घटना–१
पूर्वी नवलपरासी गैँडाकोटकी २१ वर्षीया विना सापकोटा १४ असारदेखि सर्म्पकविहीन छिन् । गैँडाकोटकै जनक कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत उनी त्यसदिन आधा घण्टामा फर्किन्छु भनेर घरबाट निस्केकी थिइन् । तर, ११ दिनसम्म सम्पर्कमा आएकी छैनन् ।
छोरी सम्पर्कमा नआएपछि बुबा जयश्वर सापकोटाले इलाका प्रहरी कार्यालय गैँडाकोट तथा जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएका छन् ।
प्रहरीले विनाका प्रेमी चितवन भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । विना १४ गते कँडेललाई नै भेट्न भनेर घरबाट निस्केको प्रहरीले खुलाएको छ ।
विना र प्रवेश प्रेममा थिए । यो कुरा दुवैका परिवारलाई थाहा थियो । १४ गते पनि कँडेल विनालाई लिन उनकै घरसम्म पुगेका थिए । विना प्रवेशकै मोटरसाइकलमा घरबाट निस्केको खुलेको प्रहरीको भनाइ छ ।
बेलायत पढ्न गएका प्रवेश वैशाखमा नेपाल फर्किएका थिए । अहिले प्रहरीले प्रवेशलाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डीएसपी दिलीप गिरीले कँडेल र विनाबीच सामान्य विवाद देखिएकोबाहेक हालसम्म अन्य कुरा खुलेको छैन ।
प्रहरीले नियन्त्रणमा लिए पनि प्रवेशलाई कोरोना पोजिटिभ देखिएकाले धेरै सोधपुछ गर्न बाँकी नै छ । उनको साथबाट विनाले चलाउँदै आएको मोबाइल फुटेको अवस्थामा फेला पारेकाले उनैबाट धेरै तथ्य खुल्नेमा प्रहरी आशावादी छ ।
प्रवेशले विनासँग सामान्य भनाभन भएको स्वीकार गर्दै एक्लै घर जान्छु भनेर गएको प्रहरीलाई बताएका छन् ।
घटना–२
११ असारमा घरबाट साथीलाई भेट्न जान्छु भनेर निस्केकी चितवन राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारी बेपत्ता भइन् । नौ दिनपछि उनी मृत फेला परिन् ।
आइतबार साँझ राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा उनको शव भेटिएको थियो । सुजिताको परिवारले उनको अपहरणपछि हत्या भएको बताउँदै आएको छ ।
उनको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ल्याइएको छ । मंगलबार गरिएको पोस्टमार्टम परीक्षणबाट मृत्युको कारण खुल्न नसकेपछि उनको भिसेरा परीक्षण गरिँदै छ ।
सोही घटनालाई लिएर सोमबारदेखि नै चितवन तनावग्रस्त छ । राप्ती नगरपालिकामा कर्फ्यु जारी गरिएको छ । ११ असारको बिहानै ६ बजे साथीको घरबाट तरकारी लिन भनी निस्किएकी भण्डारी उतैबाट सम्पर्कविहीन भएकी थिइन् ।
उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी थिइन् । आइतबार उनको शव जंगलमा च्याउ टिप्न गएका स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सड्न लागेको अवस्थामा फेला परेको थियो । शवको पहिचान भण्डारीकै आफन्तले गरेका हुन् ।
प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरको पनि प्रयोग गरेको थियो । तर, कुकुरले कुनै नयाँ क्लु भने फेला पार्न सकेन । घटनाबारे अनुसन्धान गर्न चितवन प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ ।
घटना–३
२ असारमा डडेल्धुरा परशुराम नगरपालिका-८, जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको परिवारसँग एकाएक सम्पर्क टुट्यो । उनको खोजी सुरु भयो । तीन दिनपछि स्थानीय हट्वानी सामुदायिक वनमा उनको शव फेला पर्यो ।
स्वास्थ्य सामग्री पुर्याउन जोगबुडा अस्पताल जाने क्रममा बेपत्ता भएकी उनको खोजीका लागि परिवारले प्रहरीलाई समेत गुहारेको थियो । तर, धामीको मृत्युको खास कारण भने अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले पोस्टमार्टम रिपोर्ट केही शंकास्पद देखिएपछि थप भेरिफाइ भइरहेको बताए । ‘पोस्टमार्टम रिपोर्टमा मृत्युको खास कारण यही हो भन्ने खुलेको छैन । तर, मृत्यु केही शंकास्पद छ । त्यसैले हामी अनुसन्धानमै छौँ । अहिले नै सबै कुरा भन्न मिल्दैन’, चन्दले भने ।
किन हराइरहेका छन् युवती ?
असार महिनामा राष्ट्रिय चर्चामा आएका यी तीन घटना मात्र होइन, पछिल्लो समय युवती बेपत्ता हुने क्रम बढेको प्रहरीको तथ्यांकले देखाउँछ ।
प्रहरी प्रधान कार्यालयको पछिल्लो चार वर्षको तथ्यांकलाई केलाउने हो भने पुरुषको दाँजोमा महिला हराउने संख्या तेब्बर बढी छ ।
बितेका चार वर्षमा १९ हजार ९५ महिला तथा युवती हराएको तथ्यांक प्रहरी प्रधान कार्यालयसँग छ । जुन वर्षेनी बढ्दाे ग्राफमा छ । जबकि यही समयमा हराउने पुरुषको संख्या ७ हजार १८ मात्र छ ।
आर्थिक वर्ष ०७४-७५ मा ४ हजार २६१ महिला हराएका थिए भने ०७५-७६ मा बढेर ५ हजार ८५२ पुगेको थियो । ०७६-७७ मा ४ हजार ६२ हराएको प्रहरीको तथ्यांक छ । चालु आर्थिक वर्ष ०७७-७८ मा त्याे संख्या बढेर लगभग ५ हजारको हाराहारीमा पुगेको छ । अहिलेसम्म ४ हजार ९२० महिला हराएकाे उजुरी प्रहरीमा परेको छ ।
चार वर्षमा हराएका १९ हजार ९५ महिलामध्ये ५ हजार ९१८ मात्र फेला परेको प्रहरीले जानकारी पाएकाे प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुवँरले बताए ।
प्रहरीको मानव बेचबिखन तथा नियन्त्रण ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार, अधिकांश महिला प्रेम सम्बन्ध तथा घरायसी झगडाका कारण हराउने गरेका छन् । ‘अधिकांश घटनामा आफन्त हराएको सूचना प्रहरीलाई हुने र भेटिएपछि खबर नगर्ने प्रवृत्ति छ । त्यसैले तथ्यांक अनुसारै हराएका सबै महिला फेला नपरेको भन्ने त होइन,’ एसएसपी सिंहले भनिन्, ‘तर, अवैध सम्बन्ध र परिवारले नरूचाएकाे प्रेम सम्बन्धका कारण पनि आफन्तको सम्पर्कबाट टाढा हुने गरेको पाएका छौँ ।’
अपराध अनुसन्धानमा दख्खल राख्ने पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी सम्पर्कविहीन हुने युवती र पछिल्ला यी घटनालाई एकै ठाउँमा राखेर मूल्यांकन गर्न नमिल्ने बताउँछन् ।
‘छोराछोरीको व्यवहारबारे जानकारी राख्ने पहिलो कर्तव्य परिवारको हो । परिवारबाट नै छोराछोरीको व्यवहारबारे समयमै जानकारी भयो भने गलत काम गरेको भए पनि सच्याउने अवसर मिल्छ,’ उनी भन्छन्, ’साथीभाइको संगत कस्तो छ भनेर परिवारले जानकारी राख्न जरुरी छ ।’
छोरा होस् वा छोरी, उनीहरू केही मानसिक तनावमा छन् भन्ने परिवारले पहिल्यै थाहा पाए अप्रिय घटना हुनबाट जोगिने उनी बताउँछन् ।
मानवशास्त्री प्राध्यापक डा. ओम गुरुङ भने महिलामाथि राज्यले गरेको विभेद र सामाजिक सञ्जालको दुरुपयोगका कारण महिला तथा युवतीहरू जोखिममा परेको बताउँछन् ।
गुरुङ भन्छन्, ‘एकातिर महिलामाथि हुने अपराधमा राज्य गम्भीर नै भएको देखिँदैन । अर्कोतिर सामाजिक सञ्जालमा महिला आफैँ आवश्यकताभन्दा बढी एक्सपोज भएको देखिन्छ । जसका कारण उनीहरूमाथि कुदृष्टि राख्नेहरूका कारण जोखिममा परेका छन् ।’
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटकजस्ता माध्यमहरूमा महिलाको अस्वाभाविक हर्कत र विकृति देखिनुजस्ता कारणले महिला जोखिममा परेको उनको तर्क छ ।