Tuesday 11th of February 2025

सर्लाहीमा हाजिर भए सिडियो महतो

0 Shares

सर्लाही ः सर्लाहीमा प्रमुख जिल्ला अधिकारी (सिडियो) रामकुमार महतो सोमवार जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन् ।

गृह मन्त्रालयले एक साताअघि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई मन्त्रालयमा तानेर कन्चनपुर जिल्लामा रहनु भएका महतोलाई सर्लाहीमा सरुवा गरेको थियो । महतोले सोमवार दिउँसो सदरमुकाम मलंगवा आइपुगेर कार्यभार सम्हालेका हन् ।

प्रजिअ महतोलाई कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल र अन्य कर्मचारीले पुष्पगुच्छाले स्वागत गरेका छन् । यस्तै, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले पनि नयाँ प्रमुख जिल्ला अधिकारी महतोलाई स्वागत गरेका छन् ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी महतोले आफू सर्लाही जिल्लासँग राम्रोसँग परिचित रहेकाले शान्ति सुरक्षा र अमनचयन कायम राख्न सबै सरोकारवालासँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

धनुषा घर भएका महतो सहसचिवमा उर्तिण भएपछि प्रमुख जिल्ला अधिकारी बनेर दोस्रो जिल्लाको रुपमा सर्लाही आएका हुन् । सहसचिव भएपछि उनलाई गृह मन्त्रालयले पहिलो पटक कन्चनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको थियो ।

प्रमुख जिल्ला अधिकारी भएर आएका महतोसँग यसअघि उपसचिव हुँदा जिल्ला समन्वय समिति मलंगवाको समन्वय अधिकारीसहित ईश्वरपुर, कविलासी र मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको अनुभव छ ।

प्रतिक्रिया