Friday 4th of October 2024

सुजिता हत्या प्रकरणमा डिआइजिले भने ‘दोषी उम्किन पाउंदैन’

0 Shares

महोत्तरी : महोत्तरीको भ्रमरपुराबाट एक महिना देखि लापता रहेको सुजिता ठाकुरको अवशेष भ्रमरपुरा ७ स्थित श्रीमान मुकेश ठाकुरको खेतमा फेला परेको थियो तर प्रहरीले शव सुजिताकै भए नभएबारे पुष्टि हुन बाँकी रहेको जनाएको छ। भेटिएको अवशेष फोरेन्सिक जाँचको लागि काठमाडौँ पठाईएको छ ।

सुजिताको शव उक्त ठाउँबाट अन्यत्र सारिएको पिडित परिवारले शंका व्यक्त गरेका छन् र छोरी सुजिताको निस्पक्ष जाँचको लागि आज १७ गते आमाबुवा प्रदेश डिआजि उमेश रंजितकार संग भेट गरेका छन् । भेटघाटमा बुवा कामेश्वर पाण्डेले महोत्तरी जिल्ला प्रहरीले सुरु देखि छोरीको अनुसन्धानमा गम्भीर नभएको र जाहिरी दर्ता नगरेको प्रति दुखासो पोखेका छन् ।

उक्त भेटघाटमा अभियन्ता सरोज रायले सुजिता हत्या प्रकरण ‘cold blooded murder’ हो र यसमा अवशेष लगायत अन्य प्रमाणको आधारमा प्रहरीले किटानी जाहेरी दर्ता गरिदिन डिआइजि रंजितकारलाई आग्रह गरेको छ । साथै, सुजिताको छोरा-छोरी यस हत्या प्रकरणको प्रत्यक्षदर्शी भएको हुनाले अभियुक्त परिवार उनीहरु लाई पिडित परिवारसंग टाढा राख्दै आएको र अहिले आएर कोरोना लक्डाउनको बीच एउटा विधालयको होस्टेलमा गलत नियतले राखेको जानकारी गराउंदै निजहरुलाई पिडित पक्षको कस्टडीमा दिलाई दिन अभियन्ता रायले आग्रह समेत गरे ।

अभियन्ता गुन्जा रायले सुजिताको हत्या गरि शव अभियुक्त परिवारले आफ्नै खेतमा राखेको जानकारी महोत्तरीको एसपीलाई असार ४ गते मौखिक रुपमा गराउँदा पनि एसपीले गम्भीरताले नलिएको आरोप लगाए ।

दुईतिन अगाडी मात्र प्रदेश न. २ मा आएका डिआइजि रंजितकारले आफु काठमाडौँबाट जनकपुर आउंदै गर्दा यस घटना वारे बाटो मै समाचार माध्यमबाट जानकारी पाएको र बाटोबाट नै यस घटनालाई सुक्ष्म जांच गर्न प्रदेश प्रहरीलाई निर्देशन दिएको बताए । तपाईहरु ढुक्क भएर जानुस, डिएसपी ज्ञान कुमार महतोको नेतृत्वमा अनुसन्धान हुँदैछ र दोषी कुनै पनि हालतमा उम्किन पाउंदैन भन्दै डिआइजि रंजितकारले पिडित परिवारलाई भरोसा दिएका हुन् ।

मुकेशकी श्रीमती सुजितादेवी ठाकुर १९ जेठदेखि बेपत्ता थिइन्। शंकाका आधारमा माइती पक्षले दाबी गरेको स्थानमै गलेको अवस्थामा महिलाको शव भेटिएको थियो । खेतमा चार फिट गहिरो खाडल खन्दा कपाल, नुन, मलखाद, डोरी र गलेको शरीरको अवशेष भेटिएको थियो ।

प्रतिक्रिया