Saturday 12th of October 2024

न्यायको पर्खाइमा सुजिताको परिवार, हत्या कि आत्महत्या भन्नेमा प्रहरी आफैँ रनभुल्ल !

0 Shares

चितवन : टिनले छाएको सानो घर, यत्रतत्र छरिएका सामान र अगाडी गाईगोठ । यी सबैको स्याहार सुसारमा व्यस्त हुनुहुन्थ्यो सुजिताकी आमा अम्बिका भण्डारी । तर, विगत १४ दिनदेखि उहाँले यी सबै काम गर्ने मेलोमेसो पाउनुभएको छैन । आँखामा अझै पनि आँशु बगिरहेकै छ ।

अन्य परिवारका सदस्यहरूको अवस्था पनि उस्तै छ । छोरी सुजिता असार ११ गते बिहानै साथीको घर जान्छु भनी हिँडेकी थिइन् । तर, सोही दिन छोरी अपहरणमा परेको र बचाउन हार गुहार माग्दा पनि बचाउन नसकिएकोमा उनीहरूलाई पछुतो छ ।

प्रहरीको अनुसन्धान फितलो भएको उनीहरूको बुझाइ छ । छोरी खोजिदिन हारगुहार माग्दा प्रहरीले उल्टै पीडा दिएको आमा अम्बिका भण्डारी बताउनुहुन्छ । ‘छोरी खोजिदिन गुहार माग्दा पुलिसले उल्टै छोरी लुकाएको आरोप लगायो,’ उहाँ भन्नुहुन्छ, ‘मैले लुकाएको भए यो अवस्थामा हुन्थ्यो ?’

आमा अम्बिकाले छोरीले आत्महत्या गरेको नभइ हत्या भएको दाबी गरिरहनुभएको छ । हत्यारा र अपराधी पत्ता लगाएर छोरीलाई न्याय दिलाइदिन उहाँ घरमा पुग्ने सबैसमक्ष अनुरोध गर्नुहुन्छ ।

प्रहरीले ताकेता नगरेका कारण शव भेटिएको भोलिपल्टै स्थानीयले पूर्व पश्चिम राजमार्ग दिनभर ठप्प पारे । तर, २ बुँदे लिखित सहमति र पोष्टमार्टम गर्दा परिवारका सदस्यलाई समावेश गर्ने सहमतिपछि सोहि दिन साँझपख शव भरतपुर ल्याइएको थियो ।

काठमाडौं शिक्षण अस्पतालमा पोष्टमार्टम गरे पनि रिपोर्ट नआइसकेको चितवन प्रहरीले पत्रकार सम्मेलन गरी जनाएको छ । अपहरणमा परेको बताए पनि पुष्टि हुने आधार अझै नभेटिएको र घटनासम्बन्धी एक सय भन्दा बढीसँग सोधपुछ भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी बताउनुहुन्छ ।

शव भेटिएको ठाउँमा पतेरो मार्न प्रयोग गरिने विषादी समेत भेटिएकाले आत्महत्या वा हत्या भन्नेमा प्रहरी आफैँ रनभुल्लमा छ । त्यसैले भिसेरा परीक्षण भइरहेको तर रिपोर्ट आइनसकेको प्रहरी बताउँछ । परिवार भने आत्महत्या हुनै नसक्ने अडान दोहोर्याउँदै हत्यारालाई छिटो कानूनी कठघरामा ल्याउनुपर्ने पक्षमा छन् ।

घटनाको विषयमा गहिरो रूपमा अनुसन्धानको खाँचो रहेको प्रहरी उपरीक्षक अधिकारी बताउनुहुन्छ । न्यायका लागि अनुसन्धान आवश्यक भएकाले अनुसन्धानको वातवरण बनाइदिन उहाँ सबैसमक्ष आग्रह गर्नुहुन्छ । सहज वातावरण भएको खण्डमा अनुसन्धानको निष्कर्ष निकाल्न सहज हुने उहाँको भनाइ छ ।

आधा घण्टामै फर्कन्छु भनेर गएकी छोरीलाई मृत देख्दा कुन आमाबुवाको मनले मान्छ र ? भण्डारी परिवारलाई अहिले सान्त्वना भन्दा पनि न्यायको खाँचो छ । प्रहरीले सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउन प्रहरी अनुसन्धानलाइ सघाउन आवश्यक छ ।

प्रतिक्रिया