Friday 11th of October 2024

साउनपछि अवैध मोबाइल सेट नचल्ने

0 Shares

काठमाण्डाै / नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ । बुधवारकाे कुराकानीमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको बताउनुभयो । साउन महिनाभरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताउनुभयो ।

प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको मोबाइल नचलाउन आग्रह गर्नुभयो । अहिले मिडियामा आए जस्तो:- विभिन्न सामाजिक सञ्जालमा भेटिएको गलत सूचनामा विश्वास नगर्न प्राधिकरणका अध्यक्ष खनालले सचेत गराउनुभयो । साउन महिनापछि भने आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकाले दर्ता गर्न उहाँले अनुरोध गर्नुभयो ।

unn.prixa.net

आउँदाे साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू हुने भएकाले अवैध रूपमा भित्रिएका मोबाइल सेट नचल्ने हुन सक्छ । नेपाल सरकारले आउँदाे वर्षको बजेट सार्वजनिक गर्दा एमडीएमएस लागू गर्ने घोषणा गरेको छ । एमडीएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्न सक्दैनन् । मोबाइल व्यवसायीले एमडीएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताएका छन् ।

मोबाइल फोन आयातकर्ता सङ्घका अध्यक्षसमेत रहनुभएका नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपककुमार मल्होत्राले एमडीएमएस प्रणाली लागू भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताउनुभयो । झन्डै ४० अर्बको मोबाइल कारोबारमा १३ अर्बको कारोबार अवैध हुने बताइन्छ । एमडीएमएस प्रणालीले सबै कारोबारलाई वैध मार्गमा लैजाने उहाँले बताउनुभयो । यसले राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने अध्यक्ष मल्होत्राले बताउनुभयो ।

यस्तै एमडीएमएसमा दर्ता भएका फोनको विवरण तुरुन्त थाहा पाउन सकिने भएकाले मोबाइलको दुरुपयोग गरी हुने अपराध र अपराधी पत्ता लगाउन सजिलो हुने उपाध्यक्ष मल्होत्राले बताउनुभयो ।

एमडीएमएस प्रणाली पहिलो पटक लागू हुने भएकाले चलिरहेको मोबाइल र विदेशबाट उपहार अनि पर्यटकले बोकेर आउने मोबाइल कसरी चल्न दिने भन्नेबारे मोबाइल फोन आयातकर्ता सङ्घसँग दूरसञ्चार प्राधिकरणले छलफल गरिरहेको छ । छलफलका क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव आफूहरुले दिएको अध्यक्ष मल्होत्राले बताउनुभयो ।

यस्तै पर्यटकले नेपाल घुम्न आउँदा बोकेर आउने फोनलाई १५ दिनसम्म चल्न दिने र फेरि सुरु गर्नुपरे भिसा पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणलाई सङ्घले सुझाव दिएको छ ।

यसै गरी उपहारमा आएको फोनलाई दर्ता गर्नुअघि भन्सारको प्रक्रिया पूरा गरेर मात्रै चल्न दिने व्यवस्था मिलाउन सुझाव दिएको अध्यक्ष मल्होत्राले बताउनुभयो । उपहार आएको फोन पहिलो १५ दिन चलाउन कुनै बाधा नगर्न पनि सुझाव दिएको उहाँले बताउनुभयो ।

एमडीएमएस लागू भएपछि मोबाइल फोन आयातकर्ताले आयात गरेको सम्पूर्ण मोबाइल फोनको आईएमईआई नम्बर दूरसञ्चार प्राधिकरणमा दर्ता गरेर मात्र बिक्री/वितरण गर्नेछन् ।

प्रतिक्रिया