, दुई पक्राउ

0 Shares

सर्लाही ः सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षलाई जेसिबीले दिएको ठक्कर मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका वडा नम्बर ३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शक्रवार राति हत्या भएको हो ।

वडाध्यक्ष श्रेष्ठको जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या गरिएको प्रहरीले जनाएको छ ।

भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो ।

राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएको बुझिन्छ ।

राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भयो ।

सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए ।

पूर्व योजना नभई आवेशमा आई घटना भएको देखिएको एसपी राठौर बताउँछन् ।

घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा र्पुयाएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका ३, कै ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका १, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान ५ः४० बजेतिर लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले बताए । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

 

प्रतिक्रिया