
गौशाला / महोत्तरीको गौशाला नगरपालिका ६ फुलकाहामा रहेको श्रीमावि भेडियाहीमा बर्षातको पानी कक्षाकोठाभित्र पस्दा लाखौको क्षति भएको छ ।
गएराति बर्षातको पानी कक्षाकोठाभित्र पस्दा ५ लाख मूल्य बराबरको शैक्षिक सामग्री भिजेर नष्ट भएको विद्यालयले जनाएको छ । प्रधानाध्यापक शैलेन्द्र ठाकुरले दिएको जानकारी अनुसार विद्यालयको कोठाभित्र पानी पस्दा ८ वटा कम्प्युटर विग्रिएको छ भने मोनिटर, प्रोजेक्टर, फोटोकापी मेसिनमा क्षति पुगेको हो ।
वालविकासको कक्षाकोठाभित्र नालाको पानी पस्दा चकटी, कार्पेट, खेलसामग्री लगायतका शैक्षिक सामग्री भिजेर नष्ट भएको प्रधानाध्यापक ठाकुरले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा वडा कार्यालय, नगरपालिकाको कार्यालय र विद्यालय व्यवस्थापन समितीलाई जानकारी गराईसकेको ठाकुरले बताउनुभयो ।
के भन्छन सम्बन्धित पक्षहरु ?
गलत ठाँउमा कल्भर्ट निर्माण हुनु नै विद्यालय क्षतिको अधार वन्यो : रामसेवक यादव
गलत ठाँउमा कल्भर्ट निर्माण गरिएको कारण नालाको पानी विद्यालयमा पसेको हो । जसले गर्दा विद्यार्थीको शैक्षिक सामग्रीहरु नष्ट भएको हो ।
यहाँ राखिएको सर्टिफिकेट, लगायतका शैक्षिक सामग्री भिजेर नष्ट भएको हो । वडाअध्यक्ष नथुनी राउतले समयमै विद्यालय विकासका लागि पहल नगर्दा यस्तो अवस्था आएको हो ।
कल्भर्ट बनाएपछि विद्यालयको विनाश शुरु : रामईश्वर यादव
कल्भर्ट निर्माणको क्रममै आफुहरु विरोध गर्दा समेत वडा कार्यालयले मनपर्दी रुपमा विकासको नाममा कल्भर्ट बनाएपछि अहिले विद्यालयको विनाश भएको हो । अहिले पानीले विद्यालयमा पुर्याएको क्षतिको जिम्मेवारी वडाअध्यक्षलाई लिनुपर्ने हुन्छ । स
मिती लगायत सरोकारवालापक्षको वालवालिकाहरु सो विद्यालयमा नपढेकै कारण विद्यालयका हालत दिनानुदिन अस्तव्यस्त हुँदै गएको छ । संरक्षणको जिम्मेवारी पाएका व्यक्तिहरुले नै कमाईको भाँडोको रुपमा प्रयोग गरेपछि विद्यालय विकास हुन नसकेको हो ।
वर्षातको पानीले लाखौको क्षति : प्रधानाध्यापक शैलेन्द्र ठाकुर
गतबर्ष पनि यसरी नै बर्षाको पानी विद्यालयमा पस्दा लाखौको क्षति भएको थियो । सो घटनापछि विद्यालयक्षेत्रलाई समयमै उचित व्यवस्थापनको निम्ति सम्बन्धित निकायसमक्ष आग्रह गरिएको थियो ।
तर सरोकारवाला निकायले ध्यान दिएन जसको कारण विद्यालयमा यसपटक लाखौको क्षति भएको हो । जहिले पनि विद्यालयको अगाडिमा रहेको नालाको पानीको निकास अवरोध हुँदा यस्तो घटना दोहरिएको हो ।
वडाअध्यक्षकै कारण विद्यालय डुवानमा परेको विद्यालय व्यवस्थापन समितीका सदस्य : लक्ष्मी यादव
वडाअध्यक्षकै कारण विद्यालय डुवानमा पर्दै आएको होे । हरेकपक्षसँग समन्वय गरि विद्यालय विकासको निम्ति सोच्नुपर्छ । हामीहरु साथ र सहयोग दिन्छौ, प्रधानाध्यापकले विद्यालय विकासको निम्ति समयमै पहल गरियोस ।
हामीहरु समय समयमा आएर अनुगमन गरेपनि विद्यालय विकासको निम्ति हरेकको भुमिकाको आवश्यक रहेको छ ।
समयमै सचेत नहुँदा घटना दोहरिदैछ : विद्यालय व्यवस्थापन समितीका पूर्वअध्यक्ष महेन्द्र यादव
गतबर्ष पनि नाला अवस्थितकै कारण विद्यालयमा लाखौको क्षति भएको थियो । सो समयमा आफुहरु विद्यालय र वडाकार्यालयसँग समन्वय गर्दै विद्यालय र नालालाई व्यवस्थित गर्नका लागि १ लाख ५० हजार बराबरको रकम छुटयाएको थियो ।
तर समयमा काम किन हुन सकेन आफुलाई जानकारी छैन । सम्बन्धित पक्षलाई यस घटनाको जिम्मेवारी एवम जवाफदेहिता दिनुपर्छ ।
चाँडै नै नाला व्यवस्थित गरिने : वडाअध्यक्ष नथुनी राउत
नालाकै कारण बर्षेणी विद्यालयमा क्षति हुने गरेको छ । गाँउमा दुईतर्फी नाला हुँदा समेत पानी निकास छैन, जसको कारण यस्तो घटना घटेको हो ।
विद्यालयलाई लाखौको क्षति भएको छ । अव भोली देखि नै वडा कार्यालयले नाला व्यवस्थापन गर्नका लागि पहल गरिनेछ । वडा कार्यालयले विद्यालय लगायतका आसपासका क्षेत्रमा रहेको सहायक सडकहरुलाई समेत व्यवस्थित गरिनेछ ।
प्रतिक्रिया