Wednesday 24th of July 2024

सर्लाहीमा सर्पले डसेर पाँच वर्षीय बालकको मृत्यु

0 Shares

सर्लाही :  सर्लाहीको हरिवनमा बुधबार राती विषालु सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

हरिवन नगरपालिका वडा नं. १ भोक्टेनी बस्ने रीता ठाकुरको पाँच वर्षीय छोरा शिवम् ठाकुरको करेत सर्पको डसाईबाट मृत्यु भएको हो । आमासँगै सुतेका बालकलाई राती १ बजेतिर ओछ्यानमै सर्पले डसेको स्थानीय वासिन्दाले बताएका छन् ।

बालकलाई सर्पले डस्नासाथ उपचारका लागि लालबन्दी नगरपालिका–१, स्थित नवलपुर सर्पदंश उपचार केन्द्र ल्याइएको थियो । यहाँ १० भाइल एन्टिभेनम चलाउँदा समेत बालकको अवस्था जटिल बन्दै गएपछि चिकित्सकले जनकपुर रेफर गरेका थिए ।

थप उपचारका लागि जनकपुरतर्फ लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको भन्दै मृतकका आफन्त र गाउँलेहरु बिहिवार बिहान सर्पदंश उपचार केन्द्रमा जम्मा भएका थिए ।

उनीहरुलाई हरिवन र लालबन्दीका जनप्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थितिमा सम्झाईबुझाई गरी बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।

प्रतिक्रिया