Tuesday 16th of April 2024

नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वागत नगर्ने

0 Shares

जनकपुर : प्रदेश २ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झा ‘अहिराज’लाई त्यहाँको सरकारले स्वागत नगर्ने भएको छ ।

दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको छ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र साहले प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउने नियतले यस्ता गतिविधिहरु गरिरहेको उनले बताए । यस्तो कार्यलाई मधेसी जनताले स्वीकार नगर्ने उनको भनाइ छ ।

संघीयता अनुसार प्रदेश गठन भएसँगै सुरुमा रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कायस्थलाई हटाएर तिलक परियारलाई नियुक्त गरिएको थियो ।

अहिले नेकपाभित्रको झगडाका कारण परियारलाई हटाएर प्रधानमन्त्री ओलीले आफू निकटका राजेश झा ‘अहिराज’लाई प्रदेश प्रमुखमा नियुक्त गरेका छन् । प्रदेश २ सरकारका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले प्रतिगमनका मतियारहरुको देशभर तिरस्कार हुँदै गर्दा प्रदेश २ सरकारले त्यस्ताको स्वागतका लागि रातो कार्पेट ओछ्याउँछ भनेर सपना नदेख्न आग्रह गरे ।

प्रदेश प्रमुख अहिराज आइतबार ४ बजे जनकपुर पुग्दैछन् । एयरपोर्टबाट सिधै उनी जानकी मन्दिर गएर पूजापाठ गर्नेछन् । त्यसपछि उनी मधेश भवन जाने तयारी छ ।

मधेश भवन (प्रदेश सरकारको मुख्यालय) मा उनी आउने बारेमा कुनै उत्साह र तयारी देखिँदैन । आइतबार मधेस भवन सुनसान देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रीको कार्यालयहरु पनि सुनसान देखिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले भने नयाँ प्रदेश प्रमुखको स्वागतका लागि तयारी थालेको छ । प्रदेश प्रमुखको निवास तथा कार्यालय सरसफाई गरिएको छ । यता, मुख्यमन्त्रीदेखि लिएर अन्य मन्त्री, राज्यमन्त्रीहरु आइतबार मधेस भवनमा छैनन् ।

विभिन्न कार्यक्रमको बहानामा अधिकांश मन्त्रीहरु जनकपुरबाट बाहिर निस्किएका छन् ।प्रदेश २ सरकारका प्रमुख न्यायधिवक्ता दीपेन्द्र झाले प्रदेश प्रमुख झालाई स्वागत गर्ने कि विरोध गर्ने भन्नेबारे आधिकारिक निर्णय नभएको बताए ।

उनले आफू पनि स्वागतका लागि जाने कि नजाने भन्ने बारेमा अहिलेसम्म कुनै तयारी नभएको बताए । यद्यपि सरकारको नीति अनुसार आफूले पनि व्यवहार गर्ने उनले जनाए ।

स्रोतका अनुसार प्रदेश सरकारका मुख्य सचिव तथा कर्मचारीहरु प्रदेश प्रमुख झाको स्वागतका लागि एयरपोर्ट जानेछन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह कार्यकर्ताहरु पनि स्वागतका लागि जाने बताइएको छ ।

एमालेका कार्यकर्ताले एयरपोर्टमा एकसय एक किलोको मालाले प्रदेश प्रमुख झाको स्वागत गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया