Friday 20th of September 2024

सुजिताको हत्या प्रकरण : आफ्नै देवरले हत्या गरेको खुलासा (भिडियो सहित)

0 Shares

महोत्तरी :  महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भमरपुरा बस्ने २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जलेश्वरले आज गरेको पत्रकार सम्मेलनमा सुजिताको हत्यामा संलग्न रहेको आरोपमा सुजिता कै देवर लोहारपट्टी नगरपालिका ७ भमरपुरा बस्ने २९ वर्षीय रुपेश ठाकुर, सोहि ठाउँ बस्ने बन्ठा भनिने ३७ वर्षीय किशोरी मण्डल, मुल्ला भनिने ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डल रहेका छन् ।

त्यसैगरी तत्काल अनुसन्धानको क्रममा पक्राउ परेका मृतकको पति ३१ वर्षीय मुकेश ठाकुरलाई घट्नामा संलग्नता देखिने आधार नपाईएकोले थुनामुक्त गरीएको डीएसपी प्रकाश विष्टले जनाए ।

पक्राउ परेका बण्ठा भन्ने किशोरी मण्डल, मुल्ला भन्ने आदम राईन र नथुनि मण्डल मृतकको शव ओसार पसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्ने कार्यमा सहयोग पुर्‍याएको प्रहरीले जनाएको छ ।

यसरी गरिएको थियो सुजिताको हत्या

गत जेठ २० गते विहान करिब ८–९ बजेको बीचमा देवर रुपेश ठाकुरले सुजिता देवी ठाकुरको कोठा भित्र प्रवेश गरी घिच्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाटी समेत थिची हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताईएको छ ।

हत्या गरी दिनभरी शवलाई सुजिता कै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको र सोही दिन सांझ निजको ससुरा पतिराम ठाकुरको घर देखि करीव १ कि.मी.दक्षिणमा रहेको खेतमा खाल्टो खनि रातीको ०८ः३० देखी ०९ः०० बजेको समयमा आफनै ट्याक्टरमा मृतकको शव राखी खेतसम्म पुर्‍याई गाडेर भोली पल्ट जेठ २१ गते शव गाडेको खेतमा खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।

पछि शव गाडेको सम्बन्धमा हल्ला भएपछि उनिहरुले जेठ २० गते राती गाडेको शवलाई जेठ २९ गते मध्यराती पुनः खनेर निकाली पतिराम ठाकुर कै घरदेखि अन्दाजी ५०० मिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको निज कै काठको गोलियाहरु राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फको भागमा रहेको निर्माणाधिन सेफ्टि ट्याङकीमा ४ फिट गहिरो खाडल खनि शव पुनः गाडी ६ ईन्च मोटो ढलान गरी माथिल्लो भागमा मसला (सपेता) का काठका गोलियाहरू राखी सेफ्टी ट्याङकी बाहिरबाट अरूले नदेखिने गरी ढाकेको थियो ।

जेठ २९ गते शव स्थानान्तरण पश्चात शव गाडिएको पहिलेको स्थानमा (खेतमा) भोलीपल्ट मिति जेठ ३० गते पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।

यसरी पत्ता लाग्यो हत्याको रहस्य
जेठ २० गतेका दिन देखी मेरी छोरी तथा महोत्तरी, लोहारपट्टी ७ भमरपुरा गाउँ बस्ने मुकेश ठाकुरको श्रीमती २७ वर्षीया सुजिता देवी ठाकुर आफनै घरबाट बेपत्ता भएको हुँदा खोज तलास गरी पाउँ भन्ने ब्यहोराको निजको आमा जिल्ला महोत्तरी, पिपरा गाउँपालिका ६ रतौली गाउँ बस्ने ४० बर्षीया सुनिता कुमारी पाण्डेले असार ६ गतेको निवेदन दिए । तर प्रहरीले सुरुमा खासै चासो नदेखाएको पीडित परिवारजनको आरोप रहेको छ।

यसरी लामो समयदेखि बेपत्ता सुजिताको दाइजोकै कारणले परिवारले हत्या गरेर शव गायब गरेको माइती पक्षले आरोप लगाउँदै आएको थियो। यद्यपि घर पक्षले सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको थियो।

महोत्तरी भमरपुराकी सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन्। घर पक्षले सुजिता कोही अर्कै केटासँग भागेको बताउँदै आएका थिए। तर माइत पक्षले सुजिताको हत्या परिवारले गरेर लास गायब पारेको आरोप लगाउँदै आएको थियो।

सुजिताका बुवा कामेश्वर पाण्डेले छोरी बेपत्ता भएको र हत्या आशंका गर्दै खोजिदिन भन्दै उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको बताए। बुवा कामेश्वरले भने, ‘प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर आएँ।’ उनले तर प्रहरीले चासो लिएर अनुसन्धान नगरेको गुनासो गरे।

यसैबीच वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाई जितेन्द्र पाण्डेले सामाजिक संजाल मार्फत यस घटना उजागर गर्दै घर पक्षले नै दिदीको हत्या गरी आफ्नै खेतमा गाडेको आरोप लगाए। सुजिताका पाँच वर्षीय छोराको एउटा भिडियो पनि सार्वजनिक गरियो। त्यो भिडियोमा ती बालकले आमाको हत्या काका र हजुरबुवाले गरेको बताएका छन्।

प्रहरीले सुजिताको खोजतलासमा कुनै चासो नदिएपछि साउदीबाट नै भाई जितेन्द्रले जनकपुरका चर्चित सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए।

सरोज राय त्यही अभियन्ता हुन्, जसले साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई ब्लडमनि व्यवस्थापन गरी नेपाल फर्काउन सफल भएका थिए।

अभियन्ता रायले घटनाबारे थप बुझ्न असार ११ गते सुजिताका माइती रतौली गाउँ पुगेका थिए। उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए।

त्यसपछि असार १२ गते अभियन्ता रायले प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेका थिए। यस घटनाबारे ध्यानाकर्षण गराए। अभियन्ता रायले यस घटनाको उठान गरेपछि प्रहरी पनि खोजी गर्न बाध्य भएको थियो। असार १२ गते केही प्रहरी आएर पीडित पक्षले लगाएको बताए अनुसार सुजिताको शव गाडेको ठाउँको निरीक्षण गरेको थियो।

घटनाबारे सुजिताको बुवा कामेश्वर पाण्डेले दिएको जानकारी उनकै भाषामा जस्ताको त्यस्तै:
घटना जेष्ठ २० गते को हो। बिहान करिब आठ बजे सुजिताले मलाई फोन गरेर कस्तो घरमा बिहे गराइदिएको भनेर रिस पोखेकी थिइन्। फोनमा कुरा भइरहँदा पछाडिबाट झगडाको पनि आवाज आइराखेको थियो। केही बेरपछि सुजिताको देवर रुपेश ठाकुरले पनि फोन गरेर मलाई तुरुन्त भमरपुरा आउन भन्यो।

म जाने तरखर मै थिएँ कि फेरि रुपेशको फोन आयो र उनले आउनु पर्दैन झगडा शान्त भयो भन्यो। त्यस दिन सुजितासँग भेट्न हामी कोही गएनौं। भोलिपल्ट सुजिताको मोबाइलमा पटक पटक फोन गर्दा स्विच अफ भनि रह्यो। पछि देवर रुपेशको मोबाइलमा फोन गर्दा पनि उनले उठाएनन्। आधी घण्टापछि रुपेशले आफैं फोन गरेर सुजीताले कोठामा ताल्चा लगाई घर छोडेर भागेको जानकारी दियो।

तर रातिसम्म पनि छोरीसँग कुरा नभएपछि अर्को दिन बिहान आठ बजे सुजिताको हामी बुढा बुढी (सुजिताको बुवा र आमा) भमरपुरा पुग्यौं। रतौलीबाट भमरपुरा मोटर बाटो नजिकै भएकोले दश मिनेटमा पुग्यौं। सुजिताको कोठामा लागेको ताल्चा फोड्न लगाएँ। सुजिताको कपडादेखि सबै समान यथावत थियो। दराजमा गरगहना पनि यथावत् देखें अनि मलाई मनमा शंका जन्मिन थाल्यो। तर घरपक्षले लगातार सुजिता घर छोडेर अर्कै केटासँग भागेको मात्र भनिराखे।

दश वर्ष पहिला सुजिताको बिहे पतिराम ठाकुरको जेठा छोरा मुकेशसँग भएको थियो। यस अगाडि करिब १४–१५ महिना पहिले सुजितालाई ससुरा, सासू, श्रीमान् र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजिताको आँखामा चोट लागेको थियो। उपचारपछि जलेश्वर अस्पतालमा गराएर प्रहरीमा समेतमा उनले निवेदनसमेत दिएकी थिइन्। पछि श्रीमान् र देवरले आइन्दा कुटपिट नगर्ने लिखित शर्त गरेर प्रहरीले छोडेको थियो।

सुजिताका बुवा कामेश्वर पाण्डे थप्छन् ः
त्यहीबीचमा सुजिताको चिनजान कतारमा कार्यरत पिपरा गाउँपालिका अलिपट्टी निवासी विजय मुखियासँग सामाजिक संजाल मार्फत भएको थियो। बीचबीचमा विजयसँग सुजिताको कुराकानी फोन मार्फत भइरहन्थ्यो। चार(पाँच महिना पहिला विजय कतारबाट गाउँ फर्केका थिए। सुजिता आफ्नो माइती आउँदा विजयसँग एकपल्ट भेटघाट पनि भएको थियो।

घटनाको एक दिन अगाडि मात्र सुजिता आफ्नी आमासँग जनकपुर किनमेल गर्न गएकी थिइन् तर घरमा कुनै पनि विवादबारे चर्चा गरिनन्।

बारम्बार घर पक्षले विजयसँग भागेको आरोप लगाएपछि सुजिताको बुवाले नै प्रहरीमा निवेदन दिएर विजयलाई पक्राउ गर्न लगाए तर दिनभरिको सोधपुछ पछि विजयलाई सात दिनसम्म गाउँ नछोड्ने सर्तमा रिहा गरिएको थियो। त्यसपछि माइती पक्षको शंका झन् गहिरो हुन् थालेको थियो।

घटना भएकै दिन सुजिताका ९ वर्षीय छोरी आँचल र ५ वर्षीय छोरा रौनक दुवैलाई घर पक्षले जनकपुर बस्दै आएका फुपू अन्जु ठाकुर कहाँ पठाइदिएका थिए। र अर्को दिन फेरि फर्काएर ल्याएका थिए। घटनाको केही दिनपछि सुजिताको छोरा रौनक रतौली आएका थिए।

सुजिताको आमा र छोरा रौनकले आपसमा कुरा गरेको एक भिडियो भाई जितेन्द्रले सार्वजनिक गरे। जसमा रौनकले आमालाई मारेको, जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको पोल खोलेका छन्।

यो भिडियो जितेन्द्रले फेसबुकमा राखेपछि ससुराली पक्षमा चिसो पस्न सुरु भयो।

त्यही बीचमा कसैले फोनबाट सुजिताका बुवालाई जानकारी गराएका थिए। घरपक्षले आफ्नो खेतमा ७–८ फिट गहिरो खाल्डो खनेको थियो, जो अहिले माटोले पुरेर माथिबाट धानको विऊ छरेर छोपिएको छ। सुजिताको शव त्यहीँ गाडिएको थियो।

यता सुजिताका भाई जितेन्द्रले लगातार सामाजिक संजालमा सबै कुरा पोस्ट गरिराखेका थिए। जसबाट ससुराली पक्ष पनि त्रसित भइसकेका थिए।

त्यसपछि सुजिताका ससुरा पतिरामले कुरा मिलाउन कामेश्वरलाई बारम्बार दवाब दिन थालेको थियो। जाने गइसक्यो, अब नाति÷नातिनीको जीवन बनाउनुस भनेर कामेश्वरलाई मनाउन पतिरामले पटकपटक प्रयास गरेका सुजिताका बुवा पाण्डे बताउँछन्।

त्यही बीचमा जितेन्द्र र रुपेशबीच फोनमा कुराकानी पनि भयो। जसमा जितेन्द्रले दिदीको अन्तिम संस्कार जसरी पनि गर्नुपर्छ। त्यसैले शवलाई गाडेको ठाउँबाट निकाल्न रुपेशलाई अनुरोध गरेका र रुपेशले यस्तो अवस्थामा शवलाई निकाले झन् बबाल हुन्छ भन्दै गरेको सुन्न पाइन्छ।

दिदीको हत्या नै भएको प्रमाणहरू अगाडि आउन थालेपछि जितेन्द्रले साउदीबाट नै बुवालाई दिदीका ससुरा पतिरामलाई कुनै दबाबमा नआई प्रहरीमा मुद्दा दर्ता गर्न बारम्बार भनेका थिए।

असार ७ गते माइतपक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गएका पनि थिए। तर एसपीले दर्ता गर्न मानेनन्, हार मानेर महिला सेलमा निवेदन दिएर फर्के। जबकि एसपीलाई सबै प्रमाण वारे जानकारी गराउँदा पनि चासोको साथ अनुसन्धान नभएको आरोप पीडित पक्षको रहेको छ।

यसैबीच सुजिता ठाकुरको हत्या भएको भनिएको विषयमा मधेसी आयोगले समेत चासो लियो। आयोग अध्यक्ष डा.विजयकुमार दत्तले आयोगमा दर्ता भएको उजुरीका विषयमा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

अध्यक्ष दत्तले घटनाका विषयमा महोत्तरीका प्रहरी प्रमुखलाई टेलिफोन सम्पर्क गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन निर्देशन दिए।

घटनालाई मधेसी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरी अगाडि बढे ।

अनि बल्ल प्रहरीले शव गाडिएको ठाउँको उत्खनन गरे

यसरी विभिन्न ठाउँबाट प्रहरीलाई दबाब र घटनाबारे प्रमाणहरू बाहिर आउन थालेपछि प्रहरीले असार १३ गते बल्ल शव गाडिएको ठाउँको उत्खनन गरे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले सुजिताको ससुरा पतिराम ठाकुरको घर देखि करिव १ कि.मि.दक्षिण रहेको धानको बिउ छरी उम्रिएको खेतको उत्तर-पूर्व कुनामा ५ फिट लम्वाई र ३.५ फिट गहिरो खाल्टो खनी हेर्दा नुनजस्तो पदार्थ तथा माटो लागेको तन्ना र पर्दाका कपडा भेटिएको, खाल्डो भित्र कुनै अंग नरही महिलाको कपालजस्तो देखिने चिजबस्तुको भाग फेला परेको सोही, चिजबस्तु कानूनी रित पूर्वक मुचुल्का खडा गरी संकलन गरी थप परीक्षणको लागी केन्द्रीय प्रहरी बिधी विज्ञान प्रयोगशाला, सामाखुशी काठमाण्डौमा पठाईयो । फेला परेको सो चिजबस्तुहरू मध्ये कपाल जस्तो देखिने बस्तु संकलन गरी परीक्षणको लागी राखिएको र सुजिताको बुवा कामेश्वर पाण्डे र आमा सुनिता देवी पाण्डे बाट डीएनए नमुना परीक्षणको लागि आवश्यक पर्ने रगत संकलन गरी परीक्षणको लागि केन्द्रिय प्रहरी बिधी विज्ञान प्रयोगशाला, सामाखुशी काठमाण्डौमा पठाईएछ ।

प्रहरी अनुसन्धान कै क्रममा सोधपुछ गर्दा खुल्न आएका जानकारीहरूलाई मध्यनजर गरी असार २६ गते राती करिव ११ बजे परिचालित प्रहरी टोलीले सोही मध्यराती १ बजेको समयदेखि निरन्तर उत्खनन् गरी बेपत्ता भएकी सुजिताको ससुरा पतिराम ठाकुरको आफ्नो घरदेखि अन्दाजी ५०० मिटर पूर्व तर्फको निर्माणाधिन पेट्रोलपम्प संग जोडिएको काठको गोलियाहरु राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फ सबैभन्दा पछिल्लो भागमा निर्माणाधिन ९ फिटको गहिराई, १३ फिट ७ ईन्च लम्वाई र ५ फिट ९ ईन्च चौडाई भएको सेफ्टी ट्यांकीको भित्र पट्टि भुईंको भागमा करिव ६ ईन्च बाक्लो ढलान गरी सो भन्दा मुनि करिव ४ फिट गहिरो खाडल खनि जुटको बोरामा हाली गाडिएको अबस्थामा असार २७ गते बिहान १० बजेको समयमा अर्ध सडिगलि गएको अवस्थामो शव फेला परेको थियो ।

मृतकको बाँकी रहेको कपाल, शरीरमा रहेको कपडा तथा शारिरिक बनोटले उक्त शव सुजिता को नै रहेको भनेर तत्काल उक्त स्थान मै मृतकको बुवा कामेश्वर पाण्डे र आमा सुनिता देवीले सनाखत गरे ।

उत्खननको क्रममा प्रादेशिक अस्पताल जनकपुरका Forensic Expert Doctor समेतलाई सोही स्थलमा झिकाई अवलोकन गराईएको थियो ।

उक्त शवलाई शव परीक्षणको लागि असार २७ गते प्रादेशिक अस्पताल, जनकपुर पठाईएकोमा सोही दिन शव परीक्षण गरी आफन्तहरूले सदगतको लागी जिम्मा बुझि लगेको थियो ।

सुजिताको दाहसंस्कार श्रीमानले दिए दागवत्ती

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी हत्या भएको एक महिनापछि शव फेला परेको २७ वर्षीया सुजिता ठाकुरको असार २८ गते राति अन्तिम संस्कार गरिएको छ ।

शव गाडिएको जग्गा मै दाहसंस्कार गरिएको छ । दागवत्ती श्रीमान मुकेश ठाकुरले दिए । उनलाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । तर हत्यामा संलग्नता नदेखिएपछि मुकेशलाई थुनामुक्त गरी निजको ससुरा तथा मृतकको बुबा कामेश्वर पाण्डेको जिम्मा लगाईएको छ ।

सुजिताको हत्या गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी असार २१ गते दर्ता गरिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया