दिलीप कुमार बलिउड फिल्म जगतमा ‘ट्राजेडी किङ’का रूपमा परिचित छन् । दुःखद् दृश्यमा उनले गर्ने मार्मिक अभिनयलाई हेरेर नै उनलाई ‘ट्राजेडी किङ’ भन्न थालिएको थियो । उनै दिलीप कुमारको बुधबार बिहान ९८ वर्षको उमेरमा निधन भएको छ ।
दिलीप कुमारको खास नाम मोहम्मद युसुफ खान थियो । बलिउड प्रवेशपछि उनले आफ्नो नाम परिवर्तन गरेर दिलीप कुमार राखेका थिए । अन्तत: उनी यसै नामबाट परिचित बने ।
सन् १९४४ सालमा ‘ज्वारभाटा’ नामक फिल्ममा मुख्य भूमिका निर्वाह गर्दै उनले बलिउड प्रवेश गरेका थिए । जतिबेला बलिउड फिल्म क्षेत्र नै भर्खर बामे सर्दै थियो । न धेरै कलाकार थिए, न फिल्म निर्देशक नै । त्यस समय फिल्ममा रूचि राख्ने दर्शकको संख्या पनि थोरै थियो ।
दिलीप कुमारको पहिलो फिल्म फ्लप भएको थियो । फिल्म फ्लप भए पनि उनको कामले भने प्रंशसा नै पाएको थियो । फलस्वरूप उनले बलिउडमा काम पाइरहे ।
दिलीप कुमारको जन्म पाकिस्तानको पेसावरमा रहेको लाला गुलाममा भएको थियो । उनका १२ जना दाजु-भाइ तथा दिदी-बहिनी छन् ।
दिलीप कुमारका पिता फलफूल व्यापारी थिए । आफ्नो घर भाडामा लगाएर उनीहरूले जीवन गुजारा गर्थे । सन् १९३० मा दिलीपको पूरै परिवार मुम्बईमा सर्याे ।
सन् १९४० मा बुबासँग मतभेद भएपछि दिलीप कुमारले घर छाडेर पुणे पुगे । जहाँ उनले क्यान्टिनका मालिक मोहम्मद शाहलाई भेटे । उनकै सहायतामा दिलीप कुमारले आर्मी क्लबको अगाडि एक स्यान्डविचको स्टल खडा गरेका थिए । जसको सम्झौता समाप्त भएपछि आफूले कमाएको ५ हजार बोकेर दिलीप घर मुम्बई फर्किएका थिए ।
मुम्बई फर्किएर दिलीपले घरखर्चका लागि आफ्नो बुबालाई सहयोग गर्न विभिन्न काम गरे ।
फिल्म यात्रा
दिलीप कुमारले फिल्म क्षेत्रमा आउने मौका भाग्यले पाएका हुन् भन्दा फरक पर्दैन । सन् १९४३ मा चर्चगेट स्टेसनमा उनको भेट डा. मसानीसँग भयो । जसले उनलाई बम्बई टाकिजमा काम गर्ने अफर दिए । त्यसपश्चात्, दिलीपको भेट बम्बई टाकिजकी मालिक देविका रानीसँग भयो । जोसँग उनले वार्षिक १२ सय ५० रूपैयाँ लिएर काम गर्ने सम्झौता गरे ।
त्यहीँ काम गर्दा दिलीपले अभिनेता अशोक कुमारसँग परिचित हुने मौका पाए । दिलीपले आफूलाई पनि अभिनयमा रूचि भएको भन्दै अशोकलाई अभिनय गरेर देखाए । दिलीपको अभिनय देखेर अशोक मोहित भए ।
सुरुवाती दिनमा दिलीपले कथा तथा स्क्रिप्ट लेख्न मद्दत गर्थे । किनकि, दिलीप उर्दु र हिन्दी भाषामा राम्रो ज्ञान राख्थे । देविका रानीकै आग्रहमा दिलीपले आफ्नो नाम युसुफबाट दिलीप कुमार राखेका थिए ।
देविका रानी र अशोक कुमारकै सहयोगमा दिलीपले १९४४ मा पहिलो फिल्म ‘ज्वारभाटा’मा काम गर्ने मौका पाएका थिए । त्याे फिल्म असफल भए पनि दिलीपले बलिउडमा नयाँ ‘हिरो’को परिचय बनाएका थिए ।
पहिलो फिल्मकै कारण दिलीपले ‘जुगनु’ नामक फिल्ममा काम गरे । जुन फिल्म निकै सफल रह्यो । यस फिल्मपश्चात् दिलीप कुमार रातारात स्टार बने । उनको हातमा धेरै फिल्मको अफर आइपुग्यो ।
सन् १९४९ मा दिलीपले राज कपुर र नर्गिससँग स्क्रिन शेयर गर्दै ‘अन्दाज’ फिल्ममा काम गरे । जुन फिल्म सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो ।
सन् १९५० को दशक बलिउड फिल्मका लागि उपयोगी समय बनेको थियो । यसै समयमा दिलीप कुमारले धेरै सफल फिल्ममा काम गरे । यही बीचमै दिलीपले ‘ट्राजेडी किङ’को उपमा पाए । जोगन, दिदार, दाग जस्ता फिल्ममा काम गरेपछि दिलीपलाई उक्त उपमा दिइएको थियो ।
दाग फिल्मबाट उनले पहिलो पटक फिल्मफेअरमा उत्कृष्ट अभिनेताको अवार्ड चुमेका थिए ।
दिलीप कुमारले ‘देवदास’ जस्तो सफल फिल्ममा पनि काम गरेका छन् । जुन फिल्ममा बैजयतिमाला र सुचित्रा सेनको पनि मुख्य भूमिका रहेको थियो । यस फिल्ममा दिलीपले जँड्याहा प्रेमीको भूमिका न्यायपूर्ण तवरले निर्वाह गरेका थिए । यस फिल्मले झनै उनलाई ‘ट्राजेडी किङ’का रूपमा परिभाषित गरेको थियो ।
दिलीपले ट्राजेडीबाहेक अन्य हल्का शैलीका फिल्महरूमा पनि काम गरेका छन् । आन र आजादजस्ता फिल्ममा उनले कमेडी भूमिका पनि निर्वाह गरेका छन् ।
५० को दशकमा स्टारका रूपमा स्थापित भएका दिलीपले १९६० मा ‘कोहिनूर’ फिल्मबाट फिल्मफेअर अवार्ड हात परेका थिए । ६० को दशकमा पनि उनले आफ्नो भाई नासिर खानसँग ‘गंगा जमुना सरस्वती’ नामक फिल्ममा काम गरेका थिए ।
२ दशक बलिउड फिल्म क्षेत्रमा राज गरेका दिलीपलाई फिल्मको अफर तब कम भयो, जब अमिताभ बच्चन, राजेश खन्नालगायतका कलाकारहरूले बलिउडमा प्रवेश गरे । ७० को दशकमा भने दिलीपले थोरै फिल्ममा काम गरे । तर, ति फिल्महरू पनि सफल हुन सकेनन् ।
पाँच बर्ष विश्राम लिएर दिलीपले सन् १९८१ मा मल्टिस्टार फिल्म ‘क्रान्ति’मा काम गरे । उक्त फिल्मले दिलीपको धमकेदार कमब्याक गराएको थियो ।
दिलीपको पछिल्लो हिट फिल्म १९९१ मा रिलिज भएको ‘सौदागर’ थियो । दिलीपले अभिनय गरेको अन्तिम फिल्म ‘किला’ हो । यो फिल्म १९९८ मा रिलिज भएको थियो । त्यसपश्चात् उनले फिल्म क्षेत्रबाट सन्यास लिएका थिए ।
६ दशक लामो फिल्मी करिअरमा दिलीपले धेरै अवार्ड हात पारे । फलस्वरूप, गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दिलीपको नाम सबैभन्दा बढी अवार्ड पाउने अभिनेताको रूपमा दर्ज भएको छ ।
०००
एक गरिब परिवारबाट आएका दिलीपले यसबीचमा धेरै सम्पत्ति जोडे । त्याेभन्दा धेरै नाम कमाए । निरन्तरको मिहिनेत र लगनशीलताले उनलाई सफलता दिलायो । उनकाे जीवन प्रेरणादायी बन्न पुग्याे ।
एजेन्सीको सहयोगमा दिप्सन लुइटेलले तयार पारेको सामग्री । – शिलापत्र –