जेरुसेलम / इजरायली सेनाले गाजा क्षेत्रमा फेरि हवाइ हमला गरेको छ । गाजाबाट इजरायलतर्फ आगलागी गराउने विस्फोटक बेलुन प्रहार भएको भन्दै आफूहरुले त्यसको जवाफी हमला गरेको इजरायलले जनाएको छ ।
इजरायली सेनाले आफूहरुले हमासको हतियार उत्पादन केन्द्र र रकेट लन्चरलाई लक्षित गर्दै हवाइ आक्रमण गरिएको जनाएको छ ।
तर हमासले इजरायलको कुन क्षेत्रमा विस्फोटक बेलुन उडाएको थियो भन्ने इजरायलले केही जनाएको छैन । यद्यपि इजरायलमा भएका अधिकांश आक्रमणलाई इजरायलले हमासलाई नै दोष दिने गरेको छ ।
मे १० देखि इजरायल र हमासबीच ११ दिनसम्म हिंसात्मक श्रृंखलावद्ध आक्रमण भएको थियो । त्यस क्रममा इजरायली हवाइ हमलाबाट ६६ बालबालिकासहित २६० जना प्यालेस्टिनी मारिएका थिए । त्यस्तै हमासको रकेट आक्रमणबाट २ बालबालिकासहित १३ जना मारिएका थिए ।
तर मे २१ मा इजरायल र हमासबीच इजिप्टको पहलमा युद्धविराम भयो । त्यस युद्धविरामपछि पनि इजरायलले गाजा क्षेत्रमा चार पटकसम्म हवाइ हमला गरिसकेको छ ।