Monday 2nd of December 2024

प्रधानमन्त्री ओलाीद्वारा भर्चुअल माध्यमबाट रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

0 Shares

सप्तरी : रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।


सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १० बिरौलमा प्रतिष्ठानको प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् । ओलीले सबैको प्रयासले आज प्रतिष्ठानको निर्माण कार्यको शुभारम्भ भएको बताए । प्रधानमन्त्री ओलीले देशको हरेक क्षेत्रमा बिकास आवश्यक रहेकाले विकासलाई तिब्रता दिन हरेक पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।


प्रतिष्ठानको निर्माणले शिक्षा, स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मार्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, प्रतिष्ठानले रोजगारीको अवसर समेत सिर्जना गर्ने छ ।


सप्तरी जिल्ला पछाडि परेको ठाउँ नभएर विकासका लागि अगाडि बढेको बताए । रुपनी सडक, औद्योगिक क्षेत्र सञ्चालन, छिन्नमस्ता पर्यटकीय गन्तब्य क्षेत्र विकास लगायतमा काम अगााडि बढाएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।


हिमाल, पहाड र तराई सबै क्षेत्रको विकास र उन्नतीको लागि आफूले थालनि गरेका कामहरु तिब्र गतिमा भई रहेको बतए । प्रतिष्ठान निर्माणले प्रदेश २ का सबै जिल्ला, छिमेकी जिल्ला तथा भारतीय नागरिक समेतले स्वास्थ्य सेवा लिन सक्ने भएकोले आवश्यक्ता अनुसार निर्माण हुन लागेको प्रधानमन्त्री ओलीले भनाइ रहेको थियो ।


प्रतिष्ठानका पूर्वाधार तयारी विकास समितिका निर्देशक तथा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले शिलान्यासको भूमि पुजन गरेका थिए ।


उक्त कार्यक्रममा राजविराजका नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले प्रतिष्ठानको शिलान्यास गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै समयमा निर्माण सम्पन्न गराउन नगरवासीले हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानका लागि दुई कित्ताका गरी ६१ विघा, ६ कठ्ठा क्षेत्रफल जग्गा दर्ता भएको छ ।


प्रतिष्ठानको संरचना बनाउन ११ अर्ब ९८ करोड रकम खर्च हुने अनुमान गरिएको छ । यस्तै, प्रतिष्ठानको डीपीआर तयार पार्न मात्र १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका निर्देशक डा. झाले जानकारी दिए ।

प्रतिक्रिया