साउनमा किन लगाउने मेहन्दी र हरियो चुरा ? यस्तो छ धार्मिक महत्व

गौशाला ः यतिखेर बजारमा हरियो पोशाकमा सजिएर हातमा हरियो र रातो चुराको साथै हातमा विभिन्न डिजाइनको मेहन्दी लगाएर युवती समूहगत रुपमा हिँडेको साँच्ची नै निकै आकर्षक देखिन्छ । साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा एक महिनाभरि महिलाहरु हरियो चुरा र मेहन्दी लगाउछन् ।

यस्तो छ हरियो चुराको महत्व

शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ । जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने गरिएको छ । साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषीका अनुसार हरियो रंग सौभाग्यको रंग हो । साउन महिनाको प्राकृतिक हरियालीसँग आफूलाई एकाकार गर्ने महिना पनि हो ।

भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व रहेको हुन्छ । हरियो रंग र प्रकृतिसँगको एकाकारले भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् ।

जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।

हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ ।

उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी क्षेत्रमा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक पनि हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो। यस्तै हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउन निकै प्रभावकारी हुन्छ । बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया