मनोज यादव, सर्लाही । गृह मन्त्रालयको आदेश विपरीत प्रदेश २ अन्तर्गतको सर्लाही जिल्ला सदरमुकाम मलंगवा–सोनवर्षा नाकामा लगाइएको रोक अझै कायमै छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम गत माघमा सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भारतसँग जोडिएका सीमा नाका पूर्ण रुपमा खोलेर आवागमन सहज बनाउन भनिएको भए पनि गृहको सो परिपत्र विपरीत जिल्लाको मलंगवा–सोनवर्षा नाका पूर्ण रुपमा खुला हुन नसकेको हो। मन्त्रिपरिषद्को निर्णयबमोजिम नाका खुला गर्न सम्बन्धित प्रशासनलाई परिपत्र पठाइसकेकोले यसका लागि छुट्टै परिपत्र पठाउनु नपर्ने र त्यसैलाई आधार मानेर नाका खोल्नुपर्ने गृह मन्त्रालयले बताउँदै आएको छ ।
तर सर्लाही प्रशासनले भने सिमा नाका खोल्ने सम्बन्धमा सितामढी जिल्लाको(भारत) प्रशासनबाटै कुनै प्रतिक्रिया नआएको कारण देखाउँदै आएको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए । भारतीय पक्षको उदासिनताका कारण नाका खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय स्रोतका गृह मन्त्रालयबाट मलंगवा नाका खुलाउने पत्र आएपछि भारतको सीतामाढी जिल्लाकी मेजेस्टिकसँग फोन सम्पर्क गर्दा कुरा हुन नसकेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गृह मन्त्रालयबाट पत्र आएको भोलिपल्टै अर्थात माघ १६ गते शुक्रबार ३–४ पटक तथा त्यसपछि पनि पटक–पटक फोन गर्दापनि समकक्षी भारतको सीतामढी जिल्लाकी प्रमुख अभिलाशा कुमारी शर्माले रिसिभ नै नगरेको बताए ।
‘फोनमा कुनै रस्ेपोन्स नभएपछि, नेपाल सरकारले गरेको निर्णयबारे भारत सीतामाढी जिल्लाकी मेजिस्ट्रेटलाई ईमेल मार्फत लिखित जानकारी गराएको तर उताबाट कुनै जवाफ नआएको प्रजिअ पौडेलले बताए । सीमा वारपार गर्ने सवालमा स्वास्थ्य सुरक्षाको मापदण्ड कसरी अपनाउने लगायत बारेमा छलफल गरेर उचित निकास देखिएपछि मात्र सीमा नाका खोल्ने बारे भारतीय पक्षले सोचिरहेको सर्लाही स्थित प्रहरी प्रशासनका अधिकारीहरूले बताएका छन्। लामो समयदेखि भारतीय नाका बन्द हुँदा सर्वसाधारण नागरिकहरू निकै मार परेको भन्दै सीमा क्षेत्रका नागरिकले पटक–पटक धर्ना, आन्दोलन समेत गरेका थिए । दैनिक उपभोग्य वस्तुहरूको किनमेल, औषधी उपचार रोजगारी, शिक्षालगायतका कामहरूको लागि सीमावर्ती भारत धाउनुपर्ने सर्लाहीबासीहरूको बाध्यता छ ।
सीमामा पैदल भारतबाट स्वदेश फर्किने र भारत जानेहरूलाई भने कुनै रोक लगाइएको छैन । तर दैनिक उपभोग्य वस्तु तथा आवश्यक घरायसी सामान किनेर ल्याउने मानिसहरूसँग भन्दै सीमामा खटिने दुवै देशका सुरक्षाकर्मीहरूले नाका बन्द अवस्थामै रहेको कारण देखाउँदै नेपाल प्रवेश गर्नेहरूबाट रकम असुली गरिरहेको गुनासोहरू पनि सर्वसाधारणहरूबाट आउने गरेको छ । कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकार र भारतीय सरकारले गत चैत १० गतेबाट भारतीय सीमा नाका हुँदै नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ जुनसुकै सबारी साधन सहित पैदल आवागमनमा रोक लगाएको थियो ।
केही महिना अघिदेखी दुवै देशका सुरक्षा निकायले मानिसहरूको पैदल आवतजावत खुकुलो बनाएको छ । मुख्य नाकाबाट आवतजावत बन्द भएपनि खेतको ‘चोर’ बाटो हुँदै दुवै देशका नागरिक थोरै थोरै सामानहरू किनेर ओहोरदोहोर गरिरहेका छन् । सदरमुकाम मलंगवा स्थित कोल्डस्टोर चोक, भन्सार कार्यालय पछाडीको खेत तथा अन्य खेत र आलीको बाटोबाट दैनिक सयौं मानिसहरू उपभोग्य सामान बोकेर ओहोर दोहोर गरिरहेका देखिन्छन् । नेपाल–भारत सीमाबन्दीले सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई प्रभावित बनाइरहेको बेला नेपाल पक्षले मुख्य नाका खोल्ने निर्णय गरेपनि भारतीय पक्षको अवरोध कायमै रहेको छ ।