महामारीको बेला शिक्षा : कसको भूमिका के ?

अहिले पनि कोरोनाको सङ्क्रमण उत्तिकै छ । यसको न्यूनीकरण हुने र भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने अवस्था देखिएको छैन । जहाँ कोरोनाको सङ्क्रमण कम छ र भौतिक दूरी कायम गर्न सकिन्छ, त्यस्तो ठाउँमा विद्यालयमै उपस्थित भएर विद्यार्थीको भर्ना अभिलेखीकरण गर्न सकिन्छ । त्यो सम्भव नभएको ठाउँमा फोन इन मार्फत् अर्थात् कुनै विद्यालयको विद्यार्थीको भर्ना गर्ने काम अनलाइनबाट छ भने त्यो विधि प्रक्रियासमेत अवलम्बन गरेर विद्यार्थीको अभिलेखीकरणको काम असारको पहिलो हप्तासम्म गर्न भनेर हामीले निर्देशन दिइसकेका छाैँ ।

त्यसपछि अनलाइनका कक्षाहरु पनि सँगसँगै लैजाने र पछि आउन चाहने विद्यार्थीलाई जुनसुकै माध्यमबाट भए पनि असार अन्तिमसम्म पनि भर्ना गर्न सकिने गरी सम्बन्धित पालिका तथा विद्यालयसम्म पुग्ने गरी सूचना प्रवाह गरिसकेको अवस्था छ । यसरी अहिले भौतिक उपस्थिति भन्दा पनि सम्पर्क माध्यममार्फत विद्यार्थीको अभिलेख कायम गर्ने काम भइरहेको छ ।

विगतमा विद्यार्थी भर्नालाई अभियानकै रुपमा सञ्चालन गरेका थियौँ । घरदैलो कार्यक्रम गर्ने, छुटेका बालबालिकाहरु के कारणले छुटे भन्ने पहिचान गर्ने र उनीहरुलाई कुन प्रकारको सहुलियत दिएर विद्यालय ल्याउन सकिन्छ भनेर त्यही अनुसार विद्यालयमा ल्याउन प्रयास गर्ने काम भएका थिए । यस्तै कमजोर आर्थिक हैसियत भएका, कसैको पनि सहारा नपाएका बालबालिकालाई पठनपाठनको व्यवस्था गर्न अभिभावकत्व ग्रहण गर्ने, विद्यालय छुटेकालाई विद्यालयमा ल्याउने लगायतका अभ्यास हामीले गरेका थियौँ । तर गएको वर्ष र यो वर्ष महामारीका कारण यसरी विद्यार्थी भर्ना गर्ने अवस्था हामीमाझ रहेन । तर पनि पालिकाका पदाधिकारी तथा विद्यालयका शिक्षकहरु अभिभावकसँग परिचित हुनुहुन्छ । जुनसुकै माध्यमबाट भए पनि विद्यार्थीको अभिलेखीकरण गर्नुस् भनेर हामीले उहाँहरुलाई आग्रह गरेका छौँ।

सामुदायिक विद्यालयमा धेरै भर्ना

हामीले हरेक विद्यालय, पालिकागत हिसाबले यति नै विद्यार्थी आए भनेर अहिले नै भन्न सकिने अवस्था छैन । तर हामीलाई प्राप्त जानकारीअनुसार धेरै विद्यालयमा भर्ना कार्यक्रमहरु सञ्चालन भइरहेको छ । गएकाे वर्ष र यो वर्षको विद्यार्थी भर्नाको अवस्थालाई हेर्ने हो भने अघिल्ला वर्षको भन्दा यो वर्ष सामुदायिक विद्यालयमा भर्ना हुनेको सङ्ख्या बढेको छ । महामारीका कारण कतिपय अभिभावकहरु रोजगारी गुमेका कारण गाउँ फर्किएकाले त्यस्ता बालबालिकाहरु गाउँकै सामुदायिक विद्यालयमा भर्ना भएको हुन सक्ने अनुमान छ । कतै विद्यार्थी भर्नाको चाप धेरै हुँदा भर्ना रोक्नुपर्ने अवस्था समेत आएको सुनिएको छ । नतिजा सकारात्मक देखिएको छ ।

पूर्व प्राथमिक शिक्षा

समयमै विद्यालय सञ्चालन नहुँदा वा अनलाइन माध्यमबाट पनि पूर्व प्राथमिक तहका विद्यार्थीको पढाइ तत्काल सञ्चालन गर्न समस्या देखिएको छ । यस्तो महामारीमा साना बालबालिकालाई कसरी विद्यालय पठाउने भन्ने अभिभावकलाई पनि चिन्ता हुन्छ । यस्ता बालबालिकालाई सहज हुने गरी हामीले होम स्कुलिङको व्यवस्था पनि गरेका छौँ। यसमा बालबालिकालाई घरकै अभिभावकले पढाउने गरिन्छ ।

यसलाई कार्यान्वयनमा लैजाने गरी कार्यढाँचा बनाएर सार्वजनिक पनि गरिसकेका छौँ । अहिलेको परिस्थितिले यो नयाँ कुरा जन्माएको हो । घरमै जानेबुझेको माथिल्लो कक्षामा पढेकाले तल्लो तहमा पढ्नेहरुलाई पढाउन मिल्ने गरी त्यहीअनुसार अभ्यास गर्ने गरी अवधारणा अघि सारेका छौँ ।

यसमा प्रश्न उठ्न सक्छ, यसलाई विद्यालयसँग कसरी जोड्ने ? यो समस्या होइन । यदि निषेधाज्ञा लम्बियो र विद्यालय सञ्चालन हुन एक वर्ष नै लाग्यो भने त्यस्ता बालबालिकालाई के गर्ने भन्ने प्रश्न उठ्ला । तर दुई तीन महिना हुँदाखेरि न्यूनतम आवश्यकता जस्तो, शब्द चिन्ने, समूहमा बस्न सिक्ने, बोल्न सिक्ने अवस्था मात्र त हो पूर्व प्राथमिक शिक्षा भनेको । त्यति जानेका बालबालिकालाई त्यसलाई आधार बनाएर अगाडि लैजाने प्रणाली विकास गर्न सकिन्छ ।

महामारीको तेस्रो लहर आए के गर्ने ?

यदि महामारीको अर्को लहर आयो भने के गर्ने भन्ने पनि चुनौतीको विषय हुन सक्छ । त्यसैले हाम्रो तयारी भनेको तेस्रो लहर आए पनि विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिने गरी प्रावधानहरु अगाडि बढाउँदै लैजाने हो । त्यसको लागि हामीले अहिले गृहकार्य गरिरहेकाछौँ । अघिल्लो वर्ष नै वैकल्पिक सिकाइ निर्देशिका जारी गरिसकेका छाैँ । त्यसकै आधारमा पाँचवटा वर्गमा विद्यार्थीलाई वर्गीकृत गरेका छाैँ । तेस्रो वर्गसम्म पर्ने अर्थात्, रेडियो टीभीको पहुँचमा भएकाहरुलाई त्यति गाह्रो हुँदैन । तर रेडियोको मात्रै पहुँच वा रेडियो पनि पहुँच नभएका बालबालिकालाई भने समस्या हुन सक्छ ।

त्यसैले हाम्रो पहिलो प्राथमिकता भनेको त्यस्ता बालबालिकाको हात हातमा पाठ्यपुस्तक उपलब्ध गराउनु हो । त्यसको लागि हामीले पालिकामार्फत सबै विद्यार्थीका हातहातमा पुस्तक पुगाउने हिसाबले हाम्रो अभियान जारी छ । प्रायः सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेका छन् । पाठ्यपुस्तक पुगेको छैन भन्ने गुनासो आएको छैन ।

त्यसपछि दोस्रो तरिका, कोरोनाको लहर कसरी जान्छ, विद्यालय खुल्ने अवस्था छैन भने कसरी अगाडि बढ्ने भन्ने हो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाले व्यवस्था गरेअनुसारको वैकल्पिक मार्गबाट अस्थायी कक्षाकोठा जस्तो बनाएर, एक दिनमा आठ दश जना विद्यार्थी राखेर, भौतिक दूरी कायम गरेर, शिक्षकले सम्पर्क बिन्दु बनाएर बालबालिकाको सिकाइलाई मापन गर्ने, नबुझेका कुरा प्रष्ट पार्ने, कार्यपुस्तिकाहरु प्नि-सँगसँगै लैजाने गरी विकल्प प्रयोग गर्न सकिन्छ ।

तेस्रो तरिका, रेडियो र टेलिभिजनको लागि पाठहरु उत्पादन गर्ने र प्रशारण गर्ने, विद्यार्थीको सिकाइको आवश्यकतालाई सम्बोधन गर्ने छाैँ। त्यसको लागि एफएम रेडियो सञ्चालक, टेलिभिजन सञ्चालकको साझेदारीमा पाठहरु प्रशारण गर्ने, पढाइलाई थप प्रभावकारी बनाउने हाम्रो सोचाइ छ ।

चौथोमा, जो अनलाइनको पहुँचमा छन्, उनीहरुको लागि अनलाइन लर्निङ पोर्टल बनाउने हो । त्यसको सुरुवात हामीले गरिसकेका छाैँ । अडियो भिजिवल सामग्री पनि उपलब्ध गराउने र त्यसलाई डाउनलोड गरेर अफलाइनमा पनि पढ्न हेर्न तथा सुन्न सकिने गरी लर्निङ पोर्टल विकास गर्ने गरी विभिन्न विकल्पका साथ तयारीका काम भइरहेका छन् ।

अभिभावकले के गर्ने ?

सर्वप्रथम त अहिले असहज परिस्थिति छ । यस्तो बेला जति सकारात्मक सोच्यो त्यति राम्रो हुन्छ । स्थिति केही महिनापछि सहज हुन्छ । सहज नहुने अवस्थासम्म बालबालिकाको सिकाइलाई निरन्तरता दिने गरी अभिभावकले पनि आफ्ना बालबालिकाको पाठ्यपुस्तक पुगे नपुगेको सुनिश्चित गराउनुपर्छ । यस्तै आफ्नो क्षमताले भ्याएसम्म बालबालिकाले सिकेको छ कि छैन, सिकेका कुराहरु भन्न लगाउने गर्नुपर्छ । विद्यालयको शिक्षकसँग सम्पर्क गर्न लगाउने, नबुझेका कुराहरु सोध्न लगाउने जस्ता कुराहरु गर्न लगाउनुपर्छ ।

दोस्रो विकल्पमा, यदि अवस्था सामान्य भएन भने फेरि पहिलो विकल्पलाई नै निरन्तरता दिने नै हो । यस्तै माथिल्लो कक्षामा रहेका बालबालिकालाई लक्षित गरी पालिकामार्फत ‘क्लोजर युजर ग्रुप’ भनेर एसएमएस सेवाबाट शिक्षक विद्यार्थीबीच सम्पर्क हुने सीयूजी सेवा प्रवाह हुने गरी पालिकामा स्रोत उपलब्ध गराइएको छ । यसमार्फत शिक्षक र विद्यार्थीबीच निरन्तर सम्पर्क रहिरहन सहयोग पुग्नेछ । यस्तै घरमै बस्दा बालबालिकामा मानसिक चिन्ता पर्ने, नैराश्यता छाउने हुन सक्छ । यस्तो बेला नजिकैका मेडिकलमा गएर जाँच गराउने साथै शिक्षकहरुसँग विद्यार्थीको भेट गराएर भावनात्मक सामिप्यता जगाउने काम पनि गर्न सकिन्छ ।

शिक्षकको भूमिका के ?

अहिलेको विषम परिस्थितिमा शिक्षक पनि विभिन्न समस्यामा हुनुहुन्छ । कतिपयले तलब पनि पाउनुभएको छैन । यस्तो हुँदाहुँदै पनि शिक्षकले पढाइ नै रहनुभएको छ । शिक्षकको पेसागत सङ्गठनलाई विशेष धन्यवाद दिनुपर्ने हुन्छ । सरकारी लगानी बेगर नै शिक्षकले क्षमता विकासको लागि प्रविधिको प्रयोग गर्न सक्ने, गुगल मिटबाट, जुमबाट पठनपाठन अगाडि बढाउन सक्ने गरी क्षमता विकास गराउनुभएको छ, त्यो निकै राम्रो काम हो ।

अनलाइन सम्पर्कमा आउनसक्ने विद्यार्थीको लागि भनेर तयारी अवस्थामा बसिरहनुभएको छ, यो निकै सराहनीय काम हो । शिक्षकले यो प्रयासलाई कोरोनाको सङ्क्रमणको अवस्थामा पनि निरन्तरता दिइ, विद्यार्थीको व्यक्तित्व विकासमा लाग्नुपर्छ । घरमै बसेर पनि र सम्भव भएसम्म विद्यालय गएर सम्पर्क स्थापित गरेर बालबालिकाको सिकाइसँग आबद्ध हुनेगरी माध्यम बनाउन सकिन्छ ।

शिक्षकलाई पनि खोप प्रदान गर्नेगरी हाम्रो पहलकदमी अगाडि बढिरहेको छ । विद्यालयमा उपस्थित हुनुपर्दाको अवस्थामा शिक्षकहरुलाई खोपको सुनिश्चितता हुनुपर्छ भनेर हामीले आवाज उठाएका छाैँ । यस्तै तलबको विषय छ, निजी विद्यालयहरुले तलब दिएन भन्ने गुनासो बढी छ । यस्तोमा फेरि विद्यालयको गुनासो पनि छ, विद्यार्थीबाट पैसा उठाएको छैन, अनलाइनको शुल्क निकै कम लिएको र त्यो पनि सबै विद्यार्थीले नदिएकाले शिक्षकलाई तलब कसरी दिने ?

यस्तै शिक्षकको रोजीरोटीको सवाल पनि छ, पढाएर पनि पारिश्रमिक पनि नपाउनु दुःखद कुरा त हो नै । केही राम्रो पाटो पनि छ । केही राम्रा निजी विद्यार्थीहरुले अनलाइन कक्षा सञ्चालनबाट प्राप्त रकमलाई पारदर्शिताका साथ यति उठ्यो, यसरी बाँडौँ भनेर पनि समझदारीमा चलाइरहनुभएको छ । यस्तै, अहिले केही प्रतिशत तलब मात्र दिएर कक्षा नियमित सञ्चालन भएपछि पूर्ववत् रुपमा सेवासुविधा प्रदान गर्छाैँ भनेर पनि समझदारी गरेर चलाइरहनुभएको छ ।

कतिपय संस्थागत विद्यालयहरु यो अवस्थाको सामना गर्न नसकेर बन्द हुने अवस्थामा पनि पुगेका छन् । त्यसैले यो अवस्थाको बीचमा हामीले शिक्षकलाई तलब उपलब्ध गराउनुपर्छ भनिरहेका छाैँ । यति गर्न नसके पनि न्यूनतम तलब वा त्यो पनि नसके शिक्षकलाई दैनिक रोजीरोटीको सहज हल गर्न सक्ने गरी तलब उपलब्ध गराउँदै अनलाइन कक्षालाई नियमित गर्न पनि विद्यालयहरुलाई मेरो आग्रह छ ।

पालिकाको जिम्मेवारी

आफ्नो क्षेत्रमा रहेका विद्यालय अभिभावक तथा विद्यार्थीसँगको समन्वयात्मक भूमिका पालिकाले पनि खेल्नुपर्छ । पालिका भनेको एक तहको सरकार नै हो । नेपालको संविधानले शिक्षाको, विद्यालय सञ्चालनको, व्यवस्थापनको प्रमुख दायित्व पालिकालाई नै प्रदान गर्छ ।

त्यसैले पालिकाभित्र रहनुभएका शिक्षा क्षेत्रमा काम गर्ने पदाधिकारी, जन प्रतिनिधिहरू सबैको पहिलो दायित्व संविधानले प्रदान गरेको बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न विद्यार्थी भर्नादेखि सिकाइ निरन्तरतामा उत्तिकै ध्यान दिनु र त्यसको सुपरिवेक्षण गर्नु हो । त्यसमा समस्या देखिएमा त्यहीँ हल गर्न र त्यहाँ हल नहुने समस्या भएमा सङ्घीय सरकारमा सम्पर्क गरेर त्यसको निकास लिने दायित्व पनि पालिकाको हो । सङ्घीय तहमा रहेका विभिन्न तहमा रहेका विभिन्न निकायहरु पनि विद्यार्थीका यस्ता समस्या हल गर्न उत्तिकै तत्पर छन् ।

विद्यार्थीको सिकाइलाई निरन्तरता दिन, महामारीका कारण विद्यालय बन्द भइरहेको अवस्थामा पनि विद्यार्थीको सिक्न पाउने अवसरलाई निरन्तरता दिने विषयमा स्थानीय स्रोत साधनको अधिकतम परिचालन गर्नुपर्छ । यस्तै शिक्षक, विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरेर निरन्तर सिकाइको अवसर प्रदान गर्ने पनि पालिकाको दायित्व हुन्छ । यसमा उहाँहरुको भूमिका निकै महत्त्वपूर्ण रहन्छ ।

(शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अर्यालसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया