जनकपुरधाम– धनुषा जिल्लाको उत्तरी भेगका वस्तिमा जङ्गली हात्ती प्रवेश गरेपछि अहिले सो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरू त्रसित बनेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिकामा देखा परेको दुई जङ्गली हात्ती मध्ये एउटालाई स्थानीयवासीले सुरक्षा निकाय, वन कर्मचारीको सहयोगमा जङ्गल तर्फ धपाउने काम भएको छ । बटेश्वर वडा नं. १ चित्रपुरमामा देखा परेको एक जङ्गली हात्ती मिथिला नगरपालिका ८ हुँदै ढल्केवरमा पसेपछि त्यहाँबाट जङ्गल तर्फ धपाइएको मिथिला नगरपालिकाले जनाएको छ ।
प्रहरी, वन रक्षक र स्थानीयवासी मिलेर मिथिला नगरपालिका वडा नंं ५ मा पर्ने औरही बाबा सामुदायिक वन हुँदै राष्ट्रिय वनतर्फ हात्तीलाई धपाइएको भए पनि सतर्क रहनका लागि डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनिल कुमार कर्णले जनकारी दिनुभयो ।
डिभिजन प्रमुख कर्णले हात्तीलाई जिस्काउने काम गर्न नहुने बताउँदै यसले भौतिक तथा मानवीय क्षति गर्ने सम्भावना रहेकाले सतर्क रहनका लागि पनि डिभिजन प्रमुखले आग्रह गर्नुभयो ।
हात्ती अझै केही दिन सो क्षेत्रमा रहने भएकाले सजग रहनका लागि पनि डिभिजन प्रमुखले आग्रह गरेका छन् । नेपालको पर्सा वन्यजन्तुबाट आएको हुन सक्ने बताउँदै डिभिजन वन कार्यालयले वनरक्षकहरुलाई सो क्षेत्रमा परिचालन गरेको जनाएको छ ।
हालसम्म जङ्गली हात्तीले मानवीय तथा भौतिक क्षति नपुर्याएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । एक वटा पाडो तथा एक जनाको मोटरसाइकलमा क्षति गरेको छ ।
विगत केही दिनदेखि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको मानव बस्तीमा प्रवेश गरेर हात्तीले उत्पात मच्चाउँदै आएको छ ।