मदिरा सेवन गरेर मोटरासइकल चलाउँदा दुर्घटना, चालकको मृत्यु

जनकपुरधाम ः धनुषाको बाटोश्वरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाटेश्वर गाउँपालिका वडा नं.– २ बस्ने निलबहादुर आलेका २२ वर्षीय छोरा अर्जुन भन्ने दलबहादुर आले रहेको प्रहरीचोकी बटेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नं. ४ डाडाटोलबाट घर फर्किने क्रममा आफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरासइकल रमौली टोल र पाटोटोलको बिचमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका युवक आलेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । उपचारको क्रममा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आले अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरासइकल चलाउँदा दुर्घटना भएको हो । आलेको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार