Thursday 10th of October 2024

उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक बनेकी सुत्केरी घर फर्किए

0 Shares

जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा जनकपुरको आर्या केयरमा ४ दिनदेखि बन्धक सुत्केरी घर फर्किएकी छन् । 

उपचार खर्च तिर्न नसक्दा जुम्ल्याहा शिशुसहित सुत्केरी अस्पतालमा बन्धक भएको घटना सञ्चारमाध्यम मार्फत सार्वजनिक भएपछि सुत्केरी बन्धक मुक्त भएकी हुन् ।

जुम्लयाहा शिशु धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन ४ दिनदेखि अस्पतालको उपचार खर्च तिर्न नसक्दा बन्धक बनेकी थिइन्।

व्यथा लागेपछि गएको असार १७ गते खातुनलाई अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया गरी एक छोरा र एक छोरी (जुम्ल्याहा बच्चा) जन्म दिएकी बेगमलाई असार २१ गते नै अस्पतालले डिस्चार्जको कागज थमाएको थियो। तर अस्पताललाई १ लाख १० हजार रुपैयाँ उपचार खर्च बुझाउन ४ दिनदेखि बन्धक बनेकी थिइन्।

ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका उनका श्रीमान् ३१ वर्षीय मोहम्मद समीर नदाफले श्रीमती र नवजात शिशुहरूलाई घर ल्याउन तिर्नुपर्ने अस्पतालको खर्च जुटाउन सकेका थिएनन्। ४/५ दिनदेखि गाउँमा चन्दा संकलन गर्दै थिए।

एनआइसियुमा राखेर नवजात शिशुको उपचार गर्नुपरेको थियो। २ दिनपछि अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट बञ्चित गरेको थियो। बेगमकी ३१ वर्षीय श्रीमान् समीरले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजिरहेका थिए। तर पूरा रकम व्यवस्था गर्न सकेका थिएनन्।

सो घटना सञ्चारमाध्यम मार्फत सार्वजनिक भएपछि समीरलाई सहयोग गर्ने मनकारीहरूले पहल गरेका थिए। ​

यसमा सिरहाका प्रजिअ प्रदीपराज कंडेलको बिशेष सक्रियता रहेको थियो।

समीरले अस्पताललाई तिर्नुपर्ने पछिको ६० हजार आफूहरूलाई तिर्नु नपरेको केवल औषधि पसलको १० हजार तिरेको र अहिले एम्बुलेन्समा श्रीमती र बच्चा लिएर आएको १ हजार मात्र तिर्नुपरेको बताए।

उनले थपे, ‘घरको कोही पनि सदस्य ४/५ रातदेखि राम्रोसँग निदाउन सकेको थिएनौं, कहाँबाट पैसाको जोहो हुन्छ र श्रीमती र बच्चाहरूलाई घरमा ल्याउन सक्छौं भनेर चिन्ताले मात्र सताएको थियो। आज हामी सबैलाई मस्त निन्द्रा आउँछ।’

दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समीरको न आफ्नो घर छ र न त काम। यस परिवारले धेरै दिनदेखि कोरोनाले भएको लकडाउनका कारण काम नपाएर छाक टार्न सकेको थिएन। यस्तो बेलामा अस्पतालको उपचार खर्च जुटाउन परिवारलाई निकै सकस भएको थियो।

उपचार खर्च तिरेर आफ्नी श्रीमती र नवजात शिशुहरू घर ल्याउन भनी उनले  चार/पाँच दिनदेखि गाउँमा चन्दा संकलन गरिरहेका थिए। उता अस्पताललाई तिर्नुपर्ने बिल बढेको बढ्यै थियो। यता बेगमको श्रीमान समीर भने पैसाको खोजीमा गाउँमा भौँतारिरहेका थिए।

शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करिब करिब ५० हजार रुपैयाँ उपचारमा लगाएका थिए। घर आइसकेपछि समीरले भने, ‘बच्चा र आमाको स्वास्थ्य अवस्था ठीक छ। अब आमा र बच्चाको हेरविचार गर्छौं।’

समाचार/ तस्बिर अजय साहको सहयोगमा ।

प्रतिक्रिया