Monday 9th of December 2024

अवैध यौन सम्बन्धले बिग्रिएको नेपाली केटो

0 Shares

झापाका जीवन प्रसाईं (परिवर्तित नाम) ९ वर्षअघि रोजगारीका लागि ओमान पुगे । कोरोना भाइरसको संक्रमण फैलिएसँगै जीवन मंगलबार (१ असार) नेपाल फर्किएका छन् ।

९ वर्षसम्म १ जना ओमानी पानी व्यापारी महिलाको ड्राइभरका रूपमा काम गरेर स्वदेश फर्किएका जीवनको जीवन भने टिठलाग्दो भन्दा पनि घतलाग्दो नै बढी छ ।

मंगलबार ओमानबाट उद्धार गरेर ल्याइएका १ सय ६५ जनासँगै फर्किएका छन् जीवन ।

२५ वर्षको उमेरमै वैदेशिक रोजगारीका लागि ओमान गएका थिए उनी । ३४ वर्षका भइसकेका छन् । पछिल्ला ९ वर्ष लामो ओमान बसाइमा उनले कमाएको पैसाभन्दा आफ्नै कारण सिर्जना भएका दुःखका कहानी बढी छन् ।

बहिनीको प्रेमी, दिदीको खेलौना 

वैदेशिक रोजगारीका क्रममा धेरै नेपालीहरू पीडित छन् । अक्सर महिलाले भोग्दै आएका यौन उत्पीडनको शिकार भए जीवन ।

अञ्जली ओभरसिज म्यानपावरमार्फत ओमान पुगेका उनको जागिर निजी सवारी चलाउने भयो ।  ‘म ड्राइभर भिसामा ९ वर्षअगाडि ओमान पुगेको थिएँ’, जीवन भन्छन्, ‘काम गर्ने घरमा २ जना महिला थिए । एक जनाको विवाह भएर पनि श्रीमानको मृत्यु भएको रहेछ । एक जना कलेज पढ्ने थिइन् ।’

उनले ओमान पुगेको ३ महिनापछि ओमानी महिलाको घरायसी ड्राइभरको काम गर्नुपर्‍यो । दिनहुँ दिदीलाई अफिस र बहिनीलाई कलेज पुर्‍याउँथे ।

कलेज पुर्‍याउने क्रममा नेपालबाट रोजगारीका लागि ओमान पुगेको एउटा केटो बहिनीसँग प्रेममा परेपछि बिग्रिन सुरु भयो  । प्रेम सम्बन्धको ५ महिनापछि बहिनी बहराइन गइन् । जीवन भन्छन्, ‘त्यसपछि उनीसँग सम्पर्क नै टुट्यो ।’

अनि दिदीसँग बिते दिन

बहिनीसँग लभ परे पनि घरायसी ड्राइभरको काम गर्न पुगेको ३ सातादेखि दिदीसँग शारीरिक सम्बन्ध सुरु भएको जीवन बताउँछन् ।

‘काम सुरु गरेको ३ सातापछि मालिक्नीले मदिराको सुरमा कोठामा बोलाइन् । ‘त्यसपछि हामीबीच शारीरिक सम्बन्ध सुरु भयो,’ जीवन भन्छन् ।

जीवनका अनुसार यो क्रम लगातार ९ वर्ष चल्यो । ओमानी महिलासँगको सम्बन्धको रहरले उनीहरूले भिडियो पनि खिचे ।

‘सुरुसुरुमा शारीरिक सम्पर्क गर्दा जोसमा भिडियोसमेत खिचियो’, काठमाडौं आएर क्वारेन्टाइनमा बसिरहेका जीवनले शिलापत्रसँग भने, ‘त्यही बेला खिचेको भिडियोले ९ वर्ष ओमान बस्न बाध्य भएँ । तलब पनि दोब्बरभन्दा धेरै पाएँ । तर, भनेको बेला नेपाल फर्कन पाइनँ ।’

ओमानमा ड्राइभर भिसामा गएका नेपाली पुरुष कामदार धेरै ओमानी महिलाहरूबाट पीडित हुने गरेको उनको भनाइ छ । ओमानमा ७० वर्षका बुढाले २० वर्षका केटी विवाह गर्छन् । यसरी विवाह गरेका केटीले विदेशी ड्राइभरलाई मायाजालमा फसाउने गरेको जीवन सुनाउँछन् ।

४ वर्षसम्म जीवन ओमानी महिलासँग रमाइलो मानेरै बसे ।  तर, जब घर फर्कने कुरा गर्थे, महिलाले भिडियो सार्वजनिक गर्ने र बलात्कारको मुद्दा लगाइदिने धम्की दिन थालिन् ।

‘घर जान्छु भन्दा मालिक्नीले भिडियोसहित बलात्कारको मुद्दा हाल्छु भनेर धम्क्याउन थालिन्’, जीवन भन्छन्, ‘धम्क्याएर ९ वर्ष घरमै ड्राभइर राखिन् । ओमान पुगेको २ वर्षपछि परिवारसँग फोनमा राम्रोसँग बोल्नसमेत मालिक्नीले दिइनन् ।’

मालिक्नीसँग शारीरिक सम्बन्ध राखेर पहिलो गल्ती गरेका जीवन नेपाली भाषा बोल्न सिकाएर दोस्रो हण्डर खाएको बताउँछन् ।

काम छाडेर ४ वर्षदेखि भाग्न खोजे पनि नसकेको जीवनले बताए । साथमा राहदानी नभएका कारण भाग्न सजिलो नभएपछि चुपचाप बाध्य भएर उनी ओमान बसिरहे ।

‘सुरुमा त जोसमा फसिन्छ जस्तो लागेन । यहीँ मोज गर्नुपर्छ भन्ने भयो तर त्यसको सजाय ठूलो भोगेको छु । २ वर्षदेखि परिवार र श्रीमतीसँग राम्रोसँग बोल्नसमेत पाइनँ । जोसमा होस नपुर्‍याउँदा ९ वर्ष सजाय भोगेर फर्किएको छु’, जीवनले भने ।

मालिक्नीका सबै परिवार यूएई र बहराइनमा बस्दै आएको उनको भनाइ छ । कोरोना भाइरसका कारण मालिक्नी यूएई गएकाे बेला ओमानस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कन पाएको उनी बताउँछन् ।

अनि श्रीमतीले छोडिन् 

१० कक्षामा पढ्दादेखि प्रेममा थिए जीवन । ५ वर्षको प्रेमसम्बन्धपछि विवाह गरे । ओमानी महिलासँगको चक्कर थाहा पाएपछि श्रीमतीले छाडिन् । जीवन भन्छन्, ‘छोडेको ५ महिनापछि पो बल्ल श्रीमती मसँग रहिनन् भन्ने थाहा पाएँ ।’

विवाह गरेको ९ महिनापछि रोजगारीका लागि ओमान पुगेका जीवन काठमाडौंको क्वारेन्टाइन बसाइ सकेर घर जाँदै छन् । तर, घरमा अब उनी उक्लै हुनेछन् ।

जवानी सम्हाल्न नसकेर गरेको एउटा गल्ती विस्तारै उनका लागि अभिशाप बन्दै गयो । मस्तीबाट सुरु भएको उनको ९ वर्षे ओमान बसाइ विरक्तिमा टुंगिएको छ । आफूजस्ता थुप्रै युवा ओमानी महिलाको मायाजाल र यौन उन्मादमा फसेको जीवनले देखेका छन् ।

पैसाको पछाडि दौडिँदा प्रेम गरेर विवाह गरेकी श्रीमती गुमाएको प्रति उनको गुनासो छ । ‘अरू पीडा त सहेको छु तर श्रीमतीले छोडेको पीडाले धेरै सताउँछ,’ उनी थप्छन्, ‘शायद जवानीको जोसमा विदेशी भूमिमा गल्ती नगरेको भए आज आफैँले मन पराएर भित्र्याएकी श्रीमती मसँगै हुने थिइन् ।’

नेपाल फर्कन पाउँदाको खुसी दुई दिन बित्न नपाउँदै तनावमा बदलिएको छ उनको । विदेशी भूमिमा रहेर गरेको गल्ती र गल्तीले पाएको सजायको पश्चात्तापसँगै उनलाई अब घरमा कसरी अनुहार देखाउनु भन्ने चिन्ता छ ।

जीवन भन्छन्, ‘रोजगारीका क्रममा गरेको गल्तीको पश्चात्तापबाट सिर्जित घाउ अब घर पुगेर बुढी भइसकेकी आमाको मायाले टाल्ने कोसिस गर्नेछु ।’

प्रतिक्रिया