गौशाला / गुणस्तरहीन कल्भर्ट निर्माण गरेको भन्दै गौशाला नगरपालिका वडा नं. ४ का स्थानियहरुले निर्माण कार्य अवरुद्ध गरि विरोध जनाएका छन । आर्थिक बर्ष २०७७ / ०७८ को वडास्तरीय योजनाअन्र्तगत ११ लाखको लागतमा निर्माण गरिने सो कल्भर्ट निमार्णको क्रममा कमसल एवम गुणस्तरहीन तवरले निर्माण कार्य संचालन भएको भन्दै स्थानियहरु निर्माण कार्यको विरोध जनाएका छन ।
कल्भर्ट निर्माण कार्य कमसल तवरले काम भएकै कारण ह्यामपाईप राख्नुभन्दा अगाडि नै निर्माण गरिएको पिसिसि भक्तिएपछि स्थानीयहरु अवरोध गरेका हुन । कल्भर्टको निर्माण कार्य पाँच स्थानमा गर्नुपर्ने सम्झौता भएकोमा हरेक स्थानमा यसरी नै कमसल काम हुँदा स्थानीयहरु विरोध जनाएका हुन ।
उपभोक्ता समितिका अध्यक्ष जैसी साहले खाल्टोमा जमेको माटोपानीमै सिमेन्टको भाग कम र बालुवाको भाग बढी राखि मिश्रण बनाई निर्माण कार्य गरेपछि सो निर्मार्णाधिन कल्भर्टको तल्लो भाग एक साता नहुदै भत्किएको स्थानीयहरुको भनाई रहेको छ । यस्ता गुणस्तरहीन काम रोक्नका लागि आफुहरु वारम्वार विरोध जनाएतापनि उपभोक्ता समितिका केही सदस्यको हैकमवादी र दादागीरीकै कारण निर्माण कार्य समितीले जारी राखेको स्थानियहरुले संचारकर्मीसमक्ष बताए ।
निर्माण कार्य गुणस्तरीय नभएको र बाटोको अभावको कारण बाटो हिडन समेत सास्ती भएको स्थानीय रजिन्द्र साहले बताए । हिडनु पर्दा पनि हिलोमय भई गन्तव्य सम्म पुग्नुपर्ने बाध्यता रहेको साह बताउछन । पटक पटक बाटो निर्माण तथा अन्य कामकाजको निर्माणमा स्थानीयहरुले विरोध जनाए पनि नगरपालिकाले वेवास्ता गरेपछि उपभोक्ता समितिको मनोबल बढेको उनको बुझाई रहेको छ ।
यस सम्बन्धमा वडा अध्यक्ष रामबाबु साहले आफु वारम्वार गुणस्तरयुक्त काम गर्नका लागि निर्देशन दिदा समेत उपभोक्ता समितीले यसरी हतारमा गुणस्तरहीन काम गर्दै आएको प्रतिक्रिया दिएका छन । निर्माण गर्नका लागी वजेट पुस्तिकामा उल्लेख भए अनुसारको भौतिक पूर्वाधार कल्भर्ट निर्माण नभएको साहले बताए ।
अषाढ महिनामा बजेट कसरी सकाउने चटारो लगी परेको छ चाहे राम्रो काम भए पनि नभए पनि जनताको कुरा सुन्ने नगरपालिकालाई फुर्सत छैन । राम्रो सडक र गुणस्तरीय सडकमा हिड्ने सपना जनताको कहिले पुरा हुनसकेन । पटक पटक रुपान्तरण अनलाईनमा यस्ता विकास निर्माणको घटनाको सम्बन्धमा समाचार प्रकाशन भएतापनि नगरपालिका मौन रहनु जनमानसको लागि विडम्बनाको विषय रहेको छ । समाचार सम्प्रेषणपूर्व प्रतिक्रिया लिदा जहिले नि नगरपालिका स्रोतबात एउटै जवाफ आउछ ‘हामी अनुगमन गरिरहेका छौ, गुणस्तरहिन कामको ल्याव परीक्षण गरी मात्र भुक्तानी गर्छौ ’ तर त्यो भनाई संवादमै सिमित हुन्छ । लागु र कार्यान्वयन कहिले नभएको पाईएको छ ।
विकास निर्माणको लागि जुनसुकै भौतिक पूर्वाधारको विकासको सवालमा कमिशनको खेल, ठेकेदारको दादागिरी, सरोकारवालाको फितलो अनुगमन लगायतको कारणले गर्दा नै जनताले तिरेको करको चरम दुरुपयोग हुँदै आएको पाईएको छ ।
यता सोही टोलमा केहि दिन पूर्व उपभोक्ता समितिको कार्यको विरोध जनाउँदा स्थानीय उपर हातपात गर्न खोजेको भिडियो पनि यसअघि हामीहरुले यस अनलाईनमा सम्प्रेषण गरिसकेका छौ । विकास हुनु भनेको खुशीको लहर छाउनु हो तर गौशाला नगरपालिकाले गरेको विकासकोे कामले नगरवासी चिन्तित बनेका छन । रोड ढलान हुँदा विजुलीको पोलहरु बिचै बाटोमा छोडी अधिकांस ठाउँमा रोड ढलान भईरहेको कुरा सबैमा सर्वादित नै छ ।
नगरपालिकाबाट आएको प्रतिनिधिले सडक ढलान शुरु हँुदा आफुहरुले जाँच गर्दा राम्रो र गुण्स्तरीय बनाएको पाएका थियौै तर पछि आएर केही त्रुटिहरु भेटाएका छौ भनी बताए । पटक पटक गौशाला नगरपालिकामा सडक निर्माणमा गुणस्तरहिन पाए पनि नगरपालिकाले बिना चेकजाँच नै नगरी भुक्तानी गरे पछि यस्तो अवस्था सिर्जना भएको हो । नगरपालिकाले उपभोक्ता समिति चयन गरी विकास गर्दा स्थानीयहरु आफैले राम्रो काम गर्ने भनी उपभोक्ता समिति बनाएर विकाश निर्माणको काम राम्रो र गुणस्तरीय हुने भने पनि उपभोक्ता समितिहरु भन्ने थोरै लगानीमा खर्चेर बचेको पैसा सबैमा बाँडफाँट गरीने मनसायले काम गर्दा पटक पटक विवाद भएको छ । उपभोक्ता समितिले आफ्नो गाउँघरको विकासको नाममा विनास भएको देखिएको पाईएको छ । यसमा स्थानीय कर्मचारी र जनप्रतिनिधिहरुको कमिशन र बारगेनिङ्गका कारण विकासका काममा यस्तो विवाद हुनु स्वभाविक नै छ भनी स्थानीय सुनाउँछन ।