महोत्तरी / नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । तीनवर्षदेखि क्यान्सर रोगबाट पीडित नेता यादवको ५७ वर्षको उमेरमा निधन भएको हो । नेता यादवको गए राति १० बजे जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित आफ्नै घरमा मृत्यु भएको उनका भतिज श्याम यादवले जानकारी दिए ।
भतिज श्यामका अनुसार बाइसिर क्यान्सरबाट पीडित नेता यादव नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गारएका थिए । ठीक नभएपछि पछिल्लो समय चितवन अस्पतालको सल्लाहमा घरमै औषधि उपचार गराइरहेका थिए । अत्यन्त सिकिस्त अवस्थामा उनको राति मृत्यु भएको हो ।
उनको आजै पार्टीको झण्डा ओढाएर ससम्मान जनकपुरधाम स्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र धनुषाका सचिव दिपक यादवले जानकारी दिए । उनलाई श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मातृका प्रसाद यादवसहितका शीर्ष नेताहरु जनकपुर आउन लागेको जनाएको छ ।
साविक धनुषाको सहिद नगरनगरपालिका १ बालाबाखर घर भएका नेता यादव तत्कालिन नेकपा माओवादी केन्द्रको जनयुद्धमा सुरुदेखि नै सहभागि भएर महोत्तरी, धनुषा र सिरहाको कमाण्ड सम्हालेका थिए ।
जेटिएको स्थायी जागिर छोडेर कम्युनिष्ट राजनीतिमा सक्रिय नेता यादव यस क्षेत्रका इमान्दार जुझारु एवं लोकप्रिय नेताको रुपमा परिचित छन् ।