छुवाछुतको नाममा भत्काए एक्कल महिला घर ।।

गौशाला ः विगत चार बर्षदेखि बसोबास गर्दै आएका गौशाला नगरपालिका वडा नं. ८ बेलगाछीकी ४० बर्षिया चन्द्रावती रामको घर भत्काएपछि पुरै परिवार विचल्लीमा परेका छन । छिमेकी लालबाबु ठाकुरले उनको घर भत्काईदिएपछि तीन छोरी सहित चन्द्रावती अहिले घरवारविहीन बनेकी छिन ।

भएको सानो झोप्री सहित चुल्हा समेत ठाकुरले भत्काएदिएपछि आफुहरु सामुदायिक भवनमा आश्रय ल्रिएको चन्द्रावतीले बताईन् । अधुरो अवस्थामा रहेको सो भवन पनि बर्षातको समयमा चुहिएपछि जसोतसो जीवन विताईरहेको चन्द्रावतीले बताईन् । रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा उनले भनिन–“खाना बनाउनका लागि आफुसँग चुल्हो समेत छैन । आफुहरु वाहिर नै ईटामा खाना पकाएर खाने गर्दछु । झन् बर्षातको समयमा त खाना पकाउन पनि मुश्किल छ । छाता ओढी ईटाको भरमा खाना बनाउनुपर्ने वाध्यता छ ।” चन्द्रावतीको घर छेउका अन्य छिमेकीहरु पनि तल्लो जातको वसोवास स्वीकार्य नभएको प्रतिक्रिया दिदै आएका छन । आफु तल्लो जात भएकै कारण छिमेकीहरु हातेकलबाट पानी समेत थाप्न नदिएको चन्द्रावतीले रुदै रेडियो रुपान्तरणसमक्ष भक्कानिदै सुनाईन् ।

वि. सं. २०७४ सालमा गाँउकै जग्गा व्यापारी वद्री ठाकुरसँग विश्वासका भरमा श्रीमान्ले १ लाख ६० हजार रकम कवोल गरि जमिन खरिद गरेर घर बनाएको चन्द्रावतीले बताईन् । पछि श्रीमान्को विरामीको कारण निधन भएपछि लालबाबुले आफुहरुलाई उठिवास लगाउनका लागि अनेकौ पटक जुक्ति लगाएर उत्पात मच्चाउदै आएको चन्द्रावतीको आरोप छ ।

केहिदिन अगाडि आफु गौशाला बजारमा किनमेल गर्न गएको मौका छोपी लालबाबुले घर भत्काईएको उनले बताएकी छिन् । चन्द्रावतीले अगाडि भनिन–“आफु नभएको मौका छोपी घर भत्काईएको हो । छोरीहरु रोक्न जाँदा उनीहरुमाथि मरासन्न हुने गरी ठाकुरपक्षले कुटपिट गरि घाईते बनाएका हुन ।”चन्द्रावतीको श्रीमान्को निधन भएपछि एकमात्र छोरा पनि आफुहरुलाई छाडेर ससुरालीमै बसोबास गर्दै आएको पनि उनले बताएकी छिन् ।

छोराले आफुहरुसंग कुनै किसिमको वास्ता नराखेपछि अहिले तिन छोरीसहित चन्द्रावती जसोतसो बसोवास गर्दै आइरहेकी छिन् । श्रीमान्को निधन भएको दुई वर्ष भईसक्यो, छिमेकीले घर पनि भत्काईदियो अव तिनओटी छोरीको लालनपोषण कसरी गर्ने चिन्ताले उनलाई सताईरहेका छन ।

यसरी शुरु भयो जग्गा विवाद

करिब चार वर्ष अगाडी चन्द्रावती रामकी श्रीमान्ले जग्गा व्यापारी बद्रि ठाकुरसंग ४ धुर जमीन खरिद गरेका थिए । प्रति धुर ४० हजारको दरले १ लाख ६० हजार रुपैयाँ पर्ने सो जमिन खरिदका लागि बीस हजार रुपैयाँ अग्रिम भुक्तानी दिएका थिए । दुईतर्फी विश्वासकै भरमा जग्गाको कारोबार भएको थियो ।

बद्रि ठाकुर

वाँकी रहन गएको १ लाख २० हजार रुपैयाँ पछि क्रमिक रुपमा भुक्तानी गर्ने शर्तमा जग्गा व्यापारी ठाकुरले सो स्थानमा उनीहरुलाई घर बनाउनका लागि अनुमति दिएका थिए । दुवैपक्षवीच पछि जग्गा रजिष्ट्रेशन गर्ने शर्तमा जग्गा कारोबार भएको खुलासा भएको छ । शुरुमा सो जमिनको छेउछाउमा कसैको घर थिएन । पछि आफ्नो छेउमा रहेको बाँकी ८ धुर जमिन बद्रि ठाकुरसंग लालबाबु झाले खरिद गर्यो । रजिष्ट्रेशन पास गर्ने क्रममा चन्द्रावतीको ४ धुर जग्गा समेत गरि वद्री ठाकुरले लालबाबुको नाममा दर्ता गरेका छन ।

चन्द्रावतिले पैसा दिएपश्चात तपाई नै चन्द्रावतीलाई रजिष्ट्रेशन गरिदिनुहोला विश्वासको भरमा जग्गा पास भएको जग्गा व्यापारीले बताएका छन । पछि लालबाबुले चन्द्रावतीको जग्गा हडप्ने मनोसाय बनाएर रणनिती तय गरिएको स्रोतको बुझाई रहेको छ । सो मनसाय अनुसार लालबाबु आफुलाई बारम्बार झै झगडा गर्दै घर खाली गर्नका लागि दवाव दिदै आएको चन्द्रावतीले संचारकर्मीसमक्ष खुलासा गरेकी हुन ।

नभन्दै एक दिन त आफु घरमा नभएको मौकी छोपी ठाकुरपक्ष्ाका १०–१२ जनाको समुहले तीनै छोरीलाई मरान्सान हुने गरी कुटपिट गरी घर भत्काईएको चन्द्रावतीले बताईन ।

न्यायको गुहार माग्दै चन्द्रावती

घटना घटेपछि सर्वप्रथम न्यायको लागि गौशाला नगरपालिकाको वडा कार्यालय हुँदै नगरपालिकाको कार्यालयमा समेत हार गुहार गरे तर कहिबाट न्याय पाउन सकेन । अन्त कहि सीप नलागेपछि ईलाका प्रहरी कार्यालय गौशालाका लिखित उजुरीपछि प्रहरीले कानुन अनुसारको कारवाही प्रक्रिया अगाडि बढाईएको बुझिएको छ । प्रहरी निरीक्षक विष्णु प्रदिप वस्यालका अनुसार घटनामा संलग्न दई जनालाई तत्कालै नियन्त्रणमा लिई अनुसन्धान गरिराखेका छन ।

यस विषयमा सम्पूर्ण सरोकारवाला, संचारकर्मी, महिला अधिकारकर्मी तथा मानवअधिकारकर्मी समक्ष न्याय दिलाउन आग्रह गरेकी छिन् । अबको परिवेशमा पनि महिला हिंसा, छुवाछुत जस्ता गर्नेलाई कानुनले नै सजायको भागीदार हुने भने पनि अहिलेसम्म चन्द्रावतीले न्याय पाउनसकेको छैन । यस्ता घटनाहरुले समस्त मावनजीवनमाथी प्रश्नचिन्ह खडा गरेको छ ।

अहिले विश्व २१औं शताब्दीमा पुग्दा पनि छुवाछुत जस्ता घटनाहरुले अझ समाजमा भएको विकृतीहरु हट्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार