Wednesday 24th of July 2024

सर्लाहीबाट दुई वटा पेस्तोल र १७ थान गोली सहित ३ युवक पक्राउ

0 Shares

सर्लाही : सर्लाहीबाट दुई थान हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरु ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ बाट २ थान पेस्तोल,  १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए अनुसार बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार सहित भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई हातहतियार सहित पक्राउ गरेको छ ।

पक्राउ परेका आरोपितमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया