Monday 11th of November 2024

सुत्केरी अस्पतालमा बन्धक, श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

0 Shares

जनकपुर : उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा एक जना सुत्केरी चार दिनदेखि बन्धक बनेकी छन् ।

जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिका- ५, महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि अस्पतालमा बन्धक बनेकी हुन् ।

उनी असार १७ गते अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी एक छोरा र एक छोरी गरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो । तर, उपचार खर्चबापत १ लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छन् ।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेको छ । घर जान दिइएको छैन । खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैनन् । लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको नदाफले बताए ।

दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका नदाफको न आफ्नो घर छ, न त काम । उनले भने, ‘दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाऔँ ?’

उनले चार-पाँच दिनदेखि गाउँमा चारैतिर चन्दा सङ्कलन गरिरहेको बताए । उनले भने, ‘सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागेँ, अहिले ५० हजार जति सङ्कलन भयो । तर अझ ६० हजार बाँकी छ । तपार्इंको सञ्चारमाध्यमबाट उपचार खर्च जुटाउनका लागि सम्पूर्ण मनकारीसँग गुहार मागेको छु ।’

उता अस्पताललाई तिर्नुपर्ने बिल बढेको बढ्यै छ । यता नदाफ भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन् । ‘एउटा झोला र कापी लिएर हिँडेको छु,’ दुःख सुनाउँदै उनले भने, ‘कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।’

उनी बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब छन् । तर, सकेको सबैले सहयोग गरेका छन् । ‘यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन,’ उनले भने ।

शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करीब करीब ५० हजार उपचारमा लगाइसकेका छन् । ‘अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन,’ उनले भने ।

अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनका अनुसार दुवै बच्चालाई आइसीयुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो ।

प्रतिक्रिया