काठमाडौं : चिनियाँ स्मार्टफाेन ब्राण्ड भिभोले एउटा अनौठो फिचर भएको स्मार्टफोनका लागि पेटेन्ट दर्ता गराएको छ । जसमा फ्लाइङ अर्थात उड्ने क्यामेरा फिचर रहेको छ ।यससँगै भिभो पहिलो यस्तो कम्पनी बनेको छ, जसले ह्याण्डसेटमा ड्रोन क्यामेरा उपलब्ध गराउने लक्ष्य राखेको छ । गत वर्षको डिसेम्बरमा भिभो मोबाइल कम्युनिकेसनले वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस (WIPO) मा यो पेटेन्ट दर्ता गराएको थियो ।
सोही पेटेन्ट अहिले कम्पनीको नाममा जारी भएको हो । लेट्सगो डिजिटल काे रिपाेर्ट अनुसार भिभो आफ्नो स्मार्टफोनमा एउटा कम्पार्टमेन्ट राख्ने प्रयासमा छ । जसमा हिडन (लुकेको) क्यामेरा सिस्टम सहित दुई वटा सेन्सर हुनेछ ।
साथमा तीन वटा इन्फ्रारेड प्रोक्सिमिटी सेन्सर, चार वटा प्रोपेलर (पंखा) र एउटा अतिरिक्त ब्याट्री हुनेछ । पेटेन्ट अनुसार एउटा क्यामेरा माथि शिरानी भागमा हुनेछ भने अर्को फोनको अगाडि भागमा हुनेछ ।यसरी फरक फरक स्थानमा क्यामेरा राख्नुको अर्थ अलग अलग एंगलमा शुट गर्न सहज बनाउनु हो । रिपोर्ट अनुसार पेटेन्टमा देखाइएको क्यामेरा सिस्टम प्यानलबाट स्लिड भएर बाहिर आउनेछ र माउन्टिङ ब्रकेटसँगै सम्पूर्ण रुपमा निस्किनेछ ।
त्यस्तै, माउन्टिङ ब्रकेटमा फिगरप्रिन्ट सेन्सर इन्टिग्रेट हुनेछ । यो क्यामेरा सिस्टम इन्टिग्रेटेड प्रोपेलर (पंखा) को सहयोगमा उड्नेछ । यसमा रहने इन्फ्रारेड सेन्सरले क्यामेरा कति माथिसम्म जाने भन्ने कुरालाई ट्र्याक तथा नियन्त्रण गर्नेछ ।साथै यो फ्लाइङ क्यामेराले शुटिङको समयमा सहजता प्रदान गर्नेछ । यो एयर जेस्चरको साथमा सार्वजनिक हुन सक्छ ।
यसबाहेक थप जानकारी भने बाहिर आएको छैन । पेटेन्ट अनुसारको फिचर भएको स्मार्टफोन भिभोले सार्वजनिक गरेको खण्डमा बजारमा विद्यमान अन्य स्मार्ट कम्पनीका लागि निकै कडा चुनौती हुने विश्लेषण गरिएकाे छ ।(साभार : टेकपाना)