काठमाडौँ — नेपाल वायुसेवा निगमलाई संस्थानबाट कम्पनीमा बदल्ने प्रस्तावको विरोधमा कांग्रेस, एमाले र माओवादी केन्द्रनिकट ट्रेड युनियनले चार दिनदेखि महाप्रबन्धकको कार्यकक्षमा लगाएको ताला मंगलबार प्रहरीले खोलेको छ ।
निगम अत्यावश्यक सेवामा पर्ने निकाय भएको तथा तालाबन्दीका कारण चीनमा खोप ल्याउन जानुपर्नेलगायतका काममा बाधा पुगेको जनाउँदै पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई मंगलबार जानकारी गराएको थियो । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक डीएसपी दिलीपबहादुर मल्लको नेतृत्वमा गएको प्रहरीले महाप्रबन्धक डिमप्रसाद पौडेलको कार्यकक्षमा लगाइएको ताला खोलेको हो ।
ताला खोल्ने विषयमा धरपकड भएको र केही कर्मचारी नेता घाइते भएको निगमका वरिष्ठ अधिकृत प्रशान्तकुमार विकले बताए । डीएसपी मल्लले भने सामान्य धकेलाधकेल मात्रै भएको बताए । निगममा रहेका कांग्रेस, एमाले र माओवादी समर्थित तीनवटा ट्रेड युनियनले ‘निगमको पुनःसंरचना गरी लिमिटेड कम्पनीमा रूपान्तरण गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा’ निगमको हितविपरीत भएको उल्लेख गर्दै फिर्ता लिनुपर्ने माग राख्दै आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लीलानाथ श्रेष्ठले ट्रेड युनियनले विषय नबुझेर आन्दोलन गरिरहेको जनाउँदै हाल निगमको सञ्चालक समितिले बनाएको नियमावली र प्रबन्धपत्रको मस्यौदा निगमको लगानी संरचनाबारे अध्ययन गर्न बनाइएको प्रतिवेदन मात्रै भएको प्रतिक्रिया दिए ।