जनकपुरधाम : करिब डेढ बर्ष अगाडी प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित एक पालिकामा अधिकृतको रुपमा कार्यरत रामकुमार महतो सर्लाहीको सिडिओ भएर आएका छन् ।
गत वि.सं. २०७६ साल पुष ७ गते सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश साँसद सँजय कुमार यादवले फोन गरी हातखुट्टा काटिदिने धम्की दिएका महतो अहिले सर्लाहीको सिडिओ बनेर आएका छन् ।
२०७६ साल पुस ०८ गते आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै सिडिओ गुहारेका महतो अहिले आफैं सर्लाहीको जिल्लाधिस (सिडिओ) बनेर आएका छन् । यसअिघ कँचनपुरको सिडिओ भएर काम गरेका महतोलाई सर्लाही सरुवा गरिएको हो । सर्लाहीको कविलासी नगरपालिकामा २०७६ सालमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेको बेला प्रदेश साँसद यादवले उनलाई आफ्नो इसारामा काम नगरे हातखुट्टा काटिदिने धम्की दिएका थिए ।
धम्की दिएको अडियो
त्यतिबेला सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रहेका मोहन बहादुर जिसीलाई निवेदन लेख्दै जीउज्यानको सुरक्षाको माग गर्दै सिडिओ कार्यालय पुगेका अधिकृत महतो आज सोही कार्यालयका प्रमुख बनेर आएका छन् ।
उप–सचिव स्तरका कर्मचारी रहेका महतो सुरुमा कँचनपुर जिल्लाको सिडिओको रुपमा नियुक्त भएका थिए । गृहमन्त्रालयले धनुषा जिल्लाका रामकुमार महतोलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएर पठाएको छ । जुन जिल्लाबाट उनी दबाबमा काज सरुवा भएका थिए आज सोही जिल्लाको सिडिओ भएर आएपछि बुद्धिजीवीहरुले यसलाई गहिरो रुपमा लिएका छन् ।
प्रदेश साँसद यादवको गाली खाएका महतो जिल्लाकै प्रमुख बनेर आएका हुन् ।
को हुन रामकुमार महतो ?
गत वर्षको भदौमा मात्र सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकार भन्दा बाहिर गएको अभिव्यक्ति दिएकोमा प्रजिअ नुरही खतिवडा प्रति असन्तुष्ट गृह मन्त्रालयले खतिवडाको ठाउँमा महतोलाई गृहमन्त्रालयले प्रजिअको जिम्मेवारी दिएर पठाएको थियो ।
लोकसेवा आयोग मार्फत पियनबाट राष्ट्र सेवा सुरु गरेका रामकुमार महतो सिडिओ बन्न सफल भएका हुन् । धनुषा जिल्ला स्थायी घर भएका ४१ वर्षीय महतोले चार वटा विषयमा मास्टर्स गरेका छन् । उनी पियनबाट निजामती सेवा प्रवेश गरी सहसचिव हुन सफल अपवाद व्यक्ति हुन् ।
४ ओटा विषयमा मास्टर्स गरेका महतो पियनदेखिको यात्रालाई सिडिओ, सहसचिवसम्मको यात्रालाई निरन्तरता दिएका छन् । -न्यूज ब्यूरो